जातीय विभेद उन्मूलनमा ऐक्यबद्धता जरुरी

रुपा गहतराज

नेपालगन्ज — जातीय विभेदको जड दण्डहीनता भएकाले दण्डहीनताको अन्त्य र सामाजिक न्यायको प्रत्याभूतिका लागि सबैको ऐक्यबद्धता जरुरी रहेको सरोकारवालाहरूले बताएका छन् । 

सोमबार नेपालगन्जमा ५८ औं अन्तर्राष्ट्रिय रगंभेद जातीय विभेद उन्मूलन दिवसको अवसरमा जिल्लामा संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रमका वक्ताहरूले विभेद अन्त्यका लागि ऐक्यबद्धता गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारकी आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री कृष्णा केसी (नमुना)ले जातीय विभेद अन्त्यका लागि सबैले सोच बदल्न जरुरी रहेको बताइन् । ‘कानुन छ तर विभेदका घटना आज पनि भइरहेका छन् । २१ औँ शताब्दीमा कोही पनि मानिस जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुने अवस्था आउनु हामी तपाईँ सबैका लागि लज्जाको विषय हो,’ उनले भनिन्, 'कानुन मात्र बनेर भएन सामाजिक रुपमा हाम्रा सोच चिन्तन बदल्न जरुरी छ ।’

जातीय छुवाछुत भेदभाव (कसुर र सजाय) ऐन, २०६८ र मुलुकी देवानी तथा फौजदारी संहिता जारी भई दलित तथा बहिष्करणमा परेका समुदायलाई न्याय र समानता सुनिश्चित गर्ने र उनीहरूलाई दुर्व्यवहार गर्ने विरुद्ध कानुनी कारबाही हुनसक्ने व्यवस्था छ । तर जिल्लामा एउटा पनि जातीय विभेदविरुद्ध उजुरी आउँदैनन् । जिल्ला प्रहरी कार्यलयमा यो वर्ष २ वटा मात्र मुद्दा परेका छन् ।

'जातीय विभेदका कारण कति महिला पिडीत छन् त्यसको लेखाजोेखा छैन्,’ दलित महिला संघ बाँकेकी अध्यक्ष निर्मला सुनारले भनिन्, ‘भएका कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरी सबै नागरिकलाई सम्मानपूर्ण व्यवहार सुनिश्चित गर्नु राज्यको दायित्व हो।’

कोहलपुर नगरपालिका कार्यपालिका सदस्य ईश्वरी विश्वकर्माले जातीय विभेद, असमानताका नाममा दलितहरु दमीत भएर बस्नुपर्नेको अवस्थाको अन्त्य नभएको बताए ।

गैसस महासंघका अध्यक्ष नमस्कार शाहले समानताको लडाइमा दलित मात्र नभइ गैरदलितले समेत यो मुद्दामा सहकार्य गर्नुपर्ने बताए ।

एकल महिला संजालकी अध्यक्ष एकमाया विकले दलित भएका कारण कर्मचारीतन्त्रदेखि राजनीतिमा दलित भएकै कारण विभेदको सामना गर्नुपरेको बताइन् ।

दिवसको अवसरमा जातीय विभेद उन्मूलनका लागि संर्घष गर्दै ज्यान गुमाएका योद्धाहरुको सम्झनामा मौनधारण गरिएको थियो । वरिष्ठ अधिवक्ता लोक बहादुर शाहले दलित अधिकारका सवालमा कानुनी व्यवस्था विषयमा कार्यपत्र प्रस्तुत गर्दै कानुनले सबै मानिस समान हुने भन्दै सबैलाई स्वतन्त्रता र आत्मसम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूति गरेको बताए ।

‘संयुक्तराष्ट्र संघको जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५ र अन्य विभिन्न घोषणा तथा प्रतिज्ञापत्रले पनि जातीय भेदभावलाई कानुनतः दण्डनीय बनाएको छ । सबैका लागि समानता, स्वतन्त्रता र सिुनिश्चितता गरेको छ,’ उनले भने, ‘भएका सम्पूर्ण व्यवस्थाहरूको कार्यान्वयन गर्नु हाम्रो नैतिक दायित्व पनि हो ।’

विभिन्न ऐन, नियम तथा निर्देशिका एवं संरचनागत व्यवस्थामार्फत जातीय भेदभाव तथा छुवाछुतलाई उन्मूलन गर्न प्रयास भए पनि कार्यन्वयनको अवस्था अझै कमजोर रहेको उनले बताएका थिए । साथै अन्तरजातीय विवाहका नाममा दलित युवायुवतीले ज्यान गुमाउनुपरेको अवस्था अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित : चैत्र ६, २०७९ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्

सांसद संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रधानमन्त्रीको प्रस्ताव

बढीमा कांग्रेसले ८, माओवादी ५ मन्त्रालय राख्ने र बाँकी अरु दललाई दिने दाहाल–देउवाको तयारी छ ।
बबिता शर्मा

