कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

स्वर्गद्वारीमा भारतीय तीर्थालुको भीड

प्यूठान — पवित्र धार्मिक तीर्थस्थलका रूपमा स्वर्गद्वारीको चिनारी छ । यसैबाट प्यूठानको नगरपालिकाको नाम पनि कायम गरिएको छ । स्वर्गद्वारी मन्दिरमा नेपालभित्रबाट मात्र होइन, भारतबाट समेत भक्तजन आउँछन् ।

स्वर्गद्वारीमा १९५२ वैशाख पूर्णिमाबाट नियमित रूपमा अखण्ड महायज्ञ हुँदै आएको छ । त्यतिबेलैदेखि निरन्तर यज्ञकुण्ड बलिरहेको छ । स्वर्गद्वारी आश्रमका कोठारी प्रमुख वासुदेव भट्टराईका अनुसार अखण्ड महायज्ञमा २४ जना ब्राह्मणबाट नियमित पूजा गर्ने गरिएको बताए । पूजाका लागि आवश्यक पर्ने घिउ यहीं उत्पादन गरिन्छ ।

स्वर्गद्वारीको महिमा नेपालीभन्दा भारतीयमा बढी रहेको भट्टराई बताउँछन् । उनका अनुसार स्वर्गद्वारीमा नेपालीको तुलनामा भारतीय भक्तजन बढी आउने गरेका छन् । त्यसमा पनि उत्तर प्रदेशका धेरै हुन्छन् । ‘एक वर्षमा झन्डै ३ लाख भक्तजन स्वर्गद्वारी दर्शनका लागि आउँछन्,’ भट्टराईले भने, ‘त्यसमध्ये ८५ प्रतिशत भारतीय छन् ।’

भक्तजनले चढाएको भेटी र अन्नका भरमा आश्रम चलिरहेको छ । नेपालीको तुलनामा भारतीय भक्तजनले भेटी बढी चढाउँछन् । हिजोआज दिनमै १० हजारसम्म भक्तजन स्वर्गद्वारी आइरहेको भट्टराईले जानकारी दिए । ‘भारतका गोरखपुर, सिद्धार्थनगर, बस्ती, गोन्डा, बलरामपुरलगायतका स्थानबाट बढी श्रद्धालु स्वर्गद्वारी आउँछन्,’ उनले भने, ‘भारतीय भक्तजनमा स्वर्गद्वारीप्रति आस्था र श्रद्धा बढी छ ।’

दाङको भालुबाङ हुँदै स्वर्गद्वारी पुग्न सकिन्छ । दाङको घोराहीबाट रोल्पाको होलेरी हुँदै पनि स्वर्गद्वारी पुगिन्छ । भिंगृबाट १३ किलोमिटर पार गरेर स्वर्गद्वारी पुग्न सकिन्छ । सडक कालोपत्र भए पनि साँघुरो छ, त्यसैले यात्रा होसियारपूर्वक गर्नुपर्ने अवस्था छ । ठूला र बाहिरी जिल्लाका यातायातका साधनलाई स्वर्गद्वारी जान निषेध गरिएको स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेकप्रसाद भण्डारीले जानकारी दिए । ‘बाहिरी जिल्लाबाट आउने ठूला सवारीसाधनलाई यहाँको सडकको राम्रो भेउ नहुन सक्छ । त्यसैले दुर्घटना बढेपछि बाहिरका ठूला गाडीलाई भिंगृमा रोकेर अर्को गाडीमा जाने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘त्यसले दुर्घटनामा कमी ल्याएको छ ।’

तीर्थालुलाई आश्रममै खाने, बस्ने व्यवस्था मिलाइएको छ । विभिन्न व्यक्ति र संघसंस्थाले धर्मशाला आश्रमलाई सहयोग गर्दै आएका छन् । भक्तजनको भीड लाग्ने सिजनमा आश्रममा खानेबस्ने व्यवस्था मिलाउन समस्या हुने गरेको कोठारी प्रमुख भट्टराई बताए । वैशाख, पुस र कात्तिकमा भक्तजनको संख्या यहाँ ह्वात्तै बढ्छ । त्यतिबेला खुला चौरमा समेत भक्तजन बस्ने गरेका छन् । ‘भारतबाट आउने भक्तजनलाई भने खान, बस्नभन्दा दर्शनको चिन्ता बढी हुने रहेछ,’ भट्टराईले भने ।

चामल, नरिवललगायत सामग्री भक्तजनले चढाएकाबाटै पुग्ने गरेको छ । अन्य कामका लागि आश्रमले दाङमा उब्जाएको अन्न प्रयोग गरिन्छ । आश्रममा दिनमा दुई सयभन्दा बढी कर्मचारीले काम गर्छन् । संस्कृत पढ्ने विद्यार्थी सय जना जति छन् ।

कोरोना महामारीले भक्तजन ठप्प हुँदा आश्रमको आयस्रोत दुई वर्षसम्म रोकिएको थियो । त्यतिबेला बुटवल, भैरहवा, नेपालगन्ज, काठमाडौंलगायत स्थानमा पुगेर आश्रमले चन्दा संकलन गरेको थियो । आश्रममा कोरोना महामारीले पुर्‍याएको असर अझै हटिसकेको छैन ।

प्रकाशित : माघ २४, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?