श्रीनगर डाँडालाई डढेलोबाट जोगाउन अग्निरेखा


पाल्पा — पर्यटकीयस्थल श्रीनगर डाँडालाई डढेलोबाट जोगाउन बुधबारबाट अग्निरेखा बनाउने अभियान सुरु भएको छ । बजार क्षेत्रको माथिल्लो भागमा पैदल मार्ग रहेको स्थानमा अग्निरेखा बनाइएको हो । सदरमुकाम तानसेन नजिकैको श्रीनगर डाँडाको वन क्षेत्रमा सल्ला प्रजातिका रुख छन् । गर्मी याम सुरु भएपछि पटक–पटक यस क्षेत्रमा डढेलो लाग्दै आएको छ ।

डढेलोले साना बिरुवा मार्ने र हुर्कन नदिने भएकाले त्यसलाई जोगाउन अभियान थालिएको डिभिजन वन प्रमुख नारायणदेव भट्टराईले बताए ।
वन डढेलो जनचेतना सप्ताहअन्तर्गत कर्मचारी, सुरक्षाकर्मी र स्थानीय उपभोक्ता सहभागी भएर पैदल हिँड्ने क्षेत्र र बजार क्षेत्र पर्ने स्थानमा अग्निरेखा सरसफाइ गरेका छन् । नेपाली सेनाको दी फेमस महिन्द्र दल, सशस्त्र प्रहरी बल ३५ नम्बर गुल्म, प्रहरी, प्रशासन, रेडक्रस, डिभिजन वन, स्थानीय उपभोक्ता सहभागी छन् । पहिलो दिन तीन किलोमिटर क्षेत्रमा अग्निरेखा निर्माण गरिएको छ । तानसेन श्रीनगरडाँडाका साथै जिल्लाका सबै सबडिभिजनमार्फत जंगलमा अग्निरेखा निर्माण, सचेतना अभियान, झाडी सरसफाइ, अग्निरेखा निर्माण लगायतका काम भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी संयोग बस्नेतले बताए ।
जिल्लाभित्रका वन जंगललाई डढेलोबाट जोगाउन अग्निरेखा र डढेलो व्यवस्थापनमा समुदाय परिचालन अभियान थालिएको डिभिजन वन कार्यालयले जनाएको छ । समुदायको पहलमै जंगलमा लागेको डढेलो निभाउने, वन संरक्षण गर्ने अभियानसमेत चल्ने डढेलो व्यवस्थापन टास्कफोर्सका संयोजक तथा सहायक वन अधिकृत उपेन्द्र अर्यालले बताए ।
आगलागीबाट ठूलो जोखिममा भएकाले अग्निरेखा र डढेलो व्यवस्थापनमा जुट्न समुदायलाई बाध्य गराइएको समन्वय समितिका अध्यक्ष पदमलाल शाक्यले बताए । ‘वन डढेलो सप्ताहअन्तर्गत पनि समुदाय परिचालन भएको छ,’ उनले भने, ‘डढेलोसम्बन्धी जनचेतना जगाउन लोक कलाकारमार्फत पनि वनसभा गर्ने योजना छ ।’ सामुदायिक वनले आकस्मिक रूपमा हुने आगलागी नियन्त्रणका लागि अग्नि नियन्त्रण दलसमेत गठन गरेर काम गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघका निरञ्जन भुसालले बताए ।
प्रकाशित : चैत्र ३, २०७९ ०७:३७