काठमाडौँ — संसद्बाट दोस्रो पटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् । संसद्‍मा सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने उनको प्रारम्भिक प्रस्ताव छ । कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अन्य दलले भने सिट थोरै भए पनि धेरै मन्त्रालय दाबी गरेका छन्, जसले गर्दा भागबन्डा टुंगाउन सकस हुने देखिएको छ ।

‘गठबन्धनमा प्रधानमन्त्रीले विश्वासको मत नलिकन मन्त्रालय बाँडफाँट नगर्ने सहमति थियो, सोमबार विश्वासको मत पाउनुभयो । अब मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रक्रिया अघि बढ्छ,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेलले भने, ‘तर धेरै दललाई सरकारमा सहभागी गराउने प्रयत्न प्रधानमन्त्रीको छ । तर अनौपचारिक छलफलमा सबै दलबारे ठूलो संख्यामा दाबी आएको हुँदा सबैलाई चित्त बुझाएर लैजाने चुनौती पनि छ ।’

मन्त्रिपरिषद् विस्तारबारे गठबन्धन दलका शीर्ष नेताबीच अनौपचारिक छलफल भइसकेको छ । सत्ता गठबन्धनमा धेरै दल रहेकाले सहजताका लागि प्रधानमन्त्री दाहालले उनीहरुको संसद्मा सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक प्रस्ताव गरेको दाहालनिकट माओवादी स्थायी कमिटीका एक नेताले बताए ।

दाहालले कांग्रेस ७/८, माओवादी ४/५, रास्वपा ३/४, जसपा र एकीकृत समाजवादी २/२, नागरिक उन्मुक्ति, जनमत र लोसपा १/१ वा २/२ र स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंहमध्ये एक जनालाई मन्त्री बनाउने प्रारम्भिक प्रस्ताव शीर्ष नेतामाझ राखेका छन् । माओवादीका ती नेताका अनुसार यो प्रस्तावमा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अन्य साना दलले चित्त बुझाएका छैनन्, उनीहरुले धेरै मन्त्रालयमा दाबी गरेका छन् । उनका अनुसार एकीकृत समाजवादीले गृहमन्त्रालयमा दाबी गरेको छ । तर माओवादी केन्द्रले अर्थ र गृहमध्ये एउटा नछाड्ने अडान राखेको छ । कांग्रेसले अर्थ मन्त्रालय पाउने सम्भावना छ ।

बढीमा कांग्रेसले ८, माओवादी ५ मन्त्रालय राख्ने र बाँकी अरु दललाई दिने दाहाल–देउवाको तयारी छ । एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले मन्त्रालय भागबन्डाबारे अहिलेसम्म औपचारिक छलफल नभएको र संख्या दाबी पनि भइनसकेको बताए । ‘विश्वासको मत प्राप्त गरेलगत्तै संघीयसँगै प्रदेश सरकार पनि पुनर्गठन गर्ने सहमति भएको हो । सोहीअनुसार अब छलफल अघि बढ्छ, त्यसपछि कसका कति दाबी भन्ने थाहा हुन्छ,’ उनले भने ।

उपप्रधानमन्त्रीका आंकाक्षी धेरै भएकाले राख्ने नराख्नेबारे पनि छलफल जारी रहेको माओवादीका ती नेताले बताए । उनका अनुसार कांग्रेसबाट कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने कुराले उपप्रधानमन्त्री राख्ने नराख्ने तय हुने छ । अहिले माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री मन्त्री छन् ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद सिंह सत्ता गठबन्धनमा छन् । चित्तबुझ्दो मन्त्रालय पाए सबै पार्टी सरकारमा जान तयार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा भने चितवन–२ को उपचुनावअघि सरकारमा जाने वा नजानेबारे छलफल भइरहेको छ ।

मंगलबारदेखि हुने सत्ता गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीको प्रस्तावमा छलफल हुने भएको छ । प्रधानमन्त्री दाहालले पनि दुई–चार दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् ।

‘मंगलबार बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जो–जो दलहरुसँग हाम्रो गठबन्धन, सहमति भएको छ, सबैसँग बसेर २/४ दिन भित्रमै टुंग्याउने विचार छ,’ सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै दाहालले सञ्चारकर्मीमाझ भने, ‘अब आरामसँग सरकार चल्छ । विकास, निर्माणको कामले गति लिन्छ ।’ प्रधानमन्त्री एक्लैसँग अहिले १६ मन्त्रालयको जिम्मेवारी छ ।

संसद्‍को सबैभन्दा ठूलो दल कांग्रेसका ८७ सांसद छन् । त्यस्तै माओवादी ३२, रास्वपा १९, जसपा १०, एकीकृत समाजवादी १०, जनमत ६, नागरिक उन्मुक्ति पार्टी ४ र स्वतन्त्र प्रभु साह र अमेरशकुमार सिंह छन् ।

प्रकाशित : चैत्र ६, २०७९ २१:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×