बचतका नाममा ठगी,सहकारी घेराउ

सन्जु पौडेल

लुम्बिनी — रूपन्देहीको मायादेवी–४ का स्थानीय बाबुलाल कलवार हिजोआज कसैसँग त्यति बोल्दैनन् । वर्षौंदेखि उनले चलाइरहेको चिया पसलमा आउनेसँग पनि उनको राम्रो बोलीचाली छैन । निराश रहिरहने उनी बिहानदेखि साँझसम्मै फोनमा ध्यान दिइरहेका हुन्छन् । उनको चियापसल अहिले छोराले सम्हालेका छन् ।

बचतका नाममा ठगी,सहकारी घेराउ

मिहिनेत गरी कमाएको केही पैसा पनि बचतका नाममा लुटिएपछि असह्य मानसिक पीडा भोग्नुपरेको उनले बताए । ‘दुई वर्ष भयो पैसा दिन्छु भनेर झुलाएको तर दिँदैन,’ उनले भने, ‘ममाथि विश्वास गरेर सँगै बचत गरेका छरछिमेकका पसले र गाउँलेसँग त्यही कारणले सम्बन्ध बिग्रिएको छ ।’ आफूले बचत गरेपछि अरूले पनि गरेको र सबैको पैसा अहिले डुबेको उनले बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मा रहेको धर्मोदय बचत तथा ऋण सहकारी संस्थामा उनले दैनिक बचत गरेका थिए । अहिले उक्त सहकारी कार्यालय बन्द छ । सहकारी सञ्चालकका घरमा दैनिकजसो घेरा हाल्ने र नाराबाजी गर्ने गरेको पीडित कलवारले बताए । ‘हाम्रो पैसा जम्मा गरेका पिन्टु पाण्डेले भोलि दिन्छु भन्दै वाचा गरेका थिए,’ उनले भने, ‘तर त्यसपछि फोन नै नलाग्ने बनाएका छन् ।’

विगत दुई वर्षदेखि अलिअलि गर्दै भए पनि पैसा देऊ भनेर फकाउने गरिरहेको कलवारले बताए । ‘हिजोआज त बहानामाथि बहाना बनाएर झनै दुःख दिइरहेको छ,’ उनले भने । सबैलाई फकाइफुलाई बचतकर्ता बनाएको र अहिले पासबुकसमेत लगेपछि आफूहरूसँग प्रमाण नै नरहेको उनले बताए ।

लुम्बिनी सांस्कृतिक–१० कै मनोज बानियाँ पनि सहकारी पीडित हुन् । मायादेवी–४ झुलनीपुरमा रहेको उन्नति कृषि सहकारी संस्था नामक सहकारीमा उनले तीन वर्षदेखि पैसा जम्मा गरिरहेका थिए । डर हुँदाहुँदै छिमेकी पसलका सबैले ‘बचत हो, यसमा जोखिम हुँदैन’ भनेर सल्लाह दिएपछि आफू पनि त्यसमै मिसिएको उनले बताए । ‘१/२ पटक दिएजस्तै गर्‍यो,’ उनले भने, ‘तिहारमा दिन्छु भनेको पैसा अहिलेसम्म पाएको छैन ।’ उनले सहकारीबाट झन्डै २ लाख रुपैयाँ लिन बाँकी रहेको बताए । ‘दुई पटक गरेर ६० हजार पाएको थिएँ,’ उनले थपे, ‘अहिले माग्दा उनका बुवाले फोन उठाउँछन्, जग्गा बेचेर दिन्छु भन्दै ढाँट्छन् ।’

प्रकाशित : फाल्गुन १५, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?