लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान सुरु- लुम्बिनी - कान्तिपुर समाचार

लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान सुरु

दुर्गालाल केसी

दाङ — लुम्बिनी प्रदेशको अन्य समूहअन्तर्गत राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा मतदान सुरु भएको छ । बुधबार बिहान १० बजेदेखि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए ।

अपराह्न ३ बजेसम्म मतदान हुने उनले जानकारी दिए । नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ । सत्ता गठबन्धनका तर्फबाट एमालेका कुमार दशौंदी, कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्तिका राजेन्द्रवीर रायको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनका तर्फबाट दशौंदीको उम्मेदवारी दर्ता भए पनि उन्मुक्तिले असन्तुष्टि जनाउँदै छुट्टै उम्मेदवारी दिएको छ । दशौंदी र आचार्य रोल्पा निवासी हुन् भने राय बाँकेका हुन् । मतदान सकिएलगत्तै मतगणना हुने मुख्य निर्वाचन अधिकृत कार्कीले जानकारी दिए ।

एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजीनामा दिएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो । रुपन्देहीका भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन राष्ट्रिय सभा सदस्य छाडेका थिए । उनले रुपन्देही-५ बाट उम्मेदवारी दर्ता गरेका थिए तर उनीभन्दा पहिला एमालेबाटै तिलोत्तमा नगरपालिकाका पूर्वप्रमुख बासुदेव घिमिरेको उम्मेदवारी दर्ता भएका कारण भट्टराईको उम्मेदवारी खारेज भएको थियो ।

राष्ट्रिय सभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिका प्रमुख तथा उपप्रमुखले मतदान गर्दै छन् । प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुख मध्य हरेकको मतभार १८ हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहेको छ‚ जसमध्ये प्रदेशसभा सदस्यको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुखको संख्या २ सय १८ छ । लुम्बिनी प्रदेशमा १ सय ९ पालिकाहरू छन् । तीमध्ये कांग्रेसले ४८, एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २/२ तथा राप्रपा र जनता प्रगतिशीलले १/१ स्थान जितेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/४, जसपा, लोसपा र जनमतले ३/३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १/१ सिट जितेका छन् । स्वतन्त्रबाट ३ जनाले जितेकामा एक जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रकाशित : माघ २५, २०७९ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान बालकोटस्थित ओली निवासमा दुई नेताबीच भेटवार्ता भएको हो ।  

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि दुई शीर्ष नेताबीच भेटघाट बाक्लिएको हो । मंगलबार मात्र प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीले दाहालसँग छलफल गरेका थिए ।

रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले गृह, शिक्षा र श्रम मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् । यसअघि पनि उनले वन र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी आफैले हेर्दै आएका थिए ।

रास्वपाको बहिर्गमनपछि दाहालले जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई सरकारमा ल्याउन गृहकार्य थालेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा दुवैबीच भेट भएको हो ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्दै कांग्रेससँगको सहकार्यमा माओवादीले संकेत जनाएपछि एमाले संशकित भएको छ । एमालेले पूर्वसहमतिअनुसार नै आफूले राष्ट्रपति पद पाउनुपर्ने बताउँदै आएको छ ।

प्रकाशित : माघ २५, २०७९ १०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×