दाङका ४ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

दाङ — दाङका नौ सरकारी तथा सामुदायिक क्याम्पसमध्ये चार क्याम्पसमा तालाबन्दीले स्ववियु निर्वाचन स्थगित भएको छ । महेन्द्र बहुमुखी क्याम्पस घोराही, विश्वविद्यालय विद्यापीठ बेलझुण्डी, जनता विद्यापीठ बिजौरी र राप्ती बबई क्याम्पस तुलसीपुरमा विभिन्न विद्यार्थी संगठनको तालाबन्दीका कारण आइतबार निर्वाचन हुन नसकेको हो । तीमध्ये राप्ती बबई क्याम्पस तुलसीपुरमा चैत ७ र महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा चैत ८ मा निर्वाचन हुँदैछ ।
विश्वविद्यालय विद्यापीठ बेलझुण्डी र जनता विद्यापीठ बिजौरीमा निर्वाचनको मितिबारे अझै टुंगो लागेको छैन । जिल्लाका १७ निजी क्याम्पसमध्ये आठ क्याम्पसमा सहमतिका आधारमा नेतृत्व चयन भएको छ । सहमति भएका आठमध्ये तीन क्याम्पसको नेतृत्व महिलाले पाएका छन् ।
सिद्धपृथ्वी जनता क्याम्पस श्रीगाउँमा पूरै टिम नै महिला निर्वाचित भएका छन् । घोराहीको स्पान नेसनल कलेजमा पनि महिला नेतृत्व चयन भएको छ । यसैगरी तुलसीपुरको नोभेक्स इन्टरनेसनल कलेजमा पनि सहमतिबाट सभापतिमा महिला निर्वाचित भएकी छन् ।
प्रकाशित : चैत्र ७, २०७९ ०८:१९