शुद्धोधनको यज्ञोदयमा नेविसंघको प्यानल विजयी

तिलोत्तमा — यज्ञोदय दूधानाथ थारु बहुमुखी क्याम्पस, शुद्धोधन रुपन्देहीको स्ववियु सभापतिमा महेश चौधरीसहित नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल नै विजयी भएको छ । चौधरीले ४ सय ३ मत ल्याएर विजयी हुँदा अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त उम्मेदवार समुन्द्र बगाले रेग्मीले १ सय ८१ मत प्राप्त गरे ।

सचिवमा आदेश राना ३ सय ९० मत प्राप्त गरी विजयी भएका छन् । संयुक्त प्यानलको तर्फबाट सचिवका उम्मेदवार अखिल ढकालले १ सय ८७ मत प्राप्त गरे । त्यस्तै, कोषाध्यक्षमा रामनाथ यादव ३ सय ५५ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै, सदस्यहरुमा आनन्द तिवारी, सागर सारु मगर, हरिप्रसाद खनाल, निशादेवी थारु र राजन खनाल निर्वाचित भएको निर्वाचन समिति संयोजक भीमप्रसाद सापकोटाले बताए । संयुक्त प्यानलका उम्मेदवारलाई पराजित गर्दै एक्लै प्रतिस्पर्धामा उत्रिएको नेविसंघको प्यानल नै निर्वाचित भएको नेविसंघ रुपन्देहीका अध्यक्ष सन्दिप पाण्डेले बताए । ६ सय ८५ जना विद्यार्थी अध्ययनरत रहेको यज्ञोदय दूधानाथ थारु बहुमुखी क्याम्पसमा ५ सय ९१ मत खसेको थियो ।
प्रकाशित : चैत्र ६, २०७९ १२:२८