दृष्टि फर्किँदा हर्षित- लुम्बिनी - कान्तिपुर समाचार

दृष्टि फर्किँदा हर्षित

माधव अर्याल

पाल्पा — पूर्वखोला गाउँपालिका–४, देवीनगर वलीपोखराका नरबहादुर जर्घाले एउटा आँखाले देख्न नसकेको वर्षौं भएको थियो । एउटा आँखाले नदेख्ने भएपछि एउटाको भर पर्नु परेको थियो । गाउँपालिकाले गाउँमा चलाएको आँखा शिविरमा देखाए । उनलाई शल्यक्रिया गर्नुपर्छ भनेपछि चिन्ता परेको थियो । गाउँपालिकामै निःशुल्क आँखाको शल्यक्रिया गर्न पाउँदा उनी खुसी छन् ।

‘तानसेन वा भैरहवा गएर आँखाको शल्यक्रिया गर्नु परेको भए १५/२० हजारले पुग्दैनथ्यो,’ उनले भने, ‘अहिले गाउँमै त्यो पनि पैसा नतिरिकन शल्यक्रिया गरेर देख्ने भए यसैमा खुसी लागेको छ ।’

देवीनगरकै कुमारी बारघरेले एउटा अक्षर दुई वटा देख्ने, तिरमिर हुने, घरि देख्ने नदेख्ने भएपछि गाउँको शिविरमा पुगिन् । आँखा जाँच गर्दा मोतिबिन्दु लागेको थाहा भयो । शल्यक्रिया गर्नुपर्छ भनेपछि उनलाई रकम अभाव थियो । तर गाउँपालिकाले निःशुल्क शल्यक्रिया गर्ने थाहा पाएपछि भने कुनै डर नमानिकन शल्यक्रिया गराइन् । ‘मलाई अब आँखाले देख्न पाइएला जस्तो लागेको थिएन,’ उनले भनिन्, ‘राम्रोसँग देख्न पाउँदा निकै खुसी लागेको छ ।’ जर्घा र बारघरे मात्र होइन, सिलुवा, रिङनेरह, बीरकोट, जल्पा, देवीनगरका ४७ जना मोतिबिन्दु र अन्य समस्या भएकाहरुले आँखा देख्न पाएका हुन् ।

‘आँखाले नदेख्ने भएपछि धेरै डर हुने रहेछ,’ रिङनेरहका हिकबहादुर दर्लामीले भने, ‘अहिले भने मज्जाले देख्न पाएको छु । धेरै खुसी लागेको छ ।’ एक रुपैयाँ खर्च नगरी दृष्टि फर्केपछि उनलाई अहिले भने पुनः संसार देख्न पाएको जस्तो भएको छ । ‘तानसेन, भैरहवा जानलाई ३०/४० हजार खर्च हुन्छ भन्ने सुनेर यत्तिकै बसेको थिएँ,’ उनले भने, ‘अहिले धेरै फेरी राम्रोसँग देख्न पाउँदा निकै खुसी लागेको छ ।’

पूर्वखोला गाउँपालिका र स्वास्थ्य शाखाको आयोजना साथै पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनको प्राविधिक सहयोगमा गरिएको मोतिबिन्दुको निःशुल्क शल्यक्रियाले विपन्न, अःसहाय परिवारका धेरैले आँखाको ज्योति फर्किएकामा खुसी लागेको सुनाए । गाउँपालिका अध्यक्ष नुनबहादुर थापाका अनुसार गाउँपालिकाको नीति तथा कार्यक्रममा सबै वडामा आँखा शिविर राख्ने निर्णय भएअनुसार स्क्रिनिङ गरिएको थियो । गाउँपालिकाको ६ वटै वडामा ६ सय २६ जनाले आँखा परीक्षण गराएकामा ७० जनालाई मोतिबिन्दु देखिएको थियो । गाउँगाउँमा पुगेर शल्यक्रिया गर्नु पर्ने बिरामीहरुको छनोट गरेर गाउँपालिकामा ल्याएर शल्यक्रिया गरिएको हो ।

‘कतिपयले शल्यक्रिया गर्न डराएको पनि पाइयो,’ उनले भने, ‘सकेसम्म धेरैलाई सहभागी गराउने भन्ने भए अनुसार ७० जनामध्ये ४७ जनाको शल्यक्रिया गरिएको छ ।’ सिलुवा क्षेत्रका २२ जनाको कालीगण्डकी आँखा अस्पताल रामपुरमा शल्यक्रिया गरियो । बाँकी २५ जनाको मंगलबार पूर्वखोला गाउँपालिका–३, रिङनेरहमा निःशुल्क शल्यक्रिया गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर सारुले बताए ।

