कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

रुकुम बदल्ने मार्ग

८५ प्रतिशत काम सकिएको मध्यपहाडी लोकमार्गले कृषि उत्पादनकोबजारीकरण र रोजगारीमा टेवा पुग्ने आशा
महेश केसी

रुकुम पूर्व — पूर्व–पश्चिम राजमार्गको विकल्पमा रूपमा निर्माण थालिएको राष्ट्रिय गौरवको आयोजना हो– पुष्पलाल मध्यपहाडी लोकमार्ग । नेपालको पूर्व पाँचथरको चियोभन्ज्याङदेखि मध्यपहाडका २६ जिल्लालाई जोड्दै सुदूरपश्चिम बैतडीको झुलाघाटसम्म यो मार्ग फैलिएको छ । यसको कुल लम्बाइ १ हजार ८ सय ७९ किमि छ । यसमध्ये रुकुम पूर्व र पश्चिममा गरेर १ सय २५ किमि पर्छ ।

रुकुम बदल्ने मार्ग

बागलुङ र रुकुम पूर्वको सीमास्थल पाथीहाल्नेबाट दर्जनौं बस्तीलाई जोड्दै जिल्ला सदरमुकाम रुकुमकोटबाट यो मार्ग पश्चिमतर्फ अघि बढ्छ । त्यसपछि रुकुम पश्चिमको खोपिचारदेखि जिल्ला सदरमुकाम खलंगा भएर भेरी नदीको तीरैतीर चौरजहारी हुँदै जाजरकोटतर्फ लाग्छ । यो मार्गको कुल लम्बाइमध्ये रुकुम पूर्वमा ५५ किमि पर्छ भने पश्चिममा ७० किमि ।

सिस्ने–५ रुकुमकोटका मदन शाह यस मार्गलाई रुकुमको लाइफलाइन मान्छन् । रुकुमलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्न कुनै बेला एक मात्र सडकका रूपमा राप्ती लोकमार्ग थियो । वैकल्पिक राजमार्गका रूपमा मध्यपहाडी लोकमार्गले रुकुमलाई जोडेपछि यसले यहाँको विकासमा महत्त्वपूर्ण टेवा पुगेको शाहको भनाइ छ । रुकुमको उत्पादनको बजारीकरण, यहाँका जनताको व्यावसायिक विकास, रोजगार सिर्जनाका साथै यस क्षेत्रको सुन्दर प्रकृति, भाषा, कला र संस्कृतिलाई प्रचार–प्रसार गर्न लोकमार्गले निकै ठूलो अर्थ राख्ने शाहको ठम्याइ छ । ‘सडक पुग्यो भनेर मक्ख परेर मात्रै हुँदैन,’ उनले भने, ‘यसबाट अधिकतम लाभ लिन सक्नुपर्छ । यसका लागि स्थानीय सरकारले विशेष योजना बनाएर लाग्न जरुरी छ ।’

भुमे–२ काँक्रीकी ६७ वर्षीया कमेनी बुढालाई आफ्नो घरछेउ हुँदै सडक आउला र गाडी चढ्न पाइएला भन्ने कल्पनासम्म थिएन । १५ वर्षअघि जब बाटोको नापनक्सा सुरु भयो, तब पनि उनले पत्याइनन् । तर, जब मूल लोकमार्ग बन्यो, बुढालाई सपनाजस्तो लाग्दै छ । ‘हिँडेरै डाँडापाखा र पहाड छिचोलेका हामीलाई यति राम्रो सडक बनेको देख्दा खुसीले त्यसै फुरुङ फुरुङ पारेको छ,’ उनले भनिन् ।

अग्ला–अग्ला पहाड छिचोलेर लमतन्न परेको फराकिलो लोकमार्ग बनेकामा बुढा मात्रै होइन, अघिल्लो पुस्ताका जोकोहीलाई पनि सपनाजस्तै लाग्छ । सिस्ने–५, रुकुमकोटका खिमानन्द गौतम कुनै बेला नुन–तेल ल्याउन बटौली (बुटवल) गएको सम्झन्छन् । ‘सात दिन लगाएर हिँडेरै बटौली पुग्थ्यौं । नुन–तेल र कपडालत्ताको भारी बोकेर फर्कंदा अरू सात दिन लाग्थ्यो,’ उनले भने, ‘अहिले त आँगनछेउमै गाडी गुड्छ ।’

