कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीका गौरव

नेपालगन्ज, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, अर्घाखाँची — उमेरले ८५ वर्ष पार गरेका अब्दुल लतिफ शौक आफ्ना गजलमा जवानीको आगो ओकल्छन् । उर्दूभाषी सायरमध्ये पुराना र चर्चित अब्दुल ख्यातिप्राप्त गजलकार हुन् । नबाबहरूको सहर लखनउका सायरसमेत उनको स्वरमा जादु देख्छन् । 

लुम्बिनीका गौरव

अब्दुलको जवानी बित्यो । तर जोस उस्तै छ । मुसायरा अर्थात् गजलकारको रात्रिकालीन भेला कहाँ र कहिले हुँदै छ भनेर उनी चियोचर्चो गरिरहन्छन् । नयाँनयाँ गजलका पुलिन्दा पोको पार्छन् । ‘लौरो टेकेरै भए पनि त्यस्ता कार्यक्रममा जान्छु,’ इदगाहरोडस्थित घरबाट निस्कँदै गरेका अब्दुलले भने, ‘हरेक महिनाको अन्तिम शनिबार कुनै न कुनै ठाउँमा भेला हुन्छौं, नयाँनयाँ गजलका साथ ।’

बाहिरी संसार देख्ने आँखा कमजोर भइसकेका छन् । तर, उनी घरभित्रै बसेर पनि गजलमा संसार देख्ने मात्र होइन, लेख्छन् पनि । माया, प्रेम, समर्पण र त्यागका माला बुन्छन् । उनका गजलका हरेक थुँगामा देशको सुगन्ध आउँछ । मुसायरामा पस्किन्छन् । ‘त्यतिबेला वाहवाही गर्दै जुरुक्कजुरुक्क उठेर क्या खुब भन्नेहरूको कमी हुँदैन,’ गजल भनेपछि हुरुक्कै हुने शिक्षिका सुधा कार्कीले भनिन्, ‘भाषागत हिसाबले पनि उर्दू गजल ओजपूर्ण हुन्छन् ।’

मुसायराका सायरका शब्दशब्दमा मिठास हुन्छ । जसले मन र मस्तिष्क छुन्छ । ‘मुसायरालाई मौलिक संस्कृति तथा साहित्यको जादूमयी र अद्भुत कलाको प्रस्तुति भन्दा फरक पर्दैन,’ अर्का सायर मुस्तफा अहमद कुरइसीले भने, ‘अहिले समय घर्किंदै जाँदा उर्दू भाषामा गजल अर्थात् शेर लेखनमा संलग्न सायरहरूको दाह्री–कपाल फुल्दै गएको छ । नयाँ र युवा जमातले मन खुम्च्याउँदा अबको भविष्य पहिलेजस्तो देखिँदैन ।’ त्यसैले उर्दू भाषा र साहित्यले संरक्षण नपाएकाले पनि सहरमा मुसायराबाट सायरहरू टाढिँदै गएका हुन् ।

नेपालगन्जमा मोल्वी गुलाम वारिस र मोहम्मद फारुक आरिफले २०३० सालमा गुल्जार–ए–अदब र बज्मे अदब गठन गरेपछि नै मुसायराले यहाँ वामे सर्न थालेको बताइन्छ । २०३३ सालमा उर्दू साहित्यकारहरूले मुसायरालाई अझै उचाइमा पुर्‍याए ।

व्यवस्थित बस्ती : बर्मेली टोल

बर्माको मेम्युबाट ०२३ सालमा मनमाया भट्टराई भैरहवा आएकी थिइन् । १५ जनाको परिवारको साथ लागेर यहाँ आउँदा मनमाया २३ वर्षकी थिइन् । मनमायाको परिवार बर्मामा गाई पाल्ने र दूधजन्य उत्पादनको कारोबारमा संलग्न थियो ।

हालको बुद्धचोकदेखि पूर्वतर्फ ३ कट्ठा जमिन लिएर उनको परिवारले घर बनायो । त्यतिबेला यहाँ एकाध घर मात्रै थिए । ती पनि बर्माबाटै आएका नेपालीका । ‘त्यतिबेला भैरहवामा बस्ती पातलो थियो । स–साना झुपडी घर मात्रै थिए,’ सिद्धार्थनगर नगरपालिका–९ निवासी ८० वर्षीया भट्टराईले सुनाइन्, ‘पहिल्यै बर्माबाट आएका आफन्तले हामीलाई यहाँ बस्न सल्लाह दिए । हामीले पनि आफन्तलाई त्यही सल्लाह दियौं । त्यसपछि यहाँ बाक्लो बस्ती भयो ।’

