उपमहानगरहरूको राष्ट्रिय सम्मेलन बुटवलमा हुँदै- लुम्बिनी - कान्तिपुर समाचार

उपमहानगरहरूको राष्ट्रिय सम्मेलन बुटवलमा हुँदै

अमृता अनमोल

बुटवल — देशभरका उपमहानगरपालिकाहरूको राष्ट्रिय सम्मेलन बुटवलमा आयोजना हुने भएको छ । बुटवल उपमहानगरपालिकाले देशभरका उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको राष्ट्रिय सम्मेलन माघ २१ र २२ गते आयोजना गर्न लागेको हो ।

सम्मेलनमा उपमहानगरपालिकाहरुका साझा समस्या, संविधानअनुसार साझा र एकल अधिकारको प्रयोगका चुनौती, असल अभ्यासबारे अनुभव आदानप्रदान, संघ र प्रदेश सरकारसँग स्थानीय सरकारका रुपमा अपेक्षा र स्थानीय आवश्यकताजस्ता विषयमा छलफलसहित निष्कर्ष निकालिने छ ।

बुटवलमा बुधबार पत्रकार सम्मेलन गरी बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अनुभव आदानप्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताए ।

सम्मेलनमा उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करिब ५ सय सहभागी हुनेछन् । साथै उनीहरूले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने छन् ।

सम्मेलनको उद्घाटन समारोह बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ भने अन्य शत्रहरु बुटवल उपमहानगरको सभाहलमा हुनेछ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले सम्मेलनले स्थानीय सरकारहरु साझा मुद्दा लिएर एकसाथ अघि बढ्ने बताइन् ।

प्रकाशित : माघ १८, २०७९ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्

अस्थिरता र संक्रमणकालको सबै दोष दल र नेतालाई दिनुहुन्न : मुख्यमन्त्री गिरी

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले अस्थिरता र संक्रमणकालको सबै दोष राजनीतिक दल र नेतालाई दिनु साटो त्यसको कारण खोज्न आग्रह गरेका छन् ।

उनले अस्थिर राजनीति र सरकारका कारण जनतामा निराशा बढेको बताउँदै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको हैसियतमा सकेसम्म अस्थिरता तोड्ने र प्रदेशको हितमा मात्रै काम गर्ने बताए ।

पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तकको शनिबार बुटवलमा आयोजित परिचर्चा कार्यक्रममा बोल्दै मुख्यमन्त्री गिरीले राजनीतिक इमान्दारितामा कोही चुक्न नहुने बताए । उनले व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्था परिवर्तन नभएको बताउँदै आफ्ना हरेक काम जनतालाई केन्द्रमा राखेर गर्ने बताए ।

पत्रकार भण्डारीको पुस्तकमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ । सरकार बदल्नमै नेताको चासो देखिएपनि राष्ट्रहित र जनताको पक्षमा काम गर्छौं भन्ने कसैमा पनि सोच नभएका कारण सबैजसो सरकार टिक्न नसकेको विषय समेटिएको लेखक भण्डारी बताए । कृतिमा ०४६ को राजनीतिक परिवर्तनदेखि ०७४ को निर्वाचनबाट बनेका सरकार, राजनीतिक दाउपेच र सत्तासंघर्ष समेटिएको छ ।

भण्डारीले १० वर्षको मेहनेत लगाएर आफूले पुस्तक प्रकाशन गरेको भन्दै आफूले पत्रकारिताका दौरानमा देखेका, भोगेका, महसुस गरेका, अनुभव गरेका र विभिन्न नेता एवं व्यक्तिसँगको कुराकानीका आधारमा पुस्तक प्रकाशन गरेको बताए ।

प्रकाशित : माघ १४, २०७९ १३:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×