रुपन्देहीमा १८ लाख बराबरको अवैध सामान बरामद- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीमा १८ लाख बराबरको अवैध सामान बरामद

अमृता अनमोल

बुटवल — रुपन्देही प्रहरीले शुक्रबार १८ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका ७ बनगाईबाट १८ लाख ३६ हजार ६८० रुपैयाँको भन्सार छलेर ल्याएको सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मर्चवारी गाउँपालिका–४ का ओमप्रकाश यादवले चलाएको ग १ त ४६२५ नम्बरको ट्याक्टरलाई बनगाईमा रोकेर जाँच गर्दा भारतबाट ल्याउँदै गरेको अवैध सामान भेटिएको थियो ।

जसमा लेडीज सुट, ब्लाउजको भित्री अस्तर, पहेंलो धोतीको कपडा, पूजामा प्रयोग गरिने सेतो कपडा, बेल्ट लगायत छन् । बरामद भएको सामान थप कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

प्रकाशित : चैत्र ३, २०७९ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्

विदेशी लगानीका कम्पनीले ८ महिनामा नेपालबाट लगे साढे १३ अर्ब नाफा

रासस

काठमाडौँ — चालु आर्थिक वर्षको आठ महिनामा लाभांशवापत विदेशी लगानीका कम्पनीले करिब साढे १३ अर्ब रुपैयाँ बराबरको रकम लगेका छन् । उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ बराबर लाभांश रकम फिर्ताको सिफारिस गरिएको हो । 

विभागले आठ महिनामा रोयल्टीवापत २ अर्ब ८ करोड ९३ लाख रुपैयाँ, ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार भारु तथा सात हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ । विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि १५ दिनभित्र रकम लैजान पाइन्छ ।

विभागले फागुनमा मात्रै लाभांशवापत करिब ३ अर्ब विदेश लैजानका लागि सिफारिस दिएको छ । विभागले २ अर्ब ८ करोड १० लाख ८३ हजार विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीवापत फागुनमा मात्रै ३३ करोड ३० लाख ९१ हजार ५ सय ३७, २ लाख ५० हजार २४ अमेरिकी डलर, २० लाख १० हजार भारु फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको छ ।

शाखाका प्रमुख शङ्करसिंह धामीका अनुसार गत आवको तुलनामा चालु आवमा विदेशिने रकम बढ्ने अनुमान छ । 'गत आवमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टीबापतको रकम लैजान कडाइ गरेको थियो, गत वर्ष कडाइ गर्दा अहिले लाभांश तथा रोयल्टी रकम धेरै विदेशिने अनुमान छ', उनले भने । चालु आवको फागुनसम्म विभागले व्यवसायी भिसाअन्तर्गत एक हजार ६९ जना लगानीकर्ता, १५० जना प्रतिनिधि र ३९२ जना आश्रितका लागि सिफारिस गरेको छ । फागुनमा मात्रै विभागले १२३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागका अनुसार फागुनसम्म २ सय ३९ उद्योगका लागि ३१ अर्ब २१ करोड ११ लाख लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।

प्रकाशित : चैत्र ३, २०७९ १७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×