पाल्पामा छुट्टाछुट्टै घटनामा दुई युवकको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार

पाल्पामा छुट्टाछुट्टै घटनामा दुई युवकको मृत्यु

माधव अर्याल

पाल्पा — पाल्पामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई युवकको मृत्यु भएको छ । पाल्पाको रामपुर नगरपालिकामा भएको मोटरसाइकल दुर्घटना परेर एक जना र खोलामा डुबेर अर्का एक युवाको मृत्यु भएको हो ।

आइतबार बेलुकी रामपुर नगरपालिका-५, कान्जीहाउस नजिकै पक्की सडकमा लु १८ प ४९७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रामपुर नरपालिका-२, गाडाकोटका २१ वर्षीय प्रदीप नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । दुर्घटनाग्रस्त मोटरसाइकल सडकदेखि ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

पाल्पाकै तिनाउ गाउँपालिका-३, भूतखोलामा खसेर २३ वर्षका अजिम पठानको मृत्यु भएको प्रहरीले जनाएको छ । सामुदायिक वनले भूतखोला बनाएको पर्यटकीय क्षेत्रमा फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा पश्चिम नवलपरासी पाल्हिनन्दन गाउँपालिका–२, बस्ने पठानको मृत्यु भएको हो ।


प्रकाशित : माघ १६, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपतिद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।

उनले सहिद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै सहिद दिवस देश र जनताका लागि प्राण आहुति दिने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन भएको उल्लेख गरेकी छन् ।

नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरंकुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका आन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइँदै आइएको छ ।

राष्ट्रपति भण्डारीले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत भएको उल्लेख गर्दै आजको दिनले हामीलाई सहिदहरूले गरेको यही सर्वोच्च त्यागको स्मरण गराउने बताएकी छन्। हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदहरूले गरेका बलिदानको प्रतिफल हो । तसर्थ सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख उनले गरेकी छन् ।

उनले न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाजका साथै समृद्ध राष्ट्र बनाउने सहिदको सपनालाई मूर्तरूप दिन आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्न यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

प्रकाशित : माघ १६, २०७९ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×