जगदीशपुरमा फुर्के हाँस- लुम्बिनी - कान्तिपुर समाचार

जगदीशपुरमा फुर्के हाँस

साइबेरियाबाट नेपालमा बर्सेनि ७/८ वटा फुर्के हाँस आउने गरेको चराविद्को भनाइ
मनोज पौडेल

कपिलवस्तु — विरलै रूपमा आउने हिउँदे आगन्तुक फुर्के हाँस जगदीशपुर तालमा देखिएपछि चराविद् उत्साहित बनेका छन् । ‘निकै मनमोहक र चित्ताकर्षक देखिने यो हाँस यहाँ देख्दा निकै आनन्द लाग्यो,’ चराविद् डीबी चौधरीले भने, ‘फुर्के हाँसको चहलपहल देख्दा खुसीको सीमै रहेन ।’

साइबेरियाबाट चीन हुँदै लामो यात्रा गरेर नेपालमा बर्सेनि ७/८ वटा फुर्के हाँस आउने गरेका छन् । जलपंक्षी गणनाका क्रममा चराविद्को टोलीले उक्त चरा देखेका हुन् । यस वर्ष सुनसरीको बर्जु, पोखरा र कपिलवस्तुमा मात्र ती हाँस देखिएको गिरीले सुनाए । मुलुकमै सबैभन्दा बढी पानी चरालाई आश्रय प्रदान गर्दै आएको जगदीशपुर तालमा पानी चरा घट्दै गएका छन् । यहाँ तीन वर्षदेखि पानी चरा निरन्तर घट्दै गएका हुन् । सन् २०२२ को तुलनामा २०२३ मा ४ प्रतिशत चरा घटेका छन् । २०२१ को तुलनामा २०२२ मा २३ प्रतिशत चरा घटेका थिए । २०२३ मा ९ हजार ४ सय ८७ चरा गणना गरिएको छ । २०२२ मा ९ हजार ८ सय ३७ चरा गणना गरिएको थियो ।

सन् २०२१ मा यहाँ १२ हजार ६३ चरा गणना गरिएको थियो । २०२० मा यहाँ २० हजार ८ सय ७ चरा गणना गरियो । २०१९ मा १४ हजार ९ सय ८० गणना गरिएको थियो । वेटल्यान्ड इन्टरनेसनलको संयोजनमा नेपालमा सम्पन्न पानी चरा गणना राष्ट्रिय संयोजक वरिष्ठ चराविद् डा. हेमसागर बराल नेतृत्वमा रहेको चराविद्त्रय टीका गिरी, डीबी चौधरी र धीरज चौधरीले चरा गणना गरेका थिए ।

१ सय ५७ हेक्टरको तालको पूर्वी किनारबाट गणना सुरु गरेर दक्षिणमा आएर सम्पन्न गरेका थिए । क्षेत्र–क्षेत्र छुट्याएर डाइरेक्टर मेथडबाट चरा गणना गरिएको थियो । उनीहरूले दुई टेलिस्कोप, वाइनाकुलर र क्यामराको सहायतामा चरा गणना गरेका थिए । टाढाटाढाका चरा उपकरणको सहयोगमा गणना गरिएको थियो । तालमा सबैभन्दा धेरै मरुल ४ हजार ९५ वटा गणना गरिएको छ । सुनजुरे १ हजार ९ सय ३० र बिजुलागैरी ९ सय ३० वटा गणना गरिएको छ । सिलसिले ६ सय ४० र सानो जलेवा, ४ सय ४६ गणना गरिएको छ । ठूलो जलेवा ३ सय र श्वेताँखीभौं १२ र नादुन २ वटा गणना गरिएको छ ।

विश्वमै दुर्लभ मानिएको कैलो टाउके हाँस १ सयको संख्यामा गणना हुनु राम्रो मानिएको चराविद् टीका गिरीले बताए । ‘२ प्रजातिका चरा ४ अंकको गणनामा देखियो,’ उनले भने, ‘५ प्रजातिका चरा ३ अंकको गणनामा आए ।’ सुइरोपुछ्रे, चखेवाचखेवी, बेल्चा ठुँडे, हरिहाँस, बगाले सिमकुखुरा, सुइरोठूडे, मालक र हरियो टाउकेहाँसलगायत यहाँ गणना गरिएको थियो । गत वर्षभन्दा यस वर्ष ४ प्रजातिका चरा कम पाइएका छन् । गत वर्ष ४९ प्रजातिका चरा गणना गरिएको थियो । चराको रङ, शरीरको बनोट र आवाज सुनेर चरा गणना गरिएको हो ।

‘एउटै फ्लगमा ६/७ सय चरा गणना हुनु राम्रो बासस्थान मानिन्छ,’ चराविद् डा. बरालले भने, ‘तर, चराको संख्या घट्नु भने चिन्ताको कुरा हो । कहीँ कतै कमजोरी छ भयो कि !’ चरा बसाइँ सरेर आउँदा उडान मार्गमा केही समस्या भयो कि भन्नेबारेमा पनि अध्ययन गर्न थालिएको उनले बताए । ‘बेलैमा समस्या पहिचान गरेर जोगाउन सकिएन भने मुलुकको चरा पर्यटनमा राम्रो स्थान भएको जगदीशपुर संकटमा पर्ने देखिन्छ,’ उनले भने ।

