१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

द्वन्द्व सम्झाउने संग्रहालय अलपत्र

विभिन्न समयमा बजेट विनियोजन भएर बनेका संरचना संरक्षण र अपुराको काम सक्न बेवास्ता
महेश केसी

रुकुम पूर्व — रुकुम पूर्वका विभिन्न स्थानमा निर्माण थालिएका युद्ध संग्रहालय अहिले अलपत्र छन् । सशस्त्र द्वन्द्वको दशक स्मरणका लागि निर्माण थालिएका संग्रहालयलाई पूर्णता दिन कसैको पनि चासो देखिएको छैन । नेकपा माओवादीले सशस्त्र संघर्ष सुरुवात गरेका जिल्लामध्ये रुकुम पूर्व पनि एक हो । द्वन्द्वका विभिन्न पक्ष संग्रहका लागि भनिएका संग्रहालय उपयोगविहीन बनेको जिल्लाका सरोकारवालाले बताएका छन् ।

द्वन्द्व सम्झाउने संग्रहालय अलपत्र

भूमे–९ भेरीडाँडास्थित चुनबाङमा ६ वर्षअघि निर्माण थालिएको गणतन्त्र संग्रहालय अलपत्र छ । माओवादीले २०६२ कात्तिकमा सशस्त्र संघर्ष त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन थालनी गरेको थलो भनिएको उक्त स्थानमा संग्रहालय निर्माण सुरु भएको थियो ।

अहिले उक्त योजना बेवारिसे जस्तो भएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताए । २०७३ पुस ९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले संग्रहालयको शिलान्यास गरेका थिए । त्यसपछि संग्रहालयका लागि आर्थिक वर्ष २०७४/७५ देखि संघ सरकार, लुम्बिनी प्रदेश सरकार, गाउँपालिका र पर्यटन बोर्डले पटक–पटक गरेर ४१ लाख ५८ हजार रुपैयाँ बजेट खर्च गरेको भूमेका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए । क–कसको बजेट कति–कति खर्च भयो भन्ने प्रस्ट रेकर्ड पनि स्थानीय तहमा छैन ।

भूमे–९ भेरीडाँडास्थित चुनबाङमा ६ वर्षअघि निर्माण थालेर अलपत्र अवस्थामा रहेको गणतन्त्र संग्रहालय ।

गाउँपालिकासँग जोडिएर खर्च भएको हिसाब मात्रै रेकर्डमा भएको उनले बताए । ‘२०७४/७५ अघि पनि संघीय सरकारमार्फत बजेट आयो,’ उनले भने, ‘यसबीचमा प्रदेश सरकारमार्फत पनि केही बजेट लगानी गरिएको थियो, त्यसको तथ्यांक गाउँपालिकामा छैन ।’ उक्त संग्रहालय जीर्ण भएको छ । ‘पहिले प्रधानमन्त्री दाहालसमेत आएर बसेको ठाउँ हो,’ भेरिडाँडाका मोहनलाल वलीले भने, ‘यहाँ संग्रहालय बनाउने काम त थालियो तर पूरा भएन । अहिले यहाँ भएका संरचना नै जोगाउन धौ–धौ छ ।’ युद्धकालमा माओवादीले आफ्नो सेल्टर बनाएको र ऐतिहासिक बैठक स्थललाई संग्रहालय बनाउन तारबार गरिए पनि भित्र हेर्न लायक केही छैन ।