शल्यक्रियाका लागि अप्थल्मलोजिष्ट डा. सुचन पुन र उनका सहयोगीहरु आउटरिच कोअर्डिनेटर सन्तोष दर्जी, अप्थल्मटेक्निसियन पुष्पा थापा, मीनबहादुर कार्की, शम्भु आचार्य लगायतले सघाएका थिए । शल्यक्रिया गरेका बिरामीहरुको बुधबार आँखा पुनः परीक्षण गरी घर पठाइएको उनले बताए । भौगोलिक विकटता र विपन्नताका कारण आँखा नदेखे पनि कसैलाई नभन्ने र देख्न छाडेपछि दृष्टिविहिन भएर बस्न नदिनका लागि मोतिबिन्दु देखिएकाहरुको शल्यक्रिया गर्ने व्यवस्था गाउँपालिकाले मिलाएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए ।

‘अझै पनि आँखाले नदेख्दा झारफुक गर्ने र लामाधामी गर्ने पनि धेरै छन्,’ उनले भने, ‘कतिपयको अन्धविश्वासका कारण अझै पनि शल्यक्रिया गर्न नमानेका हुन् ।’ फकाइफुलाइ गरेर ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए । निःशुल्क स्वास्थ्य शिविर, आँखा शिविरमा देखाउन समेत लजाउने र ढाट्ने प्रचलन रहेको रिङनेरह स्वास्थ्य चौकी प्रमुख श्रीराज आचार्यले बताए । कतिपय स्थानमा पाल्पास्थित लायन्स लाकौल आँखा अस्पतालले गाउँमा शिविर राख्ने, स्क्रिनिङ गर्ने र तानसेनमा शल्यक्रियाका लागि बोलाउने गर्छ । विद्यालय, संघसंस्था, स्थानीय तहसँगको सहकार्यमा पनि आँखा जाँच गर्ने र कतिपयको निःशुल्क शल्यक्रिया गरिँदै आएको छ ।

प्रकाशित : माघ १९, २०७९ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको प्रवेश सुरुङमा 'ब्रेक थ्रु'

सम्झना रसाइली

तनहुँ — जिल्लाको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुरको झापुटारमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवेश सुरुङ छेडिएको (ब्रेक थ्रु) छ । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४३६ मिटर लम्बाइ र ७ मिटर व्यास भएको प्रवेश सुरुङको मंगलबार 'ब्रेक थ्रु' गरिएको हो । 

व्यास नगरपालिका-५ बेतेनी हुँदै बाँधतर्फ जाने उक्त सुरुङलाई आयोजनाको निर्माण सम्पन्न भएपछि पनि स्थायी रुपमा प्रयोग गरिने छ । आयोजनाको निर्माण सम्पन्न भएपछि यही सुरुङ हुँदै बाँधतर्फ जान सकिने बताइएको छ । प्रवेश सुरुङ ब्रेक थ्रु भएपछि अब सेदी नदीको बायाँतर्फबाट हुने निर्माण कार्यका लागि निर्माण सामग्री तथा उपकरण लैजान र आवतजावतका लागि सहज भएको छ ।

आयोजनाको पहिलो प्याकेज अन्तर्गत प्रवेश सुरुङ निर्माण गर्न २८ फागुन २०७८ मा पहिलो बिस्फोट गराइएको थियो । सुरुङ निर्माणका लागि आवश्यक विस्फोटक पदार्थको अभावका कारण करिब ४८ दिन काम रोकिएको र सुरुङ निर्माणका लागि अन्तिम विस्फोट मंगलबार गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाको पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो बाँध लगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन प्रा.लि. नेपाल जे.भी.ले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाईभर्सन सुरुङहरु, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नति लगायतका काम भइरहेका छन् ।

५३९.८ मिटर लम्बाइको डाईभर्सन सुरुङ-१ को ब्रेक थ्रु भइसकेको छ । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो, चीनले गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य केईसी, भारतले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत -प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको (ब्या ज समेत) ५० करोड ५० लाख अमेरिकी डलरमध्ये एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रकाशित : माघ १९, २०७९ १४:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×