‘कोभिडकालमा पनि वडा र स्वास्थ्य चौकी जोड्ने संरचना निर्माण गर्‍यौं’- लुम्बिनी - कान्तिपुर समाचार

‘कोभिडकालमा पनि वडा र स्वास्थ्य चौकी जोड्ने संरचना निर्माण गर्‍यौं’

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संरचनाको पहिलो जनप्रतिनिधि र कोभिडकै कारण दुई वर्ष खेर गए पनि विभिन्न वडा र स्वास्थ्य चौकी जोड्ने पूर्वाधार निर्माणमा आफ्नो गाउँपालिका सफल भएको बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताइन् ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको लुम्बिनीको सामर्थ्यअन्तर्गत दोस्रो सत्र ‘पालिका र पूर्वाधार’ कार्यक्रममा बोल्दै उनले वडा र स्वास्थ्य चौकी अस्थायी/स्थायी बनाएर वडाहरू जोड्ने काम गरेको बताइन् ।

‘संघीय संरचनाको पहिलो निर्वाचनमा उपाध्क्ष भएको थिए । पहिलो संरचनाको जनप्रतिनिधि भएकाले सुरुमा अभ्यास र सिकाइमै बिताइयो । तीव्र गतिमा काम गर्नुपर्ने २ वर्ष कोभिडको व्यवस्थापनमै खर्चियौँ । सिंगो स्रोत‚ साधन र जनशक्ति कोभिड व्यवस्थापनमा खर्चियौँ,’ उनले भनिन्, ‘कोभिड सामान्य अवस्था भएपछि विकास निर्माणमा ध्यान दियौँ । विकास निर्माणका कामलाई तीव्र रुपमा सुचारु गर्‍यौं । स्वास्थ क्षेत्रका सेवा दिन सुरुआत गर्‍यौं ।’

पाँच वर्षको अवधिमा स्वास्थ क्षेत्रका अस्थायी/स्थाई बनाएर सेवा दिन आफूहरूले सुरु गरेको भन्दै उनले विभिन्न वडा र स्वास्थ्य चौकी जोड्ने पूर्वाधार निर्माण गरेर सेवा प्रवाह गरेको बताए ।

गाँउपालिका स्थापना भएपछि कार्यालय सञ्चालन गर्न संरचनासमेत नभएको उनले बताइन् । कर्मचारी व्यवस्थापन नभएको, व्यवस्थापन भएका कर्मचारीका लागि कुर्सी-टेबल राखेर पनि काम गर्ने वातावरण नभएको उनले बताइन् । यी सबै अप्ठ्याराका बीचमा पनि पूर्वाधार र संरचना बनाएर सेवा दिन गाउँपालिका सफल भएको उनको भनाइ थियो ।

प्रकाशित : माघ २१, २०७९ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्

ओलीले देउवालाई कसरी झुक्याएछन् भनेर बल्ल थाहा पाउँदैछु : माधव नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि सत्ता समीकरणको फेरबदलको रहस्य आफूले बल्ल बुझिरहेको बताएका छन् । उनले फेरिएको समीकरणकै कारण मुलुकमा संविधान र व्यवस्थाप्रति जोखिम निम्तिएको बताए ।

शनिबारदेखि बसेको केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनावमा लोकप्रियतावादी शक्तिले आशा जगाएर मत लिएपनि अहिले त्यसको व्यापक दुरुपयोग गरिरहेको बताए । ‘यो चुनावमा लोकप्रियतावादी शक्तिले केही गर्छन् कि भन्ने जनतामा छाप छाडे, चुनावमा नतिजा पनि पाए । तर, अहिले त्यसको परिणाम देखिन थालेको छ,’ उनले भने, ‘मन्त्री पदका लागि कुन तहको आशक्ति देखाइरहेका छन् ? त्यो छताछुल्ल छ । आफ्नो स्वार्थ जोडिएको मन्त्रालय लिएर कसरी शक्तिको दुरुपयोग गरिरहेका छन् ? त्यो पनि छताछुल्ल भएको छ ।’

उनले मुलुकमा कहिलेसम्म यस्तै राजनीतिक तलरता रहिरहने हो भनेर कुनै निश्चितता नरहेको बताए । ‘चुनावअघि एउटा समीकरण थियो, परिणाम आएपछि नयाँ समीकरण बन्यो । वास्तवमा त्यसको कारण के रहेछ भनेर मैले त भर्खरै बुझ्दैछु, देउवाजी र प्रचण्डजीको बीचमा प्रचण्डजीलाई प्रधानमन्त्री बनाउने सहमति भएको रहेछ, तर ओलीले देउवाजीलाई प्रचण्डलाई नदिनुहोस्, तपाईंलाई प्रधानमन्त्री बनाउन म सहमति दिन्छु भनेर झुक्याएछन्, अहिले बिहान पनि मैले कांग्रेसका नेताहरूलाई भेटेँ । ओलीले देउवालाई कसरी झुक्याएछन् भनेर म त बल्ल थाहा पाउँदैछु ।’

उनले ओली–दाहाल मिलेर सरकार बनाएपनि दाहालले ओलीलाई कहिलेसम्म झेल्ने हो ? भनेर कुनै ठेगान नभएको बताए । ‘अहिले नै खटपट सुरु भइसकेको छ । यो सत्ता गठबन्धन कहाँसम्म जाने हो ? राष्ट्रपतिको निर्वाचनसम्म पुग्ला कि नपुग्ला ? यस्तो तरल राजनीतिक अवस्था कहिलेसम्म जाने हो ? केही ठेगाना छैन,’ उनले भने ।

अध्यक्ष नेपालले सरकारमा बसेकाहरूबाटै संविधान र व्यवस्थामाथि खतरा रहेको बताए । ‘अहिले संसद्को रोष्टममा उभिएर संविधानको विरोध भइरहेको छ । राजतन्त्रको वकालत भइरहेको छ । राजतन्त्रको वकालत गर्नेहरू सरकारमा बसेर संघीयताको विरोध गरिरहेका छन्,’ उनले भने, ‘यसले यो संविधान र व्यवस्थाप्रति खतरा बढेको संकेत गरिरहेको छ ।’

उनले निर्वाचनमा एक लाख ३६ हजार पार्टी सदस्य भएपनि एक सदस्यले तीन जनाको मत समेत तान्न नसकेको भन्दै असन्तुष्टि पोखे । ‘निर्वाचनको परिणाम हामीले सोचेकोजस्तो भएन । हामीले १० सिट जितेपछि ३ प्रतिशत थ्रेसहोल्ड समेत कटाउन सकेनौँ । खास त्रुटि कहाँ भयो ? अहिले एकले अर्कालाई दोष लगाउने काम भइरहेको छ । तर, यसको पहिचान गरेर हामीले त्यसलाई सच्याएर अघि बढ्न आवश्यक छ,’ उनले भने ।

प्रकाशित : माघ २१, २०७९ १२:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×