कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जैविक मार्ग नयाँ गन्तव्य

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जपछि पर्यटकका लागि दोस्रो रोजाइ खाता जैविक मार्ग बन्दै आएको छ । यातायातका दृष्टिले सुविधा सम्पन्न यो क्षेत्र जैविक विविधताले भरिपूर्ण रहेको र वन्यजन्तु ओहोरदोहोर गर्ने अन्तर्राष्ट्रिय मार्ग पनि भएकाले पर्यटकको नयाँ गन्तव्य बन्दै गएको हो ।

जैविक मार्ग नयाँ गन्तव्य

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतीय सीमा कतरनियाघाट वन्यजन्तु आरक्ष जोड्ने खाता जैविक मार्गमा प्रायः दिउँसै बाघ र हात्ती सडक हुँदै आउजाउ गर्छन् । साँझ पर्नासाथ

मार्गमा वन्यजन्तुको चहलपहल बढ्न थाल्छ । विशेष गरी बाघ, हात्ती, गैंडालगायत बँदेल, चित्तल ओहोरदोहोर गर्छन् । करिब ३ किमि हुलाकी सडक मार्गमा राति वन्यजन्तुबाट आक्रमण नहोस् भनेर प्रहरीले एक्लै मोटरसाइकल र पैदल यात्रुलाई आउजाउ नगर्न आग्रह गर्दै आएको छ ।

खाता जैविक मार्गसँग जोडिएको कर्णाली नदीको भँगालो गेरुवा नदीमा नेपालकै सबैभन्दा लामो पुल छ । यसको लम्बाइ १ हजार १५ मिटर छ । लामो पुल हेर्न टाढा–टाढाबाट पर्यटक यहाँ आउने गर्छन् । सार्वजनिक बिदाको दिन पुल हेर्ने र यहाँ सेल्फी खिच्ने युवकयुवती बढी हुन्छन् । करिब १० वर्षअघि कोठियाघाटको सानो बजार अहिले सुनसान छ । यहाँ पुल नहुँदा डुंगाबाट आउजाउ गर्नुपर्ने बाध्यता थियो र राती डुंगा नचल्दा यहाँका होटलमा बास बस्नेको संख्या उल्लेखनीय हुन्थ्यो । अहिले सुनसान रहेको स्थानीय होटल व्यवसायी वीरबल शाहीले बताए । ‘पुल सञ्चालनपछि २४ सै घण्टा सवारी साधन गुड्दा राति बास बस्ने र खाना, खाजा खाने मानिस हुँदैनन्,’ उनले भने, ‘अहिले पुलपारि खैरीमा धमाधम होटल सञ्चालन भएका कारण बजार विस्तार भएको छ ।’

कोठियाघाटमा सुरक्षाका लागि प्रहरी चौकी छ । पुलपारिको खैरीमा सानादेखि मध्यम खालका आधुनिक होटल खुलेका छन् । यहाँ आउने यात्रुले कर्णाली नदीको ताजा माछालगायतका परिकार खाने गर्छन् । रिभर साइड कटेज एण्ड लजका सञ्चालक प्रभात शाहले यहाँ आउने अधिकांश यात्रुको पहिलो रोजाइ माछा र त्यसपछि लोकल कुखुरा भएको बताए । ‘नेपालको लामो पुलसँगै जैविक मार्गको अवलोकन गर्न आउने पर्यटकको रोजाइ हुने गरेको छ,’ उनले भने, ‘यहाँ आउने अधिकांश पर्यटकले बाघ, हात्ती, चितल, बँदेललगायत वन्यजन्तु हेर्न पाउँछन् ।’

कोठियाघाटबाट भारतीय सीमा करिब ३ सय मिटर दूरीमा छ । दुवैतर्फ घना जंगल छ । कोठियाघाटका प्रहरीले दिनहुँ बाघले चौकी वरिपरि आउजाउ गर्ने गरेको बताए । भारतको कतरनियाघाट वन्यजन्तु संरक्षण केन्द्र लगायत सातवटा निकुञ्ज क्षेत्रसँग यो जोडिएकाले जंगली जनावर ओहोरदोहोर गर्ने मार्ग हो ।

विदेशी पर्यटक खाता जैविक मार्गको अवलोकन गर्न उल्लेख्य मात्रामा आउने गरेका छन् । पूर्वराजदूतदेखि विभिन्न संघसंस्थाका व्यक्तिले यस मार्गको अवलोकन गरेका छन् । फागुन २० गते मलेसियाबाट आएको विश्व वन्यजन्तु कोषको टोलीले खाता जैविक मार्गको अवलोकन गरेको खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताए । ‘नयाँ गन्तव्यका रूपमा यसको विकास भइरहेको छ,’ उनले भने, ‘वन्यजन्तु हेर्न र उनीहरूको गतिविधि नियाल्न पर्यटक यहाँ आकर्षित भइरहेका छन् ।’

प्रकाशित : फाल्गुन २६, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?