एउटा बस्तीदेखि अर्को बस्तीको दूरी झन्डै २ किलोमिटर । झुपडी बस्ती । १०–१२ घरको एउटै साझा आँगन । यस्तै सामाजिक परिवेशमा भैरहवा आएर व्यवस्थित ढंगबाट सामूहिक बसोबास गर्न थालेका थिए, बर्मेली नेपालीले । ०२१ सालमा बुबाको हात समात्दै बर्माको मेम्युबाट भैरहवा आएका थिए, शंकर घिमिरे । ‘त्यतिबेला भिनाजुले डोरीले जग्गा नाप्दै घडेरी छुट्याएको सम्झना छ,’ घिमिरेले भने, ‘त्यतिबेला ८ बिघा जमिन किनेर घडेरी छुट्याएका थियौं ।’

घरअगाडि गेट, फूलबारी, हरियो दुबोसहितको टहल्ने मैदान । बीचमा आधुनिक घर । घरपछाडि तरकारीबारी र अगाडि पार्किङ । बस्तीको रेखदेख र सुरक्षाका लागि सामूहिक रूपमा राखिएका चौकीदार । यही आधुनिक र व्यवस्थित बस्तीको नाम रह्यो– बर्मेली टोल । ०२० सालमा तत्कालीन राजा महेन्द्रले बर्मा भ्रमणका बेला त्यहाँ उन्नति गरेका नेपालीलाई स्वदेशमै फर्केर व्यवसाय गर्न आग्रह गरेका थिए । बर्मामा दुःख पाएका कतिपय नेपालीलाई निःशुल्क जग्गा उपलब्ध गराउने राजाको वचन थियो । ‘नेपालबाट बर्मा गई बस्न थालेका नेपालीका सन्तानले उमेर बढ्दै गएपछि त्यहाँका रैथाने समुदायमा बिहेबारी गरेर नेपाली परम्परा र संस्कृति बिलाउने हो कि भन्ने चिन्ता थियो,’ घिमिरेले भने, ‘राजा महेन्द्रले स्वदेश फर्किन भनेपछि कमाएको सम्पत्ति लिएर आयौं ।’

बर्मेली टोलले धेरैलाई अनुकरणीय सन्देश दिएको संस्कृतिविद् प्राध्यापक गीतु गिरीले बताए । ‘यस बस्तीले हामीलाई कसरी सामूहिक एकतामा जुट्न सकिन्छ र एकअर्काको सुखदुःखमा साथ दिन सकिन्छ भन्नेबारेमा सन्देश दिएको छ,’ उनले भने ।

डाँडैमा बल्कोट पौवा

अर्घाखाँचीको बल्कोट पौवा (परशुरामेश्वर गुठी) को ऐतिहासिक महत्त्व छ । जंगबहादुर राणाको न्वारान यहीं भएको बताइन्छ । जंगबहादुरका बुबा बालनरसिंह आर्मी अफिसर थिए । उनी बारुदखाना प्यूठानका प्रमुख थिए । जुम्लाको सिँजा प्रान्तमा गुठीको जग्गाको विवाद बढेपछि १८६९ मा उनलाई जुम्ला खटाइयो । श्रीमती गणेशकुमारीलाई जुम्ला लिएर गए । जुम्लामै उनी गर्भवती भइन् । त्यसबेला गर्भवती माइती जाने चलन थियो । जुम्लाबाट माइती गोरखा जाने क्रममा वाङ्लाको मथुरामा आइपुग्दा गणेशकुमारी बिरामी परिन् । १८७४ असार ७ मा मथुरा जंगलमा सात महिनामै जंगबहादुरको जन्म भयो ।

जंगबहादुरको न्वारानको नाम वीरनरसिंह कुँवर रहेको इतिहासप्रति रुचि राख्ने नारायण भट्टराई बताउँछन् । पौवा नजिकैको मथुरा लाम्पाटीमा जन्मेका राणाको खनाल थरका ब्राह्मणले न्वारान गरिदिएका हुन् । मामा माथवरसिंह थापाले जंगबहादुर नाम राखिदिएको बताइन्छ । जंगबहादुरले राजा सुरेन्द्रबाट राणा उपाधि पाएका हुन् । राणा उनको थर थिएन । कालान्तरमा यो उनको थर हुन पुग्यो । श्री ३ महाराज प्रधानमन्त्री जंगबहादुर राणाको पालामा तत्कालीन कर्नेल सनकसिंह टण्डनको नेतृत्वमा कालिगडले आधुनिक कलात्मक शैलीमा बनाएको बल्कोट पौवा र त्यसभित्रका मठमन्दिर असाध्यै सुन्दर र आकर्षक छन् । निर्माण सम्पन्न गर्न १० वर्ष लागेको थियो ।