मध्यपहाडी लोकमार्ग सञ्चालनमा आउनुपूर्व रुकुमबाट सल्यान हुँदै दाङ झरेर लमहीबाट पूर्व–पश्चिम हुँदै काठमाडौं जाँदा करिब दुई दिनमा काठमाडौं पुगिन्थ्यो भने यो मार्ग सञ्चालन भएपछि रुकुमबाट बागलुङ, पोखरा हुँदै डेढ दिनमै काठमाडौं पुगिन्छ । ‘अब त दाङ हुँदै काठमाडौं जान उल्टोजस्तो लाग्न थाल्यो,’ मुसीकोट–१ रुकुम पश्चिमकी शारदा डाँगीले भनिन्, ‘मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्दा सहज र छोटो पनि छ ।’

रुकुमबाट काठमाडौं जान मध्यपहाडी लोकमार्ग प्रयोग गर्दा यात्रा रोमाञ्चक भएको अनुभव सुनाउँछन् मुसीकोट–१ का सन्तोष थापा । ‘खोला तर्दै, पहाड चढ्दै उत्तरका हिमाली दृश्यसँग समेत साक्षात्कार भएर यो बाटोमा यात्रा गर्नुको आनन्द बेग्लै छ,’ उनले भने । पश्चिमको होचो भाग चौरजहारीबाट भेरी नदी तीरैतीर हुँदै सदरमुकाम खलंगा अनि त्यहाँबाट मनोरम साँखको बस्ती छिचोलेर पूर्वको सदरमुकाम रुकुमकोट पुगी कमल दहको दर्शन गरेर भुमे हुँदै अघि बढ्नुमा छुट्टै आनन्दको अनुभव बुटवलका युवराज कँडेलले पनि बटुलेका छन् । ‘मध्यपहाडी लोकमार्गको यात्रा भनेपछि मनै फुरुंग हुन्छ,’ उनले भने, ‘यो लोकमार्गमा जति यात्रा गरे पनि थकाइ हैन, आनन्द मिल्छ ।’

यस मार्गको निर्माण ८५ प्रतिशत सकिएको आयोजना कार्यालय दैलेखले बताएको छ । रुकुम खण्डको १ सय २५ किमिमध्ये १ सय ६ किमि कालोपत्र सम्पन्न भइसकेको छ भने बाँकी १९ किमि पनि कालोपत्र गर्नका लागि आवश्यक तयारी भइरहेको आयोजना प्रमुख युवराज पोखरेलले जनाए ।

रुकुम पूर्वको भुमे र सिस्ने गाउँपालिकालाई यो मार्गले जोड्छ भने पश्चिमको चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र मुसीकोट नगरपालिकालाई पनि यस मार्गले जोड्छ । पूर्वमा दाङ घोराहीबाट रोल्पा हुँदै आउने सहिद मार्ग मध्यपहाडसँग जोडिन्छ भने पश्चिममा दाङ तुलसीपुरबाट सल्यान हुँदै आउने राप्ती लोकमार्ग पनि यस मार्गसँग जोडिन्छ । पछिल्लो समय मध्यपहाडी लोकमार्गलाई मूल मार्ग मानेर विभिन्न ग्रामीण सडकको विकास तथा विस्तार भइरहेको भूमे गाउँपालिका अध्यक्ष होमप्रसाद श्रेष्ठले बताए । यस मार्गअन्तर्गत छिमेकी जिल्ला बागलुङको निसी गाउँपालिकासँग जोडिएर सीमास्थल पाथीहाल्नेलाई साझा पर्यटकीय गन्तव्य बनाउने योजनामा गाउँपालिका रहेको अध्यक्ष श्रेष्ठले जनाए । यस मार्गअन्तर्गत रुकुम खण्डमा जम्मा १२ वटा पक्की पुल पर्ने आयोजना कार्यालय दैलेखका इन्जिनियर होमनाथ पौडेलले बताए । उनका अनुसार ११ वटा पुलको निर्माण सम्पन्न भइसकेको छ । बाँकी एउटा पुल मात्रै बन्न बाँकी छ । रुकुम पश्चिम र जाजरकोट जोड्ने चौरजहारीस्थित भेरी नदीमा बन्नुपर्ने पुल निर्माण अलपत्र छ, जसका कारण चौरजहारीसँग मध्यपहाडी लोकमार्गको सम्पर्क विस्तार हुन सकेको छैन । यहाँ पुल नबन्दा मध्यपहाडीसँग जोडिएर योजना बनाउन नसकिएको चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीले बताए । मध्यपहाडी लोकमार्गअन्तर्गत १० ठाउँमा आधुनिक सहर बनाउन पनि नेपाल सरकारले काम गरिरहेको छ । त्यसैमध्येको एउटा प्रस्तावित सहर चौरजहारी पनि हो । सहरीकरणको कामलाई गति दिन र यहाँ मानवीय गतिविधि बढाउन पुल निर्माण चाँडो गर्नुपर्नेमा प्रमुख वादीको जोड छ ।

