

हजारौं मान्छेको भीडमा एक हातमा चमचम चम्कने खुँडा, खुकुरी वा तरबार, अर्को हातमा ढाल वा रुमाल । नयाँ पहिरन, घाँटीमा जमराको माला । सुरुमा ढाल र तरबारसहितको लडाइँको अभिनय, त्यसपछि भट्याउँदै ‘वाख्खै’, ‘वाख्खै’ भन्दै बाजाको तालमा नाचगान । पाल्पा, गुल्मी, अर्घाखाँची र प्यूठान क्षेत्रमा बडादसैंको पूर्णिमामा कोतका पटाङ्गिनीमा हुने यो रमाइलो संस्कृति सराय नाच हो ।

सामान्य बुझाइमा बडादसैंमा नाच्ने नाच भए पनि यसमा युद्धको झल्को दिने अभिनय र प्रदर्शनी रहेकाले यो विजयोत्सव पनि भएको कतिपयको तर्क छ । कतिपयले सराय भुरेटाकुरे राज्यको पालामा हुने युद्ध भन्छन् त कतिले दैत्य र नवदुर्गाको लडाइँ र विजयको गाथाका रूपमा अर्थ्याउँछन् । सराय शब्द मगर भाषाको ‘सरङ्या स्याई’ बाट अपभ्रंश भएको लेखक मीन श्रीश मगरको भनाइ छ । ‘सरङ नक्कल गर्नॅ, ‘सरङ्या’ नक्कल गर्ने व्यक्ति र ‘स्याई’को अर्थ नाच हुन्छ,’ उनले आफ्नो ‘भार्से–अर्कुल राज्यको इतिहास’ बाट उद्धृत गर्दै भने, ‘युद्धको नक्कल वा अभिनय गरेर नाचिने नाचको अर्थमा सराय नाच जनजिब्रोमा प्रचलित भएको बुझिन्छ ।’
वास्तविकता जे भए पनि सराय नाच युद्ध र विजयोत्सव हो भन्ने नाचको प्रकृतिमै झल्कन्छ । किनभने, त्यसमा युद्धको अभिनय नाचका रूपमा प्रस्तुत गरिन्छ । ऐतिहासिक १२ मगराँत तथा चौबीसे राज्यको राजधानी धुर्कोट कोटमा सराय नाचको परम्परा धान्दै आएका केरमान गन्धर्वका अनुसार सराय नाचको क्रममा सुरुमा ‘छिमेली’ नाच हुन्छ, दोस्रोमा ‘हु–हु’, तेस्रोमा ‘तुरी’, चौथोमा ‘पट्टा’, पाँचौंमा ‘सराय नाच’ र छैटौंमा ‘देवता भित्र्याउने’ चलन छ ।
उनका अनुसार छिमेलीमा ५/५ जनाको लाइन लगाएर हातमा ढाल, तरबार, खुँडा, कुखुरी र रुमाल लिएर नाच्ने गरिन्छ । यो हेर्दा सैनिकहरू पंक्तिबद्ध भएर परेड खेलेको जस्तै देखिन्छ । ‘हु–हु’ मा हतियार समाएका दुई समूह आमने/सामने भई एकअर्कालाई झम्टन गएजस्तै गरी नाच्छन् । यो एक समूह अर्कोमाथि आक्रमण गर्न गएजस्तो देखिन्छ । ‘तुरी’ खेल्दा सराय नाच खेलाउने मुख्य नाइकेमध्ये दुई जनाले एकअर्कामा सवाल–जवाफ गर्दै नाच्छन्, जुन युद्धमा कमान्डरहरूले अन्तिम लडाइँपूर्व वार्ता गरेजस्तो देखिन्छ । त्यसपछि खेलिने पट्टामा दुई जना मात्र हातमा ढाल लिएर लडाइँ गरेजस्तै अभिनयमा नाच्छन् । जुन कमान्डरहरूको अन्तिम लडाइँजस्तो देखिन्छ । यो क्रम सकिएपछि कोटको प्रांगणमा गोलो घेरामा एक जनाले विभिन्न कथा भन्दै भट्याउने र अरूहरूले ‘वाक्खै’ वा ‘हो’ भनेर दिनभर नाच्ने चलन छ । यी सबैमा फरक–फरक तालमा बाजा बजाइन्छ र त्यही तालमा अभिनय गर्ने तथा नाच्ने गरिन्छ । नाच सकिएपछि सराय बक्साउने चलन छ । जसमा सबै हतियार एक ठाउँमा जम्मा पारी कोटभित्रबाट फूल–अक्षता चढाएर पूरा गरिन्छ । पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, स्याङ्जा र प्यूठानका विभिन्न शक्तिपीठहरूमा सराय नाचको ठूलो महत्त्व छ ।
