स्ववियु निर्वाचन : पाल्पाका ४ क्याम्पसमध्ये २ वटामा निर्विरोध


पाल्पा — स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत पाल्पाको चारमध्ये दुई क्याम्पसमा निर्विरोध भएको छ । सहिद बहुमुखी क्याम्पसमा भने मतदान जारी छ । त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा भने एमाले निकट अनेरास्ववियुले निर्वाचन कार्यालय र क्याम्प्स प्रमुखको कार्यकक्षमा मनोनयनका दिन फागुन २७ गते तालाबन्दी गरेको छ । तालाबन्दीपछि स्ववियु निर्वाचन कार्यक्रम प्रभावित छ ।

निर्वाचन अधिकृत जीवन थापाका अनुसार त्रिभुवन बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनबीच सहमतिको प्रयास जारी छ । झन्डै ८ सय मतदाता रहेको सहिद बहुमुखी क्याम्पस रामपुरमा कांग्रेस निकट नेविसंघले सभापतिमा ल्याकत अली र एमाले निकट अनेरास्ववियुले सन्देश ढकालको प्यानलसहित उम्मेदवारी दिएका छन् ।
प्रत्यक्षतर्फ नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी) ले तालमेल गरेका छन् । नेविसंघ र अखिल क्रान्तिकारीको प्यानलमा सचिवमा रमेश पोखरेल, कोषाध्यक्षमा तिलक सारु छन् । यसैगरी सदस्यहरुमा कसम मल्ल ठकुरी, कविता राना, जयन्ती दर्जी, अस्मिता खनाल र महेश राक्सेले मनोनयन दर्ता गराए । अनेरास्ववियुले सचिव रमा श्रेष्ठ, कोषाध्यक्ष दुर्गा विक, सदस्यहरुमा अनिता श्रेष्ठ, जानकी बयम्बु, समरबहादुर खन्गाहा, राजन गौतम, सम्बोधन खनालले उम्मेदवारी दर्ता गराए ।
समानुपातिकतर्फ भने नेपाल विद्यार्थी संघले १०, अनेरास्ववियुले १० र अनेरास्ववियु(क्रान्तिकारी)ले ६ जनाको नामावली पेश गरेका छन् । स्ववियु निर्वाचन अधिकृत सूर्यप्रसाद घिमिरेका अनुसार नेविसंघबाट दर्पण सोती, जनक पाण्डे, बन्दना गैरे, लक्ष्मी श्रेष्ठ, विवेक नेपाली, आशिष पोखरेल, दिक्षा ज्ञावली, विपिन गैरे, योगिता पंगेनी, निकिता पाठकको नाम सिफारिस गरेको छ ।
अनेरास्ववियुले नविना रेग्मी, त्रिशन न्यौपाने, शितल अधिकारी, नारन भण्डारी, शिरिषा विश्वकर्मा, सच्चा रेग्मी, राधिका गौतम, पवन भण्डारी, मिलन पौडेल र विमल गौतमको नाम बुझाएको छ । अनेरास्ववियु क्रान्तिकारीले चनिसरा सोती, हेम कुमारी सोती, बिनु सोती, कान्तिसरा सुनारी, ममता सुनारी र राममाया सोतीको नाम पठाएको छ । सहिद क्याम्पसमा १५ सदस्यीय समिति रहनेछ । जसमा आठ जना प्रत्यक्ष र सात जना समानुपातिकतर्फबाट प्रतिनिधित्व हुनेछ ।
तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा भने सात ६ विद्यार्थी संगठन र असंलग्न विद्यार्थी संगठनबीच सहमतिका लागि छलफल भइरहेको छ । विद्यार्थी संगठनहरु पदको भागबण्डा गरेर स्ववियु गठन गर्ने प्रयासमा छन् । नेकपा एकीकृत समाजवादी संगठनले पद भागबण्डामा चित्त नबुझाएपछि केही दिनयता दैनिकजसो छलफल चलिरहेको छ ।
अनेरास्ववियुका मागका सम्बन्धमा क्याम्पस प्रशासनले छलफल गरेपनि निष्कर्ष निस्कन नसकेपछि तालाबन्दी खुलेको छैन । अनेरास्ववियुले हार्ने निश्चित भएपछि बहानाबाजी गर्दै वार्ता र छलफलबाट पदमा जाने प्रयास गरेको अन्य संगठनको आरोप छ । पछिल्ला दिनमा प्राध्यापक नियुक्ति, कर्मचारी नियुक्तिमासमेत भागबण्डा हुँदै आएकाले पनि स्ववियु पनि भागबण्डाबाटै लैजान खोजिएको अन्य विद्यार्थी संगठनले बताएका छन् ।
उद्बुद्ध कलेज स्वतन्त्र विद्यार्थी युयिनन निर्वाचन अन्तर्गत एमाले निकट अनेरास्ववियुको एकल प्यानल निर्विरोध भएको छ । अनेरास्ववियुका नेता नवीन आचार्यका अनुसार सभापतिमा केशव पंगेनी, उपसभापति कमल बस्याल, सचिव कृष्णा झापुर्लक, सहायक सचिव बिनिता कामु निर्विरोध भए । सदस्यहरु सरिता नेपाली, रुपा घर्ती, हेमा हिस्की, विष्णु आचार्य, संगीता आचार्य, नेत्रबहादुर पल्ली रहेका छन् । दमकडास्थित माण्डव्य बहुमुखी क्याम्पसमा पनि एमाले निकट अनेरास्ववियुका सरोज अधिकारी सभापति र बन्दना सुनार सचिव रहेको समिति गठन भएको छ । यहाँ नेविसंघ र एकीकृत समाजवादी निकट अनेरास्ववियुसमेत समितिमा छ ।
प्रकाशित : चैत्र ५, २०७९ १२:११