१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तिलोत्तमामा वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १ दिने वृत्ति मार्ग निर्देशन तथा रोजगार सूचना मेला हुने भएको छ । यही चैत्र ४ गते हुने मेलाको तयारी पूरा भएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

तिलोत्तमामा वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला

नगरपालिकाको आयोजनामा हुने मेलामा रोजगार तथा रोजगारदाता कम्पनीको ४० स्टल रहने मेलाका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले बताए । उक्त मेलालाई सफल बनाई युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन हुने अवस्थाको अन्त्य गर्न आफूहरू लागिपरेको संयोजक पाठकको भनाइ छ ।

उक्त मेलामा नगरपालिकाभित्रका स्थायी र अस्थायी गरी झन्डै १ हजार ५ सय व्यक्ति सहभागी हुने लक्ष्य राखिएको छ । मेलामा सहभागी हुन इच्छुक युवायुवतीलेले नागरिकता, फोटो, शैक्षिक प्रमाणपत्रको प्रतिलिपीसमेत ल्याउनुपर्ने पाठकले बताए ।

मेलामा रहने स्टल नगरपालिकाले निर्माण गर्ने र मेलाका लागि कुनै शुल्क नलाग्ने संयोजक पाठकले बताए ।मेलाका उपसंयोजक रवि सेन्चुरीले मेलामा सीपमूलक तालिमको अवसरहरूको जानकारी, वृत्ति परामर्शसम्बन्धी सेवा, सीपको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरबारे जानकारी गराउनुका साथै रोजगारीका लागि सहजीकरण गर्ने बताए । मेलाकै माध्यमबाट बेरोजगार युवायुवतीलाई रोजगारीमा जोड्नका लागि सहजीकरण गर्ने अपेक्षासमेत गरिएको उनले बताए ।

मेला तिलोत्तमाका युवालाई अवसरको रुपमा आयोजना हुने र यसको भरपुर सदुपयोग गर्न नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले आग्रह गरे । उनले युवाको मागअनुसार विभिन्न क्षेत्रमा नगरपालिका अघि बढेको जानकारी गराउँदै रोजगारीको अवसर र तालिमका लागि यो मेलाले महत्त्वपुर्ण भूमिका खेल्ने जनाए ।

इन्स्योर परियोजनाको सहयोगमा हुने मेलामा रोजगारसम्बन्धी विज्ञ, तालिम प्रदायक संस्था, रोजगार कम्पनी, उद्योग कलकारखानाका सञ्चालक तथा प्रतिनिधिको उपस्थिति रहनेछ ।

रोजगार मेलाले तिलोत्तमा नगर क्षेत्रका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने, सीप भएर पनि जागिर नपाएर विदेसिन बाध्य नागरिकलाई स्वदेशमै राख्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको संयोजक पाठकले बताए । संयोजक पाठकका अनुसार रोजगार मेलामा विभिन्न रोजगारदाताका ४० भन्दा बढी स्टल रहने र मेलामै विभिन्न सीप भएका व्यक्तिलाई रोजगार दिलाइनेछ ।

प्रकाशित : चैत्र २, २०७९ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?