एकै दिन ५ सय भिक्षु बने- लुम्बिनी - कान्तिपुर समाचार

एकै दिन ५ सय भिक्षु बने

नवप्रवेशी भिक्षुलाई ७५ सेखिया विनय शिक्षापद र १० शिल, तच पञ्चक ध्यान सिकाइएको छ
मनोज पौडेल

लुम्बिनी — छुट्टै माहोल । शान्तिप्रति समर्पित वातावरण । बुद्धम् शरणम् गच्छामिको गुन्जायमान धुन । जता हर्‍यो उतै पहेंला वस्त्रधारी । बिहीबार बुद्ध जन्मस्थल लुम्बिनी भिक्षुमय बनेको हो । पूर्वको भोजपुरदेखि पश्चिमको कैलालीसम्मका ५ सय जनाले सामूहिक रूपमा प्रवज्या लिएर श्रामनेर बनेका हुन् । श्रामनेर भनेको भिक्षु जीवन प्रवेशको पहिलो खुड्किलो हो । भिक्षु जीवनमा प्रवेश शुभारम्भ गर्नु हो ।

अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजनामा लुम्बिनीमा बिहीबारदखि प्रवज्या शिविर आयोजना गरिएको छ । कार्यक्रममा १६ देखि ६२ वर्षसम्मका सहभागी छन् । कृषकदेखि शिक्षक, व्यवसायी, चित्रकार, वकिल, सञ्चारकर्मी र डाक्टरसमेत भिक्षु भएका छन् ।

ललितपुरका बालरोग विशेषज्ञ डा. विनोलाल बज्राचार्य र मनोरोग चिकित्सक डा. सुनिल शाक्य पनि भिक्षु भएका छन् । काठमाडौं नयाँ बानेश्वरका २३ वर्षीय अभिषेक थापामगरले भिक्षु हुँदा गजबको शान्तिको अनुभूति गरेको बताए । ‘पीडा, अभाव र समस्याबाट मुक्त भएको छु,’ ब्याचलर अफ सोसल वर्कमा स्नातक गरिरहेका उनले भने, ‘शान्तिको दिव्य चक्षु पलाएको छ ।’ मध्यपुर ठिमी भक्तपुरका ६२ वर्षे विश्वरा हजुले पनि विश्वमा बढिरहेको द्वन्द्व र अशान्तिलाई बुद्ध दर्शनले शान्ति अभियान चलाउन सक्ने अनूभूति पाएको बताए ।

गौतम बुद्धका अनुयायी बन्न कठिन परिश्रम र संघर्ष गर्नुपर्छ भन्ने अनुभूति दिलाउन उनीहरूलाई पारिवारिक मायामोहबाट अगल बनाएर दीक्षा दिइँदै आएर श्रामनेर बनाइएको हो । नवप्रवेशी श्रामनेरलाई ७५ सेखिया विनय शिक्षापद र १० शिल सिकाइएको छ । तच पञ्चक ध्यान सिकाइएको छ । उनीहरूले त्यस ज्ञानलाई राम्ररी व्यवहारमा उतारे भने दुई–चार महिनामै भिक्षु संघले पूर्ण भिक्षु बनाउन सक्ने भिक्षु महासंघका अध्यक्ष शोभन महास्थवीरले बताए । भिक्षु बनाउने कार्यक्रम महासंघको स्वीकृति लिएर जहिले पनि गर्न सकिने महासंघका महासचिव धर्मपाल महास्थवीरले बताए । नवप्रवेशी भिक्षुलाई बुद्ध जीवनी, लुम्बिनीको इतिहास, बौद्ध शिक्षाको महत्त्व र बुद्धले बुद्धत्व प्राप्त गर्दा पाएको कष्ट पीडाबारे जानकारी दिइएको थियो । त्यस्तै भिक्षु जीवन, करुणा, मैत्री, सद्भाव र भाइचारालगायत विषयमा पनि ज्ञान दिइएको छ ।

भिक्षु जीवनमा प्रवेश गरेका उनीहरूले बुद्ध शिक्षा, शिल र चिवर लिएर भिक्षु जीवन धारण गरे । थाई भिक्षु महासंघका उपप्रमुख भिक्षु फ्रा पवना धम्मविड्सले सबै श्रामनेरलाई शिल चिवर प्रदान गर्दै ध्यान गर्ने तरिका सिकाएका थिए । ‘लुम्बिनीको पवित्रता र महिमा उजागर गरी शान्ति र भ्रातृत्वको सन्देश फैलाउन कार्यक्रम गरिएको हो,’ उनले भने, ‘त्यही भएर सबैले अनुशासित भएर शिल पालना गर्नु होला ।’ विश्व शान्तिको स्थलमा प्रवज्जित हुन पाउनु गर्वको कुरा भएको उनले बताए ।

साताअघि लुम्बिनी आएका उनीहरूलाई कोरिया विहारमा ध्यान, शिक्षा र प्रवचन दिइएको छ । बुद्ध धर्मअनुसार शाक्यमुनिहरू एक दिनका लागि भए पनि भिक्षु बन्नैपर्छ भन्ने मान्यता राख्छन् । प्रवज्या लिएपछि कतिपय भिक्षु हुन्छन् भने कतिपय फेरि गृहस्थी जीवनमै फर्किन्छन् ।

प्रकाशित : चैत्र ३, २०७९ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्

रामसहाय बहाना, उपेन्द्र निसाना

मधेशमा वर्चस्व कायम गर्ने यादव र राउतको राजनीतिक लडाइँले उपराष्ट्रपतिमा नौदलीय गठबन्धनबाट साझा उम्मेदवार तय हुन सकेन
बबिता शर्मा