जंगबहादुर राणा प्रधानमन्त्री भएपछि आफ्ना जेठान सनकसिंह टण्डनलाई पठाएर आफू जन्मेको ठाउँ मथुरामा उनले दरबार बनाउन लगाएका थिए । कलात्मक रूपमा निर्मित बीसखुट्टे दरबार नेपालमै नौलो मानिन्छ । दरबार नजिकै मथुराधाम छ । उक्त स्थानमा द्वापरयुगमा भगवान् श्रीकृष्णले बाललीला गरेको किम्वदन्ती छ । योगी नरहरिनाथले मथुरामा कोटिहोम लगाई यस स्थानको महिमा अझ उँचो बनाउने काम गरेका थिए । पौवाका विषयमा तत्कालीन राजा श्री ५ सुरेन्द्र शाहको पालामा चारवटा लालमोहर लगाएका थिए । कर्नेल टण्डनको पालामा बल्कोट पौवा, मथुरा लामपाटी पौवा, गुल्मी र पाल्पाको सिमानामा रहेको मनवाक पौवा, ऋषिको बगैंचा, अर्गली बगैंचा, जोर्तेको पौवा र बाटाका गौमुखी धारा निर्माण भएका थिए ।

छत्रदेव गाउँपालिका र प्रदेश सरकारको सहयोगमा बल्कोट पौवा मर्मतसम्भार गरी चिटिक्क पारेपछि थप आकर्षक बनेको छ । काष्ठकलाको अद्भुत नमुना रहेको पौवासँगै सत्तल बुर्जा मन्दिर तथा बगैंचा, विशाल घण्टा यहाँका थप आकर्षण हुन् ।

रेसुंगाको सुन्दरता

गुल्मीको रेसुंगा त्रेतायुगमा ऋषि र स्वामीहरूले तपस्या गरेको धार्मिक एवं पौराणिक स्थल हो । सदरमुकाम तम्घासबाट ७ किमि उकालो पार गरी ९ सय ४ सिँढी चढेपछि रेसुंगाको टुप्पोमा पुगिन्छ । ०४२ सालमा योगी नरहरिनाथ रेसुंगा पुगेर एकमहिने कोटिहोम लगाएर बालेको यज्ञशालाभित्रको अखण्ड ज्योति अहिलेसम्म प्रज्वलित छ । समुद्री सतहबाट २ हजार ३ सय ४७ मिटर उचाइमा रहेको रेसुंगाको मनोरम दृश्यले पर्यटकीय सुन्दरता एकनासले झल्काइरहेको छ । बिहानी घामसँगै टल्किने धौलागिरि, अन्नपूर्ण र मनास्लु हिमालसहितका अन्य नीलगिरि, माछापुच्छ्रे हिमशृंखला र बक्ररेखा आकारमा बनेका गुल्मी र बागलुङतर्फका पर्वतीय दृश्य यहाँबाट सहजै अवलोकन गर्न सकिन्छ ।

त्रेतायुगमा ऋष्यशृंगीले तपस्या गरेकाले यसको नाम रेसुंगा रहन गएको किम्वदन्ती छ । यहाँ हजारौं ऋषिले तपस्या गरेको विश्वास छ । रेसुंगामा तपस्या गर्नेमध्ये चार ऋषिको महत्त्व र इतिहास यस क्षेत्रमा प्रख्यात छ । तीमध्ये ऋष्यशृंगी एक हुन् । अन्य तीन स्वामी हुन् । शशिधर, लक्ष्मीनारायण र यदुकानन्द स्वामीले पनि यहाँ तपस्या गरेका थिए । रेसुंगामा १९औं शताब्दीमै तपस्या सुरु भएको पाइन्छ । रेसुंगा तपोभूमिका अर्वाचीन समयका सन्त शशिधर स्वामी हुन् । उनी १९औं शताब्दीका प्रकाण्ड विद्वान् एवं जोसमनी सम्प्रदायका प्रवर्तक मानिन्छन् । १८०४ मा जन्मिएका शशिधरले भारत गुजरातको गुनागढमा पुगेर ‘भुरे बाबा’ सँग दीक्षित भएको बताइन्छ । शशिधरले १८५० देखि १९०० सम्म यस क्षेत्रमा बसेर कठोर योग साधना गरी सिद्धि प्राप्त गरेपछि नै रामबुद्धमुनिलाई दीक्षित गराएको इतिहास छ ।

