न्यायिक समितिका अधिकांश उजुरीमा मिलापत्र- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यायिक समितिका अधिकांश उजुरीमा मिलापत्र

वीरेन्द्र केसी

अर्घाखाँची — स्थानीय तहअन्तर्गतको न्यायिक समितिमा यहाँ साँदकिला मिचिएको, पति/पत्नीबीच झगडा, छिमेकीले रुख काटिदिएको जस्ता लिखित उजुरी पर्ने गरेका छन् । त्यस्ता मुद्दालाई व्यावहारिक रूपमा मिलापत्र गराएरै टुंगो लगाउने गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजकमा दीपा पोखरेल आएपछि मालारानी गाउँपालिकामा चालु आर्थिक वर्षमा ७ वटा उजुरी परेका छन् । ६ वटा मिलापत्र भए । एउटा अदालत पठाइयो । ७ मध्ये छिमेकीको जग्गा मिचिदिएको साँदकिलाको एउटा र ६ वटा पति–पत्नीबीच झगडाका उजुरी थिए । साँदकिलाको उजुरीमा दुवै पक्षलाई समितिमा बोलाएर छलफल गराएरै मिलापत्र गराइएको थियो । पति/पत्नी झगडाका ६ वटा उजुरीमध्ये ५ वटा मिलापत्र र एउटा सम्बन्धविच्छेदका लागि अदालत पठाइएको पोखरेलले बताइन् । ‘सबै पत्नीले लिखित उजुरी दिएका छन्,’ उनले भनिन्, ‘बैठकमा पटक–पटक बोलाएर दुवै पक्षले अब मिलेर बस्छौं, झगडा गर्दैनौं भनेपछि मिलापत्र गरायौं ।’

‘मानाचामलका उजुरी आउँछन्,’ उनले भनिन्, ‘हामी जनप्रतिनिधिले कसैलाई विभेद गर्न भएन । हामीले कानुन पढेका छैनौं, सरकारले एक जना कानुन अधिकृत वा अधिवक्ताको व्यवस्था गरिदिए धेरै सहज हुन्थ्यो ।’ समितिमा कस्ता उजुरी लिने, कस्ता अदालत पठाउने र दर्ता भएका उजुरीउपर कसरी टुंगो लगाउने भन्नेमा कानुनी रूपमा जानकारी नभएको उनले बताइन । ‘कानुनी रूपमा व्याख्या गर्न सक्दैनौं,’ उनले भनिन्, ‘व्यावहारिक रूपमै छलफल गराएर घरपरिवार र समाजमा सानो कुरामा झगडा गर्नु राम्रो हुँदैन, मिलेर बस्नुपर्छ भनेर सम्झाउँछौं ।’ जनप्रतिनिधि भएकाले पनि दुवैलाई खुसी बनाएर पठाउनुपर्छ भन्नेमा जोड रहने उनले बताइन् ।

सन्धिखर्क नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मिश्रा आचार्यले कसैलाई जित र कसैलाई हार नबनाउने गरी मिलापत्र गर्नुपरेको बताइन् । साँदकिलाका ३ वटा छिनोफानो गरेको, एउटा मानाचामलको अदालत पठाइएको र पति–पत्नि झगडाका ३ वटा उजुरीमा छलफल गराउने तयारी भइरहेको उनले बताइन् । ‘हामीले व्यावहारिक रूपमा उजुरी मिलापत्र गर्ने हो,’ आचार्यले भनिन्, ‘दुवै पक्षलाई छलफलमा बोलाएर भरसक मिलाउँछौं । मिलाउन नसक्ने मुद्दालाई अदालत पठाइदिन्छौं ।’

शितगंगा नगरपालिकामा यस आर्थिक वर्षमा १९ वटा निवेदन परेका छन् । त्यसमध्ये ६ वटा पति/पत्नीबीच झगडाका छन् । पति बाहिर जागिरमा रहँदा, विदेशमा रहँदा आफूलाई फोन नगरेको, छोराछोरीको पढाइ खर्च नदिएको, घरमा खाने खर्च नपठाएकाले खर्च भराई पाउँ भन्ने किसिमका उजुरी पनि पर्ने गरेको न्यायिक समिति सदस्य ऋषिराम घिमिरेले बताए । ‘घर झगडा र सामान्य विषयमा कुरा नमिलेका पनि निवेदन आउँछन्,’ उनले भने, ‘त्यस्ता उजुरीमा दुवै पक्षलाई छलफलमा बोलाएर टुंगो लगाउँछौं । घरमा बुढाबुढी मिलेर बस्नुपर्छ, झगडा गर्नुहुन्न, काममा एकले अर्कोलाई सघाएर मिलेरै गुर्नपर्छ भनेर सहमति गराएर पठाउँछौं ।’ यसरी मिलापत्र गरेर पठाएपछि पुनः उजुरी परेका छैनन् । १९ मध्ये ७ वटा मिलापत्र भए । दुई साँदकिला, तीन पूर्वाधार र दुई पारिवारिक झगडाका उजुरीपरेका थिए ।