अतिक्रमणले घटे आगन्तुक चरा

ताल क्षेत्र आसपास मानवीय अतिक्रमण बढेर चरा आगमन घट्दै गएको चराविद्हरूले बताएका छन् । तालमा ५ वटा डुंगा चलाइएको छ । डुंगा शयर गर्न जानेहरूले चरालाई जिस्काउने र समात्न खोज्छन् । डुंगा चढ्ने पछिपछि लाग्दा चराहरू त्रसित हुने गरेका छन् । ‘रामसार क्षेत्रमा सूचीकृत ठाउँमा असुरक्षित मानवीय चहलपहल बढ्नु राम्रो होइन,’ चराविद् डा. बरालले भने, ‘त्यसले चराले उन्मुक्त वातावरण नपाउँदा जगदीशपुर चराका लागि असुरक्षित बन्दै गयो ।’

राम्रो चरा पर्यटनको गन्तव्य बोकेको ठाउँमा चराको संख्या घट्नुले मुलुकको पर्यापर्यटनमा समस्या देखिने उनले सुनाए । ‘यसले चरा पर्यटनका लागि नेपालमा भएको आकर्षण घटाउँछ,’ उनले भने, ‘अझ जहाँ बढी चरा बस्छन्, त्यहीं डुंगा चलाइएको छ ।’ चराको चोरी सिकारी र ताल अव्यवस्थित पर्यटकीय स्थलका रूपमा विकास गर्दा समस्या थपिएको गिरीले बताए । ‘चराले बाधा व्यवधान ब्यहोर्नु परेको छ,’ उनले भने, ‘असुरक्षाले घट्ने क्रम बढेको हो ।’ कपिलवस्तु नगरपालिका ९ र १० मा पर्ने ताल सन् २००३ मा विश्व सीमसार क्षेत्रमा सूचीकृत भएको हो । जैविक विविधता, सीमसार र चराका कारण महत्त्वपूर्ण हुँदा सूचीकृत भएको थियो ।

प्रकाशित : माघ १९, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्

अयोध्या पुर्‍याइयो कालीगण्डकीको शिला

कान्तिपुर संवाददाता

अयोध्या — भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि रामको मूर्ति बनाउन नेपालको कालीगण्डकी नदीबाट शिला (ठूलो पत्थर) ल्याइएको छ । शालिग्राम पत्थर पाइने भएकाले कालीगण्डकी नदीको शिला छनोट गरिएको हो । हिन्दुहरूले राम र सीतालाई भगवान्का रूपमा पुज्दै आएका छन् ।

म्याग्दीस्थित कालीगण्डकी नदीबाट शिला लिएर सयौं नेपाली अयोध्या आएका छन् । शिला उत्खननदेखि त्यसलाई अयोध्या पुर्‍याउनेसम्मका काम नेपाली नै गरेका छन् । राम जन्मभूमि तीर्थ क्षेत्र कार्यालयले कात्तिक १९ मा जनकपुरको जानकी मन्दिरलाई पत्राचार गरेर कालीगण्डकीको शिला मागेको थियो । पुस ३ मा नेपालको मन्त्रिपरिषद्ले जानकी मन्दिरमार्फत शिला पठाउने निर्णय गरेको थियो । केन्द्रको निर्णयमा गण्डकी प्रदेश सरकार हुँदै बेनी नगरपालिकासम्मले सहमति जनाएपछि शिला अयोध्या ल्याइएको हो । ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३.५ फिट मोटाइका दुईवटा शिला म्याग्दीबाट ट्रकमा ल्याइएको हो ।

धार्मिक पीठ हरिहर सेवा सदनका सञ्चालक सञ्जय शास्त्रीले हिन्दु धर्ममा साक्षात् नारायणको रूप मानिने शालिग्राम पत्थर नेपालबाट प्राप्त हुनुले एक खालको सकारात्मक ऊर्जा प्रवाह भएको बताए । ‘नेपालदेखि भारतसम्मका नागरिकलाई गण्डकीबाट आएको शालिग्राम शिलाले एक सूत्रमा बाँध्ने काम गरेको छ,’ उनले भने । राम र सीताले दुई देशलाई जोडेजस्तै शालिग्रामको आगमनले सम्बन्धलाई थप बलियो बनाउने उनले बताए ।

राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका मुख्य आचार्य दुर्गाप्रसाद गौतमले नेपालबाट रामको मूर्ति निर्माणका लागि शिलाको आगमनले दुई देशबीचको नागरिक तहको सम्बन्धलाई थप कसिलो बनाएको बताए ।

लामो समयको विवादपछि अयोध्यामा राममन्दिर निर्माण गर्न थालिएको हो । अयोध्याको जमिन राममन्दिरको कि बाबरी मस्जिदको भन्नेमा हिन्दु र मुस्लिम समुदायबीच विवाद उत्कर्षमा पुगेको थियो । भारतको सर्वोच्च न्यायालयले २०१९ नोभेम्बर ९ मा राम जन्मभूमिको पक्षमा फैसला सुनाएको थियो । विवादित जमिन मन्दिर निर्माणका लागि दिने र मस्जिदका लागि अन्यत्र जग्गा उपलब्ध गराउने फैसला अदालतले गरेको थियो ।

प्रकाशित : माघ १९, २०७९ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×