सराय नाच कसरी पहाडमा भित्रियो भन्नेबारे फरक–फरक धारणा रहेको पाइन्छ । यो पर्व सेनराजाहरूसँगै भारतको राजस्थानबाट आएको पाल्पाका लेखक तथा विश्लेषक अनिल श्रेष्ठले बताए । ‘राजस्थानबाट सेनहरू आउँदा सराय नाच पनि ल्याएका हुन् भन्ने विश्वास छ,’ उनले भने, ‘त्यसअघि खस साम्राज्यको पालामा यस्तो प्रचलन रहेको पाइँदैन ।’ अर्घाखाँचीमा अर्घा भगवती मन्दिर र कोटमुनि पाथ्रावाङको शिलामा रक्तार्ध दिने गुरुङ राजालाई हराएर ठकुरी राज्य स्थापना गरेका जिल्ला राईले विजयोत्सवका रूपमा सराय खेलाउन र खेलाडीलाई दही केरा खुवाउन सुरु गरेका थिए भन्ने मान्यता छ ।
प्यूठानका केवी मसाल ५ सय ६३ वर्ष पहिले दानवीय स्वभावका जाँट राजालाई मारेको सम्झनामा सराय नाच्ने परम्परा थालिएको किंवदन्ती रहेको जनाउँछन् । ‘जाँट वंशीय राक्षसी स्वभावका ती राजाले चाहेका बेला स्थानीयले बालबालिका (बलि) चढाउनुपर्ने कारण आक्रान्त बनेर उनकै भारदार र श्रीमतीकै योजनामा राजालाई लखेटेर डल्ले भन्ने ठाउँमा मारेको किंवदन्ती छ,’ उनले भने, ‘त्यसैले यतातिर डल्ले सराय भनिन्छ ।’
गुल्मीको धुर्कोटमा हुने सराय नाच अन्यत्रभन्दा फरक रहेको धुर्कोटका केरमान गन्धर्वले बताए । ‘हाम्रा बाजेबराजुदेखि बुबा र बुबाको शेषपछि हामी छोराहरूले सरायका सबै तरिका सिकाउँदै आएका छौं,’ उनले भने, ‘हामीले सबैभन्दा पहिला धुर्कोट कोटबाटै सराय नाच सुरु भएको भन्ने सुन्दै आएका हौं ।’
धुर्कोट राज्य साढे ४ सय वर्ष पहिला १२ मगराँतअन्तर्गतको भुरेटाकुरे राज्यसमेत रहेकाले अन्य चौबीसे राज्यभन्दा पुरानो राज्य पनि हो । त्यसैले भुरेटाकुरे राजाका पालामा सुरु भएको भनिएको र नाचको क्रममा युद्धका सबै प्रक्रिया पूरा गरेको देखिने भएकाले धुर्कोटको सराय अन्यत्रभन्दा कथानक छ । अध्येता दीन पन्थीका अनुसार सराय नाच पहिला मुख्य कोटहरूमा खेलिने भए पनि अहिले नयाँ बनेका मन्दिरहरूमा पनि खेल्न थालिएको छ । पाल्पाको छहरामा दमिनी सराय नाच चर्चित छ ।
अहिले सराय पहाडी जिल्लाबाट विस्तार भएर तराई र गाउँबाट सहरसम्म पुगेको त्रिभुवन विश्वविद्यालयका विद्यावारिधि शोधार्थी गणेश श्रीपालीको भनाइ छ ।
प्रकाशित : माघ २१, २०७९ ०८:०४