लुम्बिनीको एक मात्र हिमाली जिल्लाका रूपमा रहेको रुकुम पूर्वका पर्यटकीय स्थल ढोरपाटन सिकार आरक्ष, पुथा र सिस्ने हिमाल, अग्ला पहाड र सुन्दर बुकी पाटन अनि सिस्नेको गुप्ता दह, कमल ताल, महत र चुन्बाङको युद्ध स्मृति संग्रहालयका साथै यहाँको भाषा कला र रीति–संस्कृतिलाई प्रचार–प्रसार गरेर यसबाट पनि लाभ लिन सकिने लेखक तथा पत्रकार सुरेन्द्र रानाले बताए । ‘यो मार्गले सहजता मात्रै थपेको छैन । यसले सम्भावनाको ढोकासमेत खोलिदिएको छ,’ उनले भने, ‘रुकुमले यसबाट अधिकतम लाभ लिन सक्नुपर्छ ।’

रुकुम पश्चिमको स्यार्पु ताल, सानीभेरी, ठूलीभेरी अनि यहाँका अन्य विभिन्न ऐतिहासिक एवं पर्यटकीय स्थलसँग पर्यटकलाई जोड्न यो मार्ग सहायक हुने पर्यटन अभियन्ता सिर्जना ओलीको भनाइ छ । ‘रुकुम हुँदै सुर्खेत, जुम्ला र डोल्पासम्म आवागमन गर्न मध्यपहाडी लोकमार्गको ठूलो भूमिका छ,’ उनी भन्छिन्, ‘काठमाडौंबाट पोखरा हुँदै रुकुम पूर्व–पश्चिम भएर डोल्पाको से–फोक्सुन्डो तालसम्म जान यो मार्गको बाटो सबैभन्दा छोटो पर्छ । तर, यसको प्रचार–प्रसार र त्यसअनुसारको विकास भने हुन सकेको छैन ।’

रुकुमका सम्भावनाको उजागर गर्दै विकाससँग जोड्न मध्यपहाडी लोकमार्गले निकै ठूलो भूमिका खेल्ने तत्कालीन जिल्ला विकास समिति रुकुमका पूर्वसभापति खेममान खड्काले बताए । ‘यसका लागि यहाँका स्थानीय सरकारले योजना बनाएर कार्यान्वयनमा लैजानुपर्छ,’ उनले भने, ‘मध्यपहाडी लोकमार्गमा कसरी धेरैभन्दा धेरै मान्छे हिँडाउने र यसबाट लाभ लिने भन्ने कुरामा स्थानीय सरकारले ध्यान दिन जरुरी छ ।’

पोखराबाट मुस्ताङसम्म आएका पर्यटकलाई रुकुमसम्मै ल्याउन सक्ने व्यावसायिक वातावरण बनाउन जरुरी रहेको उनले सुनाए । निर्माणाधीन मध्यपहाडी लोकमार्गको सम्पूर्ण निर्माण चालु आर्थिक वर्षभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको र आयोजना सम्पन्न भएपछि सम्बन्धित सडक कार्यालयमा हस्तान्तरण गर्ने आयोजना कार्यालयका प्रमुख पोखरेलले बताए ।

प्रकाशित : माघ २४, २०७९ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?