गुल्मीमा अखिल पहिलो, क्रान्तिकारी दोस्रो, नेविसंघ तेस्रो

गगनशिला खड्का

गुल्मी — स्ववियु चुनावमा गुल्मीका क्याम्पसहरुमा अनेरास्ववियू पहिलो भएको छ । जिल्लाका ११ क्याम्पसमध्ये ५ क्याम्पसमा अनेरास्ववियुले सभापति पद जितेर पहिलो भएको हो ।

दोस्रोमा अखिल (क्रान्तिकारी) र तेस्रोमा नेविसंघ रहेका छन् । अखिल (क्रान्तिकारी)ले ४ क्याम्पसमा जितेको छ भने नेविसंघले २ क्याम्पस जितेको छ ।

अनेरास्ववियु र क्रान्तिकारीले जितेका क्याम्पसमध्ये अधिकांशमा सहमतिका आधारमा स्ववियुको नेतृत्व चयन भएको छ । जम्मा ३ वटा क्याम्पसमा चुनाव भएको थियो । सहमतिका आधारमा अनेरास्ववियुबाट मानका टिकराम क्याम्पसमा आकाश खरेल, सत्यवती क्याम्पसमा अस्मिता भण्डारी, दिगाम आदर्श क्याम्पसमा श्रीधर अर्जेल, रुद्रावती बहुमुखी क्याम्पसमा अनिश पाठक र रिडी क्याम्पसमा गंगा कुावर सभापतिमा निर्वाचित भएका छन् । यीमध्ये रुद्रावतीमा मात्र निर्वाचनबाट नेतृत्व चयन भएको हो । रिडी र दिगामबाहेक अन्य सबै क्याम्पसमा अन्य विद्यार्थी संगठनसँग गठबन्धन छ ।

त्यस्तै, अखिल (क्रान्तिकारी)बाट चन्द्रकोट बहुमुखी क्याम्पसमा प्रभा पौडेल, धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा इन्द्र पोखरेल, जनज्योति क्याम्पसमा जीवन पौड्याल र श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा विशाल थापा सभापतिमा निर्वाचित भएका छन् । क्रान्तिकारीले जितेकामध्ये श्रृङ्गेश्वरमा मात्र निर्वाचन भएको हो । अन्यमा विभिन्न संगठनसँग गठबन्धन छ ।

नेविसंघले जिल्ला सदरमुकामको रेसुङ्गा बहुमुखी क्याम्पस र रुरु संस्कृत विद्यापिठमा सभापति जितेको छ । रेसुङ्गामा निर्वाचन प्रक्रियाबाट वाम गठबन्धनलाई हराएर नेविसंघका पुनाराम घिमिरेको प्यानल नै विजयी भयो । रुरुमा भने नेविसंघ र अखिलको सहमतिमा नारायण पन्थीको सभापतित्वमा स्ववियु गठन भएको छ ।

प्रकाशित : चैत्र ६, २०७९ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्

शुद्धोधनको यज्ञोदयमा नेविसंघको प्यानल विजयी

सन्जु पौडेल

तिलोत्तमा — यज्ञोदय दूधानाथ थारु बहुमुखी क्याम्पस, शुद्धोधन रुपन्देहीको स्ववियु सभापतिमा महेश चौधरीसहित नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल नै विजयी भएको छ । चौधरीले ४ सय ३ मत ल्याएर विजयी हुँदा अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त उम्मेदवार समुन्द्र बगाले रेग्मीले १ सय ८१ मत प्राप्त गरे ।

सचिवमा आदेश राना ३ सय ९० मत प्राप्त गरी विजयी भएका छन् । संयुक्त प्यानलको तर्फबाट सचिवका उम्मेदवार अखिल ढकालले १ सय ८७ मत प्राप्त गरे । त्यस्तै, कोषाध्यक्षमा रामनाथ यादव ३ सय ५५ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै, सदस्यहरुमा आनन्द तिवारी, सागर सारु मगर, हरिप्रसाद खनाल, निशादेवी थारु र राजन खनाल निर्वाचित भएको निर्वाचन समिति संयोजक भीमप्रसाद सापकोटाले बताए । संयुक्त प्यानलका उम्मेदवारलाई पराजित गर्दै एक्लै प्रतिस्पर्धामा उत्रिएको नेविसंघको प्यानल नै निर्वाचित भएको नेविसंघ रुपन्देहीका अध्यक्ष सन्दिप पाण्डेले बताए । ६ सय ८५ जना विद्यार्थी अध्ययनरत रहेको यज्ञोदय दूधानाथ थारु बहुमुखी क्याम्पसमा ५ सय ९१ मत खसेको थियो ।

प्रकाशित : चैत्र ६, २०७९ १२:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×