अर्का तपस्वी लक्ष्मीनारायण स्वामी शशिधरकै छोरा हुन् । ११ वर्षदेखि बालतपस्वी र बालब्रह्मचारी भएका लक्ष्मीनारायणको तपस्या निकै कठोर थियो । उनले कठोर तपस्याबाटै नरसिंह अवतार लिएको उल्लेख छ ।

३ हजार ४ सय हेक्टर क्षेत्रफलमा फैलिएको रेसुंगा जैविक विविधतायुक्त थलो पनि हो । नेपालमा पाइने झन्डै ९ सय प्रजातिका चरामध्ये २ सय ३० प्रजातिका चरा रेसुंगामा फेला परेका छन् । २८ प्रजातिका जीवजन्तुको बसोबास रहेको रेसुंगा नगरपालिकाका पूर्वप्रमुख एवं प्रदेश सांसद डिल्लीराज भुसालले बताए ।

पाल्पाली वैभव

पाल्पा अहिले जिल्लाको नाम हो । तर प्राचीनकालमा यो राज्यको नाम थियो । इतिहासविद्हरूका अनुसार मुकुन्द सेन प्रथमको शासनकालमा पाल्पा राज्य पूर्वमा बराहक्षेत्र, पश्चिममा रुरु क्षेत्र, उत्तरमा मुक्ति क्षेत्र, दक्षिणमा हरिहर क्षेत्रसम्म फैलिएको थियो । मुकुन्द सेनको निधनपछि भने पाल्पा राज्य टुक्रिँदै गयो । कालान्तरमा छुट्टै राज्यका रूपमा पनि कायम रहन सकेन । सेनकालीन पाल्पाको इतिहास अध्येता तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक कर्णबहादुर बानियाँका अनुसार प्राचीनकालमा यस क्षेत्रमा मगर मुखियाहरूका स–साना भुरेटाकुरे थुम राज्य थिए । बाह्रौं शताब्दीदेखि पन्धौं शताब्दीसम्म खस राज्यको प्रभाव थियो । पन्ध्रौं शताब्दीमा खस राज्य विघटन भई बाइसी र चौबिसी राज्य बने । पाल्पा तिनैमध्ये एक थियो । ‘१५५० सालमा रुद्र सेनले पाल्पा राज्य स्थापना गरेका हुन् । यो १८३१ सालसम्म कायम रह्यो,’ बानियाँले सुनाए ।

पाल्पा राज्यको राजधानी हार्थोक (रिब्दीकोट गाउँपालिका–३, खस्यौली) थियो । ‘त्यो क्षेत्र अहिले जंगल बनेको छ । पुराना भग्नावशेष, संरचना संरक्षण हुन सकेन,’ बानियाँले भने, ‘यस्ता कुरा जेजस्तो अवस्थामा छन् वा पुरिएको भए खोतलेर, घेराबार गरेर राख्न सके पर्यटकीय क्षेत्र र अध्ययन गर्नेहरूका लागि राम्रो हुन्थ्यो ।’ यसको संरक्षणमा स्थानीय सरकारले नै तदारुकता देखाउनुपर्ने उनको भनाइ छ । इतिहास अध्येता तानसेन नगरपालिका–३, वसन्तपुरका निर्मल श्रेष्ठका अनुसार पुर्नाकोटको दरबार आगलागी भएपछि महादत्त सेनले तानसेनको श्रीनगरमा राजधानी सारेका हुन् ।

यस क्षेत्रमा रहेका भग्नावशेषलाई संरक्षण गर्दै शिलालेख र ब्रोसर तयार गर्न जरुरी रहेको श्रेष्ठले बताए । ‘पर्यटक आएनन्, पाल्पा सुनसान भयो भन्ने मात्र होइन, पुरानो वैभव फर्काएर यसलाई गुलजार बनाउने प्रयास थाल्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि ऐतिहासिक, पुरातात्त्विक, सामरिक क्षेत्र पहिचान गर्नुपर्छ । त्यसको संरक्षण गर्नुपर्छ ।’ मध्यकालमा मर्स्याङ्दीदेखि पश्चिम प्यूठानसम्मको इलाकालाई ‘बाह्र मगरात’ भनिन्थ्यो । ‘मगरहरूको विषयमा अध्ययन नै भएको छैन,’ अध्येता श्रेष्ठले भने, ‘मुलुकभर लाखौं मगर छन् । यो उनीहरूको अध्ययनको केन्द्र बन्न सक्छ ।’