भूमे–६ महतमा युद्धको झल्को दिनेगरी बनाइएका संरचना ।

भूमे–६ महतमा युद्धको झल्को दिने संरचना बनाइएका छन् । २०५६ असोज ५ मा माओवादीद्वारा गरिएको प्रहरी चौकी आक्रमणलाई त्यहाँ मूर्तिमा देखाइएको छ । त्यहाँ महत गाउँको प्रतीकात्मक दृश्य र सैनिक भेषमा ६ जनाको सालिकसमेत निर्माण गरिएको छ । बनाइएका सालिक उपराष्ट्रपति नन्दबहादुर पुन, रोल्पाका हरिबहादुर घर्ती, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ र रुकुम पूर्वकै जितबहादुर बुढाका छन् । एउटा सालिक तत्कालीन द्वन्द्वमा ज्यान गुमाएका लडाकु रुकुम पश्चिमका किशोर घर्तीमगरको छ । महत प्रहरी चौकी आक्रमणको नेतृत्व पुनले गरेकाले स्मारक निर्माण गरिएको गाउँपालिकाका पूर्वअध्यक्ष रामसुर बुढाले बताए ।

महतमा युद्धको झल्को दिने संरचना निर्माणका लागि ५३ लाख ९६ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले बताएको छ । अध्यक्ष श्रेष्ठका अनुसार यसलाई थप व्यवस्थित गरेर ऐतिहासिक युद्धलाई स्मृतिमा राख्न थप योजना बनाई कार्यान्वयन गर्ने योजना थियो । सिस्ने–५ रुकुमकोटमा युद्ध संग्रहालय निर्माणाधीन अवस्थामा छ । लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको समपूरक अनुदानबाट क्रमागत रूपमा थालिएको काम भने कछुवा गतिमा छ । गाउँपालिकाका इन्जिनियर कर्ण केसीका अनुसार ४ करोड २४ लाख रुपैयाँ लागतमा निर्माण थालिएको उक्त संग्रहालयको ३० प्रतिशत मात्रै काम भएको छ । आर्थिक वर्ष २०७८/७९ बाट काम थालिएको संग्रहालयका लागि पहिलो वर्ष १ करोड खर्च भएको थियो । चालु वर्षमा थप १ करोड खर्च गर्ने गरी ठेक्का प्रक्रिया अघि बढेको इन्जिनियर केसीले बताए ।

‘आगामी आर्थिक वर्षभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको छ,’ उनले भने, ‘बाँकी काम उपभोक्ता समितिबाट गराउन प्रयास भएकाले यस वर्ष ठेक्का प्रक्रियाको काम केही ढिला भयो । तर, अब यो पनि अघि बढ्छ ।’ चालु वर्षमा संग्रहालयको छाना हाल्ने, फिनिसिङ गर्ने र ग्यालरी निर्माण गर्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासविक्रम शाहले बताए । सशस्त्र युद्धताका यहाँ प्रहरी चौकी रहेको स्मरण गर्दै गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले २०५६ मा दोहोरो भिडन्तमा परी ज्यान गुमाउनेको सम्झनामा संग्रहालयको काम अघि बढाइएको बताए । उनले भने, ‘लडाइँका बेला प्रयोग भएको बंकर र अरू भग्नावशेष समेतलाई कायम राखेर यसलाई युद्ध पर्यटनका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।’ क्रमागत योजना भएकाले केही ढिला भए पनि काम अघि बढ्ने रेग्मीको भनाइ छ ।

जिल्लाका विभिन्न स्थानमा युद्धसँग सम्बन्धित स्मारक र संग्रहालय निर्माणमा करोडौं बजेट खर्च भएको भए पनि त्यसले परिणाम दिन नसकेको सिस्ने शिक्षा क्याम्पसका प्रमुख तीव्र गौतमले बताए । ‘पर्यटन विकासका दृष्टिले यस्ता संरचनामा लगानी गर्नु ठीकै भए पनि बिनायोजना जथाभावी खर्च गरिएकाले प्रतिफल शून्यजस्तै भयो,’ उनले भने, ‘पहिला जनतामा आधारभूत आवश्यकताको परिपूर्ति गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ । त्यसपछि विस्तृत योजनाका आधारमा प्राथमिकीकरण गरेर यस्ता काम अघि बढाइनुपर्थ्यो ।’

प्रकाशित : चैत्र ५, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?