‘समिति पनि सर्वपक्षीयजस्तै छ,’ उनले भने, ‘जनप्रतिनिधि भरसक विवादमा पर्न खोज्दैनन् ।’ निवेदनमा भरसक छलफल गराएरै मिलाउने भन्ने समितिको लक्ष्य देखिन्छ । यहाँ परेका धेरै उजुरी मिलापत्रमै टुंगो लागेका छन् । ‘केही मात्रै जति कोसिस गर्दा पनि मिल्नै नसक्ने हुन्छन्,’ सदस्य घिमिरेले भने, ‘तिनलाई प्रहरी र अदालत पठाइन्छ ।’

पाणिनि गाउँपालिकामा ५ वटा उजुरी परेका छन् । सबै छलफल गर्ने तयारीमा छन् । छत्रदेव गाउँपालिकामा ४ वटै पति/पत्नी विवादका निवेदन परेका छन् । एउटा मिलापत्र भएको छ । ‘यस्ता पति–पन्ती झगडाका उजुरीलाई मिलापत्र गराउन कोसिस गर्छौं,’ छत्रदेव गाउँपालिका उपाध्यक्ष एवं समिति संयोजक मनी पन्थीले भनिन्, ‘छलफल गराउँछौं, मिल्नलाई समय दिन्छौं ।’ घरमा पतिले वास्ता गर्दैनन् भनेर पनि निवेदन दर्ता भएका छन् । त्यस्ता निवेदनलाई व्यावहारिक रूपमै मिलाउन कोसिस गर्ने उनले बताइन् । ‘उजुरीमाथि कानुनी रूपमा कसरी टुंग्याउने भन्नेमा अलि असहज छ,’ उनले भनिन्, ‘पालिकामै यस्ता मुद्दा हेर्ने कानुन अधिकृत भए अलि सहज हुन्थ्यो ।’

प्रकाशित : चैत्र ५, २०७९ ११:११
प्रतिक्रिया
पठाउनुहोस्

प्रतिकूल परिस्थितिमा क्रिकेटले जगाएको उत्साह

पाठक पत्र

काठमाडौँ — क्रिक्रेट कमै नेपालीले बुझ्ने खेल हो तर केही वर्षयता यसको लोकप्रियता बढिरहेको छ । गत बिहीबार यूएईलाई हराएर नेपाल विश्वकप छनोट चरणमा प्रवेश गर्‍यो ।

योसँगै नेपाल अब क्रिकेटमा बलिया देशहरूसँग विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्न प्रतिस्पर्धा गर्नेछ । आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा देखिएको संकटका कारण निराशा छाए पनि क्रिकेटले भने उत्साह जगाएको छ । नेपालको खेल हेर्न कीर्तिपुरमा हजारौं दर्शकको उपस्थिति थियो । दर्शकहरूको मायालाई खेलाडीहरूले निराश बनाएनन् । खेलाडी र दर्शकले क्रिक्रेटलाई माया गरे पनि सरकार र यसको विकासका लागि बनाइएका संस्थाहरूले भने प्राथमिकता राखेका छैनन् । क्रिकेटको विकास गर्न यसमा लगानी बढाउनु जरुरी छ । राम्रो क्रिकेट मैदानबाहेक खेलाडीहरूलाई व्यावसायिक बनाएर क्रिकेटलाई जीविकोपार्जनको माध्यम बनाउनुपर्छ ।
– तिलप्रसाद न्यौपाने, माछापोखरी, काठमाडौं

यूएईले गत बिहीबार भएको खेलको अन्तिम ५ ओभरमा ८० रन बनाएपछि दर्शक स्तब्ध थिए । यो खेल नेपालका लागि सर्वाधिक महत्त्वपूर्ण थियो । तर, त्यस क्षण अब त हारिन्छ भन्ने लागिसकेको थियो । नपत्याउने तरिकाले दोस्रो इनिङमा जसरी नेपाल लयमा फर्कियो र खेल नै जित्यो, त्यसलाई निकै अनुकरणीय मान्नुपर्छ । नेपालको ब्याटिङ निकै मजबुत भएको रहेछ । खेलाडीहरूको खेल्ने शैली पनि आक्रामक थियो । त्रिदेशीय प्रतिस्पर्धाका १२ मध्ये ११ खेल जित्नुलाई ऐतिहासिक सफलता मान्नुपर्छ । हुन त, जिम्बावेमा नेपाललाई श्रीलंका, दक्षिण अफ्रिका, वेस्ट इन्डिजजस्ता टेस्ट क्रिकेटमा मान्यता प्राप्त हस्तीसमेतसँगको प्रतिस्पर्धा त्यति सरल नहोला । तर नेपालका ‘मिडिल अर्डर’ का खेलाडीको धैर्य, आँट र अठोटले निरन्तरता पाउँदा उत्कृष्ट नतिजा प्राप्त हुने विश्वास राख्न सकिन्छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : चैत्र ५, २०७९ ११:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×