कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

सेताम्य जलजला

कान्तिपुर संवाददाता

रोल्पा — केही दिनको वर्षापछि रोल्पाको अग्लो पहाड जलजलामा हिउँ परेको छ । गुराँस फुलेर रंगीचंगी देखिएको जलजला हिउँले झनै आकर्षक बनेको छ । पर्यटन अभियन्ता बाल्कुराम पुन आफै जलजला पुगेका छन् । ‘हिउँ खेल्न जलजला जानेहरूलाई मौसमले साथ दिएको छ,’ उनले भने, ‘जलजला र अर्को हिउँको पहाड कोठीभीरमा पुगेर हिउँ खेल्न लिबाङबाट हेलिटुरको प्याकेज तयार पारेका छौं ।’

सेताम्य जलजला

गत वर्ष लिबाङबाट हेलिकप्टर चढेर आधा दर्जन उडानमा मानिसहरू जलजलासम्म पुगेका थिए । यसपटक झन् हिउँ बाक्लो परेकाले एक सातासम्म हेलिकप्टरबाट हिउँ खेल्न जलजला पुग्न चाहनेलाई पर्याप्त समय भएको उनले बताए । गत वर्ष जलजलामा पुगेर हिउँ खेल्ने मौका खोजिरहेकालाई पर्यटन व्यवसायीसँग समन्वय गरेर हेलियात्रा गराइएको थियो । पुनले फिस्टेल एअर कम्पनीसँगको समन्वयमा हेलिकप्टरबाट हिउँ खेल्न जान सकिने बताए ।

पूर्वी रोल्पास्थित सुनछहरी गाउँपालिका–७ जेलबाङको गेमी होमस्टेका सञ्चालक पुनले रोल्पालाई चिनाउन नयाँ पर्यटकीय योजना ल्याइएको बताए । ‘अब जलजला र कोठीभीरको महत्त्वबारे बाहिरसम्म जानकारी फैलिनेछ,’ उनले भने । जलजला पुग्ने सडक अझै निर्माणकै क्रममा छ । आन्तरिक एवं बाह्य पर्यटक हाल हेलिकप्टरको प्रयोग गरेर त्यहाँ पुग्ने गरेका छन् । समुद्र सतहदेखि झन्डै ३ हजार ७ सय मिटरको उचाइमा रहेको पहाडमा विविध प्रकारका प्राकृतिक जडीबुटी र लोपोन्मुख रेडपान्डा पाइन्छ । जलजलालाई सरकारले मुलुकभरका एक सय गन्तव्यको सूचीमा समेटेको छ ।

प्रकाशित : चैत्र ७, २०७९ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?