पाल्पाका अन्तिम सेनवंशीय राजा पृथ्वीपाल हुन् । उनलाई रणबहादुर शाहले काठमाडौंमा बोलाएर षड्यन्त्रपूर्वक हत्या गरे अनि अमरसिंह थापाको नेतृत्वमा पाल्पा कब्जा गरे । ‘पाल्पाली इतिहासको वैभव जोगाउन कसैमा पनि चासो छैन,’ अध्येता श्रेष्ठले भने ।

नेपाल–अंग्रेज युद्धसँग प्रत्यक्ष सहभागी भएको जिल्ला हो पाल्पा । तानसेनका तैनाथवाला खड्गशमशेरले फुहररको सहयोगमा गौतम बुद्धको जन्मस्थलको चिनारी दिलाउने अशोक स्तम्भ पत्ता लगाएका हुन् । प्रेमको प्रतीक ‘रानीमहल’ जस्तो संरचना यहीं निर्माण गरिएको छ । यहाँका इँटा वा महत्त्वपूर्ण सम्पदा हराए, नासिए । राज्य सञ्चालकहरूले यसको जगेर्नामा ध्यान दिएनन् ।

अर्गलीको हृषिकेश, रानीमहल, भैरवस्थान, तानसेन, प्रभासलगायत स्थानमा रहेका इँटा र शिलालेख पाल, सेनकालीन मूर्तिकला छन् । यस्ता कला कोलकाताको संग्रहालयमा मात्र भेटिने श्रेष्ठ बताउँछन् ।

संस्कृत व्याकरणको उद्गम थलो

पाणिनि तपोभूमि अर्घाखाँचीको पणेना लेकमा अवस्थित छ । पाणिनि गाउँपालिका–१ मा पर्ने यो तपोभूमि विश्व भाषा सम्पदाको प्रमुख उद्गमस्थल हो । जहाँबाट संस्कृत भाषाको व्याकरण रचना भएको थियो । विश्वकै प्राचीन ग्रन्थ ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद संस्कृत भाषामै लेखिएका छन् । संस्कृत व्याकरणका प्रणेता पाणिनिलाई व्याकरणका पिता पनि भनिन्छ । धार्मिक ग्रन्थअनुसार पाणिनिले पणेना लेकमा लामो समय शिवको तपस्या गरेपछि संस्कृत व्याकरणको रचना गरेको बताइन्छ ।

पाणिनिको तपस्याले भगवान् शिव प्रसन्न भएर डमरु बजाउँदै अइउण्, ऋलृक, एओङ्, ऐऔच्लगायत १४ सूत्रको स्वर निकालेका थिए । तिनै सूत्रबाट पाणिनिले संस्कृत व्याकरण रचना गरेका हुन् । तिनैका आधारमा लघुसिद्धान्त, मध्यसिद्धान्त र सिद्धान्तकौमुदी रचना गरेको संस्कृतविज्ञहरू बताउँछन् । पाणिनिले विश्वकै सर्वोत्कृष्ट व्याकरण अष्टाध्यायी पनि लेखेका छन् ।

पणेना लेक तपोभूमिमा पाणिनि र उनको तपस्यासँग सम्बन्धित आठ मन्दिर छन् । सिद्धेश्वर महादेव मन्दिर २९ औं शिव मानिने कपिलबाट बनाइएको बताइन्छ । नजिकै राधाकृष्ण मन्दिर छ । पाणिनिको सम्झनास्वरूप पाणिनि मन्दिर बनाइएको हो । पछिल्लो समय ०१८ सालदेखि प्रत्येक वर्ष पुराण लगाइँदै आएको पाणिनि तपोभूमि संरक्षण समितिका अध्यक्ष रुद्रप्रसाद पोखरेलले बताए । तपोभूमिको बीचमा दह छ । दहको पानीमा नुहाउँदा पुण्य आर्जन हुने भन्दै साउन, माघ र बालाचतुर्दशीमा यहाँ भक्तजनको भीड लाग्छ । भक्तालुका लागि पाणिनि धर्मशाला बनाइएको छ ।

प्रकाशित : माघ २१, २०७९ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?