अल्लोले दिएको पहिचान

साना–ठूला अल्लो उद्योगमा ५० हजारदेखि २० लाखसम्म लगानी
टोपी, कोट, झोला, पर्सलगायत उत्पादन
काशीराम डाँगी

रोल्पा — लिबाङमा कोसेली घर सञ्चालन गर्दै आएकी हीराकुमारी घलेलाई बाहिरबाट आउने पाहुनालाई कोसेलीका रूपमा अल्लोको उत्पादन बिक्री गर्न भ्याइनभ्याइ छ । अल्लोको टोपी, कोट, झोला, पर्स र अन्य उत्पादन खरिद गर्नेहरूको यहाँ भीड लाग्छ । आफैंले प्रयोग गर्न र अरूलाई उपहार दिन यहाँ अल्लोका उत्पादन किन्न आउने गरेका छन् ।

अल्लोले दिएको पहिचान

रोल्पा आउने जोकोही आगन्तुकलाई चिनोस्वरूप अल्लोकै उत्पादन प्रदान गर्ने चलन यहाँ बढेको घलेले बताइन् । गलबन्दी, झोला, टोपी, मोबाइल पर्स खरिद गर्दा अल्लोबाटै बनाइएका सामग्री रोज्ने चलन छ । अल्लोको कोसेली उपहारस्वरूप दिन पाए आयोजक पनि खुसी हुन्छन्, लिने पनि खुसी । कार्यक्रम आयोजना हुँदा पनि आगन्तुकलाई अल्लोकै सामग्री उपहार दिने गरिएको छ । सदरमुकाममै अल्लोको सामग्रीको कोसेली घर सञ्चालन गरिरहेकी पन्थकला बुढा वलीलाई पनि अधिकांशले कोसेली सामग्री किन्दा अल्लोकै सामग्री रोजेको जानकारी छ । उनी पनि सकेसम्म उपहार बेच्दा अल्लोकै सामान दिन चाहन्छिन् । ‘अल्लो त रोल्पाको पहिचान भइसक्यो,’ उनले भनिन्, ‘यसको महत्त्व पनि बढेको छ ।’

अल्लोको प्रयोगले एकातिर अल्लोको उद्यम विस्तार भइरहेको छ भने अर्कातिर यसको खेती र उत्पादनमा पनि वृद्धि भएको छ । यसरी रोल्पामा सामुदायिक अल्लो तथा कपडा उद्योगको संख्या पनि बढ्दो छ । उद्यमीलाई अल्लो उद्योग चलाउन भ्याइनभ्याइ छ । ‘अल्लो उद्यमबाट महिलाको जनजीविका चलेको छ,’ लामो समय अल्लो उत्पादन र उद्यममा लागेकी रोल्पा नगरपालिकाकी उपप्रमुख गीता थापा आचार्यले भनिन् । आधारभूत तहका महिलाका लागि अल्लो उद्यम अपार मौका बनेको छ । अल्लोबाट जीविका चलाउनेहरूले आफ्नो घरपरिवार मात्रै चलाएका छैनन्, लालाबालाको पालनपोषण र शिक्षादीक्षा समेत दिएका छन् ।

घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका अनुसार शान्ति प्रक्रिया सुरु भएयता जिल्लामा उद्योग दर्ता एवं सञ्चालन क्रम बढेको हो । २०५२ सालको माओवादीको सशस्त्र द्वन्द्व सुरु हुनुअघि सञ्चालनमा रहेका जति पनि उद्योग थिए, तिनीहरू शान्ति प्रक्रियासम्म आइपुग्दा प्रायः खारेजीमा परे । घरेलु समिति कार्यालयका प्रमुख तारा शर्माका अनुसार २०६५ पछि मात्र रोल्पामा उद्योगको चहलपहल सुरु भएको हो । लामो सशस्त्र द्वन्द्वका कारण कतिपय उद्योग बन्द गर्नुपरेको थियो भने शान्तिपूर्ण वातावरणको अभावमा उद्योग सञ्चालन गर्न मुस्किल भएकाले सञ्चालक विस्थापितसमेत भए ।

