सडक दुर्घटनाकोजो खिमबाट बच्न बनाइएका हुन् ट्राफिक नियम । तर अधिकांश दुर्घटना ट्राफिक नियम उल्लंघनकै कारण भएका छन् । किनकि, अधिकांश सवारी चालकले ट्राफिक प्रहरीको आँखा छल्न खोज्छन् तर दुर्घटना छल्न सक्दैनन् ।
काठमाडौँ — भक्तपुरको नयाँ थिमिस्थित शंखधरचोकमा ट्राफिक बत्ती नियमित चल्छ । तर, सडक प्रयोगकर्ताले ट्राफिक प्रहरीको आँखा छलेर रातो बत्ती बलिरहेको समयमा नै लेन क्रस गर्नु सामान्य जस्तै देखिन्छ ।
शंखधरचोकमा रातो बत्ती बलिरहँदा प्रायः दुईपाङ्ग्रे सवारी चालकले ट्राफिक प्रहरीको आँखा छल्दै बालकुमारीतर्फ मोडिएको जस्तो गरेर मुख्य सडकतिरै हानिने गर्छन् । ‘हरियो वा पहेँलो बत्ती बल्दाको कुरा भएन, रातो बत्ती बल्दासमेत ट्राफिक प्रहरी सडकमा उभिएको छ भने मात्र सवारी साधन रोकिन्छ, नत्र नियम मिचेरै सवारी हाँक्छन्,’ शंखधरचोकमा खटिएकी एक ट्राफिक प्रहरीले भनिन्, ‘सकेसम्म ट्राफिक नियम पालना गर्नै नपरे हुन्थ्यो भन्ने मानसिकता हावी छ । जाने बुझेकै युवाहरू नै ट्राफिक नियम उल्लंघन गर्छन् ।’ सडकमा ट्राफिक प्रहरी उभिएको देख्यो भने पालना गर्ने, नत्र लेनको उल्लंघन गर्ने संस्कारकै रूपमा वृद्धि भएको उनी बताउँछिन् । कतिपय युवा जिकज्याक गरी सवारी हाँक्ने, ओभरटेक गर्ने, सडकमा आफू र आफ्ना सवारीप्रति केन्द्रित गर्न खोज्ने प्रवृत्ति बढेको उनको भनाइ छ ।
राजधानीको मुख्य सडकमै ट्राफिक नियम उल्लंघन हुनुमा सवारी चालक अनुमतिपत्र वितरण प्रणाली नै कमजोर भएको जानकारहरू बताउँछन् । ‘विशेषगरी नेपालमा गतिलो ड्राइभिङ स्कुल छैन, सवारी चालक अनुमतिपत्र वितरण गर्दा नै सवारीसाधन कसरी चलाउने भन्ने सिकाइ पूर्णरूपमा हुनु आवश्यक हुन्छ,’ काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाहपथका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले भने, ‘तर, हाम्रो मुलुकमा के–के पढ्ने, कति घण्टा पढ्ने भन्ने स्पष्ट नियम पनि छैन । जसरी हुन्छ सवारी चालक अनुमतिपत्र उत्तीर्ण भए पुग्छ । सैद्धान्तिक तथा व्यावहारिक पाटो कमजोर छ ।’ सहरमा खोलिएका ‘ड्राइभिङ स्कुल’ को अवस्था, मापदण्ड र सिकाइको विषयमा अनुगमन हुनुपर्ने उनी बताउँछन् ।
सडक सुरक्षा, दुर्घटनाबाट बच्ने उपाय, सवारी साधनबारे पनि विस्तृत अध्ययन हुनुपर्ने यातायात विज्ञ बताउँछन् । ‘विकसित देशहरूमा लाइसेन्स परीक्षा लिँदा ‘रोड टेस्ट’ को व्यवस्था हुन्छ । कुनै पनि सवारीसाधन सडकमा चलाउन लगाएर सफल भएपछि मात्र लाइसेन्स दिलाइन्छ,’ सहरी यातायात विज्ञ आशिष गजुलेलले भने, ‘विद्यालय/अस्पताल क्षेत्रमा चलाउँदा कति गतिमा चलाउने, जेब्रा क्रसिङमा के गर्ने भन्ने ज्ञान हुनुपर्छ । यहाँ त जेब्रा क्रसिङको समेत ख्याल गरिन्न ।’ सडक दुर्घटनाको जोखिमबाट बच्न बनाइएको नियम नै ट्राफिक नियम हो । तर, अधिकांश सडक दुर्घटनाको कारक ट्राफिक नियम उल्लंघन नै भएको ट्राफिक प्रहरीको विश्लेषण छ । ‘सवारीसाधन चलाउँदा वा हिँड्दा नै किन नहोस्, धेरै सडक प्रयोगकर्ताले जानी/नजानी ट्राफिक नियम उल्लंघन गरिरहेका हुन्छन् । चालकले तीव्र गतिमा सवारी हाँक्ने, संकेत नमान्ने, जथाभावी गाडी रोक्ने, सवारीको क्षमताभन्दा बढी यात्रु बोक्नेजस्ता कार्य गर्छन्,’ एसएसपी भट्टले भने, ‘शिक्षित मानिसले नै बढी नियम उल्लंघन गरेको पाइएको छ । ट्राफिक नियम पालना नगर्नु आफ्नै लागि खतरा हो ।’ सडकमा राखिएका मार्किङ (ट्राफिक चिह्न) को सही पालना गर्ने, सडक लेनको पालना गर्ने, तोकिएको निश्चित गतिमा सवारी हाँक्ने, व्यस्त सडकमा गति सीमित गर्ने, जथाभावी हर्नको प्रयोग नगर्नु सभ्य नागरिकको परिचय भएको समेत उनी बताउँछन् । तर, पैदलयात्रुलाई पहिलो प्राथमिकता दिने, दुईपाङ्ग्रे सवारी चलाउँदा हेल्मेट वा फित्ताको प्रयोग नगर्ने युवापंक्ति लामो छ । पढेलेखेका, नियम कानुन जानेबुझेकै युवापंक्तिले नै नियम उल्लंघन गर्ने घटना बढ्दो रहेको र ट्राफिक प्रहरीको कारबाही प्रक्रिया भोग्ने गरेको एसएसपी भट्टको भनाइ छ ।
