कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रोल्पामा स्वास्थ्य संस्था अपायक

काशीराम डाँगी

रोल्पा — रोल्पा नगरपालिका–१० नगरकै सबैभन्दा ठूलो वडा हो । वडाको एक गाउँबाट अर्को गाउँसम्म पुग्न कतैकतै ८ घण्टासम्म लाग्छ । वडा ठूलो भएकाले यहाँका दुईवटा स्वास्थ्य इकाइ अपायक स्थानमा रहेको वडाध्यक्ष मतिलाल डाँगीले बताए । एउटा स्वास्थ्य इकाइ गापा गाउँमा छ भने अर्को साउनेपानीमा ।

रोल्पामा स्वास्थ्य संस्था अपायक

ती इकाइमा एक/एक जना स्वास्थ्यकर्मी छन् । ‘बिरामी भएमा तत्काल उपचार पाउने अवस्था छैन । बर्थिङ सेन्टर नभएकाले झन् समस्या छ,’ डाँगीले भने, ‘गाउँमै सुत्केरी गराउन सकिने व्यवस्था मिलाउन नगर र जिल्ला स्वास्थ्यसँग समन्वय गरे पनि सुनुवाइ भएको छैन ।’

रोल्पा–१० धबाङ गाउँकी ४४ वर्षकी केरौली सुनारले गाउँमा स्वास्थ्य इकाइ नभएकाले समस्या भएको सुनाइन् । ‘बिरामी भएपछि कि गापा पुग्नुपर्‍यो कि त साउनेपानी जानु पर्‍यो,’ उनले भनिन्, ‘हामीलाई त जता पनि टाढै पर्छ ।’ बिरामी भएपछि सक्ने गाउँलेहरू सदरमुकाम लिबाङमा रहेको अस्पताल पुग्छन् भने कम आय भएका घरमै बस्छन् । स्थानीय ज्येष्ठ नागरिक पूर्णबहादुर थापाले वर्षौंदेखि गाउँमा राम्रो सेवा भएको स्वास्थ्य चौकीको माग गर्दै आएको बताए । ‘हाम्रा कुरा कसैले सुनेनन्,’ ७२ वर्षीय उनले भने, ‘चुनावमा भोट माग्न आएका सबैले छिट्टै ल्याइदिन्छौं भनेर वाचा गर्छन् तर पछि बिर्सन्छन् ।’

कांग्रेस जिल्ला सचिवसमेत रहेका स्थानीय शेरबहादुर थापाले तत्कालीन सशस्त्र द्वन्द्वका बेलामा माओवादी पक्षले बीच गाउँमा स्वास्थ्य चौकी राख्न नदिएकाले अहिलेसम्म भरपर्दो स्वास्थ्य इकाइ नभएको बताए । ‘त्यसबेला स्वास्थ्य चौकी राखेमा प्रहरी चौकी पनि बस्छ, हाम्रा विरुद्ध सुराकी गर्नेहरू बढ्छन् भनेर माओवादीका कार्यकर्ताले राख्न दिएनन्,’ उनले भने ।

त्यसपछि जिल्ला स्वास्थ्य र नगर स्वास्थ्यले काम चलाउ उद्देश्यले दुई स्थानमा अस्थायी कार्यालय सञ्चालन गरेर कर्मचारी पठाएको छ । तर, गतिलो र भरपर्दो स्वास्थ्य चौकी छैन । गापास्थित स्वास्थ्य इकाइकी इन्चार्ज बब्ली गुरुङले नजिकका स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गर्दै आए पनि टाढाकालाई अप्ठ्यारो परेको बताइन् ।

गाउँमा भरपर्दो स्वास्थ्य संस्था अभावमा स्थानीय बिरामी पर्दा धामीझाँक्रीमाथि नै भर पर्ने गरेको धबाङका वडासचिव चन्द्रज्योति सुवेदीले बताए । गाउँको सुरक्षाका लागि वडा कार्यालय नजिकै अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ तर स्वास्थ्य चौकी स्थापना गर्नेबारेमा जनप्रतिनिधिबीच अहिलेसम्म छलफल नभएको उनले बताए । ‘बिरामी हुने बित्तिकै धेरै खर्च गरेर लिबाङकै अस्पताल पुग्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यतै स्वास्थ्य इकाइ भए राम्रो हुन्थ्यो ।’

प्रकाशित : चैत्र १, २०७९ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?