शान्ति प्रक्रियापछि भने जिल्लामा केही उद्योग आशलाग्दो हिसाबले सञ्चालन गरिए । प्रायः अल्लोका उद्योग दर्ता भए । दर्ता भएका उद्योगका एकतिहाइ जति उद्योग अल्लो तथा धागोसँग सम्बन्धित छन् । साना–ठूला अल्लो उद्योगमा ५० हजारदेखि २० लाखसम्मको लगानी भएको छ । अधिकांश उद्योग सामूहिक वा साझेदारी रूपमा सञ्चालन गरिएका छन् । कतै कतै व्यक्तिगत रूपमा सञ्चालन गरिए पनि फस्टाउन समस्या छ । व्यक्तिगतभन्दा साझेदारी उद्योगहरू बढी प्रभावकारी देखिएका छन् । ‘उद्योगको विकास र नाफा कम भएकाले सबै साथीहरूले हात झिक्दै गए,’ रोल्पा सामुदायिक अल्लो धागो तथा कपडा उद्योगकी संस्थापक रोल्पा नगरकी उपप्रमुख आचार्यले भनिन्, ‘संस्थापक १७ जनामध्ये अहिले थोरै मात्र छौं ।’

जिल्लामै फस्टाएको मानिएको यो उद्योग शान्ति प्रक्रियापछि सदरमुकाममा स्थापना गरिएको हो । राज्य र संघ–संस्थाबाट केही रकम समेत प्राप्त यस उद्योगले हाल अल्लो उद्यमलाई जोगाएको छ । शान्ति प्रक्रियापछि लिबाङकै होमामा लिवन अल्लो धागो उद्योग, इरिबाङमा नवदुर्गा अल्लो धागो उद्योग, मिरुलको टुटुमा फुलबारी हाते कागज तथा अल्लो धागो उद्योग स्थापना भए पनि खास फस्टाउन सकेका छैनन् । कच्चा पदार्थ पाउन नसक्नु, उत्पादन बेच्न नसक्नु र आर्थिक रूपमा घाटा व्यहोरेपछि उद्योग बन्द भएको उनीहरूले सुनाए ।

रोल्पाका होमा, धबाङ, उवा, जेलबाङ, गाम, सेरम, थबाङ, मिरुल, कुरेली, राङकोट, पाछाबाङ, राँक, जंकोट, भावाङ, पाखापानीलगायतका क्षेत्रमा अल्लोको खेती हुन्छ । ‘कच्चा पदार्थ पाउन सके उद्योगलाई निरन्तर चलाउन सकिन्छ,’ अल्लो उद्योगकी सदस्य श्रीमाया रोकाको बताइन् । उद्योगका सेयर सदस्य आफैंले अल्लोको खेती गर्छन् ।

अल्लोको प्रवर्द्धन गर्न रोल्पा नगरले कार्यपालिका सदस्यलाई अल्लोका उत्पादन अनिवार्य लगाउन निर्देशन गरेको थियो । निवर्तमान नगर प्रमुख पूर्ण केसीले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको बताए । लेकाली सिस्नोको नामले चिनिने अल्लोको विरुवालाई रोल्पामा पुवा भन्ने चलन छ । स्थानीय मगर खाम भाषामा पनि पुवाको नामले अल्लोलाई बुझिन्छ । १ हजार ५ सय मिटर उँचो भू–भागमा उम्रने अल्लोको खेती गर्ने चलनसमेत छ । परम्परादेखि नै वन जंगलमा प्रशस्त पाइने अल्लोको माग बढेपछि खेती गर्ने चलन गाउँघरमा बढेको हो । पछिल्लो पटक अल्लोको माग अन्तर्राष्ट्रिय बजारमा पनि बढेको छ ।

लामो समय अल्लोको व्यापार गर्दै आएका थबाङका जुम्लेनी दिदीबहिनीले यसको व्यापारबाट अलग्गै पहिचान बनाएका छन् । ‘यसबाट राम्रो रोजगार मात्र होइन, परिचय पनि मिलेको छ,’ जुनपुरा रोकाले भनिन् । उनीहरूले अल्लोको व्यापारबाटै लिबाङमा दुई वटा घर बनाएका छन् । जुम्लेनीहरूले वार्षिक रूपमा ६० लाखजतिको कारोबार गर्छन् । उनीहरूले उत्पादन गरेको अल्लोको धागो जापान, युरोप र अमेरिकासम्म पुग्छ ।

रोल्पामा अल्लोका कपडाको मूल्य कम्तीमा १ हजार २ सयदेखि बढीमा ४ हजार २ सय प्रतिमिटर छ । बर्सेनि जिल्लाबाट अल्लोको धागो तथा कपडामात्र करिब ४ करोड बराबरको निर्यात हुन्छ । जिल्लामा करिब १५ करोड बराबरको अल्लोको वार्षिक कारोबार हुन्छ । ५० प्रतिशत सुलिचौरबाट, ३० प्रतिशत होलेरीबाट र २० प्रतिशत निगालपानी नाकाबाट अल्लो निर्यात भइरहेको छ ।

प्रकाशित : माघ २३, २०७९ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?