काठमाडौँ — अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतको तराई–मधेशमा वर्चस्व कायम गर्ने राजनीतिक लडाइका कारण उपराष्ट्रपतिमा एकल उम्मेदवार बनाउने नौदलीय गठबन्धनको प्रयास अझै सफल भएको छैन ।

यादव र राउतको टकरावमा दक्षिणी छिमेकीको पनि चासो रहेको नेताहरू बताउँछन् । उपराष्ट्रपतिको निर्वाचन भने शुक्रबार हुँदै छ ।

गठबन्धनको दल जनता समाजवादी पार्टीले संसदीय दल नेतासमेत रहेका रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाएको छ । उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त हुने बारा–२ बाट उपनिर्वाचनमार्फत संसद् प्रवेश गर्ने योजनामा पार्टी अध्यक्ष उपेन्द्र यादव रहेका छन् । उनलाई रोक्ने लक्ष्यका साथ गठबन्धनको अर्को दल जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाएको छ । उनको उम्मेदवारी दर्ताका बेला समर्थन गरेका लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले यादवलाई नै मत दिने देखिएको छ । एमालेबाट भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

जसपा अध्यक्ष यादव गत मंसिर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनमत पार्टी अध्यक्ष राउतसँग सप्तरी–२ मा पराजित भएका थिए । यादव एमालेसँग तालमेल गरेर उठ्दा पनि १८ हजारभन्दा बढी मत अन्तरले पराजित भएका थिए । चार महिनाअघि आफैंले हराएको व्यक्ति संसद्मा नआओस् भन्ने राउतको चाहना छ । यादवले भने आफू संसद् छिर्न गठबन्धनबाट अडान राखेरै उपराष्ट्रपति पद आफ्नो पार्टीको भागमा पारेका हुन् । ‘सीके राउतले ममता अगाडि सार्नुको उद्देश्य उपेन्द्र यादवलाई संसद्को बाटो रोक्ने प्रयास हो । तर, गठबन्धनका ठूला दल कांग्रेस, माओवादी र एकीकृत समाजवादी जसपाका रामसहायप्रसादको पक्षमा रहेकाले राउतको कार्ड सफल हुने सम्भावना कम छ,’ लोसपाका एक शीर्ष नेताले भने ।

राउतको दल यसै वर्षको निर्वाचनबाट मधेशमा उदाएको हो । यादवको दल जसपा भने निर्वाचनमा खुम्चिएको छ । राउतलाई कमजोर नपारेसम्म मधेशमा बलियो शक्ति बन्न नसकिने यादवको विश्लेषण छ । अर्कातिर आफ्नो मिसनमा यादव बाधक हुन सक्ने राउतको बुझाइ छ । ०६४ पछि डेढ दशक लगातार संसद्मा रहेका यादव उपप्रधानमन्त्रीसम्म भइसकेका छन् । राउत यसैपालि सांसद बनेका हुन् । यादव र राउतको प्रतिष्ठाको स्वार्थ अहिले उपराष्ट्रपति निर्वाचनमा ठोक्किएको हो । राउतले यादवलाई रोक्न नसक्ने जसपा प्रवक्ता मनीष सुमन बताउँछन् ।

आमनिर्वाचनपछि मधेश प्रदेशमा मुख्यमन्त्री पदलाई लिएर यादव र राउतबीच तनाव देखिएको थियो । एमाले–माओवादीसहितको गठबन्धनमा पहिलो कार्यकाल जसपाले र दोस्रो कार्यकाल जनमतले पाउने गरी मधेशमा सरकार गठनको प्रक्रिया अगाडि बढेको थियो । त्यहीअनुसार गत पुस २७ मा जसपाका सरोज यादव मुख्यमन्त्री बनेका छन् ।

उपराष्ट्रपतिको उम्मेदवारमा सहमति जुटाउन नौदलीय गठबन्धनले बुधबार बैठक गरेको थियो, जहाँ शीर्ष नेताहरूले राउतसँग रामसहायका पक्षमा सहयोग मागेका थिए । जवाफमा जनमत पार्टीका अध्यक्ष राउतले भनेका थिए, ‘हामी गठबन्धन एक हुनुपर्छ भन्ने पक्षमै छौं । बरु, राष्ट्रपति र उपराष्ट्रपति दुवै पुरुष हुँदा राम्रो सन्देश गएको छैन । संविधानको मर्म, जनचाहना र समावेशिताका लागि महिला उम्मेदवारलाई अघि सारौं ।’ बैठकमा जसपा अध्यक्ष यादवले रामसहायप्रसादको उम्मेदवारी संविधानसम्मत रहेको पुष्टि भएको बताएका थिए ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ राउतको प्रस्तावको पक्षमा थिइन् । तर लोसपासमेत जसपाका उम्मेदवारको पक्षमा देखिएपछि उनी पनि सकारात्मक भइन् । लोसपा अध्यक्ष महन्थ ठाकुरले सहमतिमै एक उम्मेदवार सार्न सके राम्रो हुने सुझाव दिए ।

स्रोतका अनुसार राउत पहिलो चरण नतिजाविहीन बनाउन चाहन्छन् । निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्छ । पहिलो चरणमा रोक्न सके थप रणनीतिसहित अगाडि जान सकिने राउतको विश्लेषण छ । तर, जसपा प्रवक्ता सुमनले गठबन्धनका अन्य सबै दल यादवलाई मत दिने निर्णयमा पुगेका कारण पहिलो चरणमा नै उनी निर्वाचित हुने दाबी गरे । जनमतका प्रवक्ता चन्दन सिंहले सत्ता गठबन्धनभित्र रामसहायप्रसादको उम्मेदवारीमा सहमति नभएको दाबी गरे ।

प्रकाशित : चैत्र ३, २०७९ ०७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×