युवाहरूलाई डर नहुने, साथी–साथीमा पनि नियम मिच्दा मलाई कसैले पनि केही गर्दैन भन्ने मनस्थिति हावी भएकै कारण ट्राफिक नियम उल्लंघनका घटना बढेको यातायात विज्ञ गजुरेलको भनाइ छ । ‘युवाहरूको सान देखाउने ठाउँ नै सडक भएको छ, मोटरसाइकल यत्ता घुमाउँछन्, उत्ता घुमाउँछन्, ब्याक गरेर जाममा पनि हुइँक्याउँछन्,’ उनले भने, ‘दुर्घटनाहरू पनि त्यत्तिकै मात्रामा भएका छन्, मान्छे मरेका छन् तर पनि चिन्ता नभएको जस्तो देखिन्छ ।’ ट्राफिक प्रहरीको आँखा छल्न पाउँदा ठूलै सान मिल्ने सोचले ‘शो अप’ गरेको समेत पाइएको उनी बताउँछन् । ‘नियम कानुनका विषयमा त युवाहरू नै बढी जानकार हुने गरेका छन्, उनीहरूमा ट्राफिक नियमसम्बन्धी बढी नै ज्ञान हुन्छ,’ उनले भने ।
पछिल्लो समय काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी अभियान नै थालेका छन् । उक्त अभियानमा कार्यालयले उपत्यकामा दैनिक ३ हजार वटाभन्दा बढी सवारीसाधन कारबाही गर्ने लक्ष्य नै लिएर ट्राफिक प्रहरी खटाएको समेत एक ट्राफिक प्रहरीले बताए । कार्यालयले हालै मात्र ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने करिब सयजना सवारी चालकहरूको अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग मीनभवन पठाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियमहरू ५ पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुर गरेको हुँदा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि विभाग पठाएको प्रवक्ता एसएसपी भट्टले बताए ।

ललितपुरको पुल्चोकमा जेब्रा क्रसिङमा रोकिएका सवारी । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर
निलम्बनका लागि ६ देखि २९ पटकसम्म ट्राफिक नियम उल्लंघन गरेकाको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि पठाएको समेत उनले बताए । ‘ट्राफिक नियम उल्लंघन गरिरहने चालकबाट नै धेरैजसो सवारी दुर्घटना हुने गरेको पाइएको छ,’ उनले भने । कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७९/८० मा उपत्यकामा ३ हजार २ सय ५४ सवारी दुर्घटना भएका छन् । जसमध्ये, ६ हजार ८ सय ८८ वटा सवारीसाधनमा क्षति पुगेको र ७८ जनाको ज्यान गएको छ । यसवर्ष सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरूमा १६ वर्षमुनिका ५, १७ देखि ३५ वर्षका ४३ र ३६ वर्षभन्दा माथिका ३० जना छन् । ट्राफिक प्रहरीका अनुसार चालु आर्थिक वर्षमा चालकको लापरबाहीका कारण २ हजार ७६४, तीव्र गतिले ९४७, मादक पदार्थ सेवनले २६८, यान्त्रित गडबढीले ३६, ओभरटेकका कारण ४४, सडकको अवस्थाका कारण ९ र छाडा पशुचौपायाका कारण २१ वटा सवारी दुर्घटना भएको छ । ट्राफिक नियम उल्लंघन तथा सवारी दुर्घटनामा चालक मात्र दोषी नभई सडक संरचना र बनोटसमेत सही हुनुपर्ने सवारी चालक युवा डीबी श्रेष्ठ बताउँछन् । ‘ट्राफिक नियम उल्लंघनमा सवारी चालक मात्र दोषी छैन, राज्यको संयन्त्र नै दोषी छ,’ उनले प्रतिप्रश्न भने ।
ट्राफिक नियम उल्लंघनमा सवारी चालक मात्र नभई घरपरिवार, समाज र राज्यको संयन्त्र नै दोषी रहेको समाजशास्त्रीको भनाइ छ । ‘सभ्यता भन्ने कुरा न हाम्रो परिवारले सिकाउन सक्यो, न समाजले सिकायो, राज्य संयन्त्रको प्रणालीले नै सिकाउन सकेन,’ समाजशास्त्री सुरेन्द्र कोइरालाले भने, ‘आफ्नो उत्तरदायित्व, जिम्मेवारी बुझाउन नसक्दा कानुन विपरीतका काम भइरहेको छ ।’
प्रकाशित : माघ १७, २०७९ ०८:१४