पाल्पाको पूर्वखोलामा घुम्ती स्वास्थ्य शिविर, १३ सयभन्दा बढीले लिए सेवा- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पाको पूर्वखोलामा घुम्ती स्वास्थ्य शिविर, १३ सयभन्दा बढीले लिए सेवा

माधव अर्याल

पाल्पा — पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखाले सबै वडामा सञ्चालन गरिएको एकीकृत घुम्ती स्वास्थ्य शिविरमा दुर्गम भेगमा बसोवास गर्ने १ हजार ३ सय ९३ जनाले सेवा लिएका छन् । ६ वडाका १ हजार १ सय ३० महिला र २ सय ६३ पुरुषले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । 

वडा नम्बर १ का ३ सय १४, २ का २ सय ३९, ३ का ३ सय २९, ४ का १ सय ४३, ५ का २ सय ३३ र ६ का १ सय ११ जनाले सेवा लिएको उनले बताए । गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीमा राखिएको एकीकृत घुम्ती स्वास्थ्य शिविरमा यौन तथा प्रजनन स्वास्थ्यका साथै आँखा जाँच गरिएको थियो । पाठेघरको मुखको क्यान्सर जाँच गर्ने भिआईए, इम्प्लान्ट, आईयूसीडीलगायत सेवा दिइएको गाउँपालिकाले जनाएको छ ।

नेपाल नेत्र ज्योति संघ पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेन र नेपाल परिवार नियोजन संघ पाल्पा शाखा शाखाले प्राविधिक सहयोग गरेका हुन् । गाउँपालिकाकाअनुसार आँखासम्बन्धी समस्या भएका ८ सय १७ जनाले सेवा लिएका छन् । ‘दुर्गम र भौगोलिक विकटताले अस्पतालसम्म पुग्न नसक्नेहरुका लागि शिविर राखेका हौं,’ स्वास्थ्य शाखा प्रमुख ढकालले भने, ‘रोग लुकाएर बस्ने र उपचारमा जान हेलचेक्राइँ गरेकाहरुको उपचार गर्न पाउँदा खुसी लाग्यो ।’ उनका अनुसार ६ वडामा आँखा जाँच शिविर राख्दा ४७ जनामा मोतिबिन्दु देखिएका छन् ।

मोतिबिन्दु देखिएकाहरुलाई शल्यक्रियाका लागि सल्लाह दिएको नेपाल नेत्र ज्योति संघका सन्तोष दर्जीले बताए । परिवार नियोजनसम्बन्धी लामो अवधिको परिवार नियोजनको सेवा ३९ जनाले लिएका छन् । पाठेघरको क्यान्सर जाँच ४ सय ४९ जनाले गरेको संघका शाखा प्रबन्धक सोवाकान्त न्यौपानले बताए । ६ वडाका आठ जनालाई पाठेघरको मुखको क्यान्सरसम्बन्धी लक्षण देखिएको उनले बताए । उनीहरुलाई थप परीक्षणका लागि तानसेन वा अन्य ठूला अस्पताल जान सल्लाह दिइएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष भागिरथी भट्टराईले आँखा जाँचपछि ४७ जनालाई गाउँपालिकाले माघ १७ गते निःशुल्क अप्रेसन गरिदिने बताइन् । शिविरमा परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य सेवातर्फ डा. राकेश बज्राचार्यले सहजीकरण गरेका थिए । स्वास्थ्य परीक्षणसहित निःशुल्क औषधिसमेत वितरण गरेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए ।

प्रकाशित : माघ १४, २०७९ १९:११
प्रतिक्रिया
पठाउनुहोस्

माग सम्बोधन नभएसम्म प्रदेश र संघ सरकारमा जाँदैनौँ : नागरिक उन्मुक्ति

कान्तिपुर संवाददाता

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने बताएकी छिन् । 

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले रेशम चौधरीलगायतका टीकापुर घटनाका बन्दीहरूलाई रिहाइ नगरेसम्म संघ र प्रदेशको कुनै पनि सरकारमा आफ्नो पार्टी सहभागी नहुने अडान कायमै रहेको बताएकी हुन् ।

शनिबार बुटवलमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले आफूहरूको माग सम्बोधन गर्ने भनेकाले त्यो पूरा भएपछि मात्रै सरकारमा जान आफूहरू प्रतिबद्ध रहेको बताइन् । आफ्नो पार्टीको माग र मुद्दा सम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने पक्षमा आफ्नो पार्टी नरहेको पनि अध्यक्ष श्रेष्ठको प्रस्टीकरण थियो ।

‘जबसम्म नागरिक उन्मुक्ति पार्टीको माग, मुद्दा सरकारले सम्बोधन गर्दैन । तबसम्म हामी प्रतिपक्ष बेञ्चमै बस्नेछौं । सुदूरपश्चिम प्रदेशमा हामीले मुख्यमन्त्रीलाई चाहिँ समर्थन गरेका छौँ । र, विश्वासको मत दिनुभन्दा अगाडि सरकारले हाम्रो माग, मुद्दा सम्बोधन गरोस भन्ने हाम्रो पार्टीको चाहना पनि रहेको छ । हाम्रा मागहरू टीकापुरका राजबन्दीहरूलाई रिहाइ गर्ने सरकारले भनिरहेको छ । र, हामीले पनि यही कुरामा अडान लिएका छौं । टीकापुरका निर्दोष थारुहरुलाई रिहाइ गर्नुस् । हामी सरकारमा जान्छौं भनिरहेका छौं । सुदूरपश्चिम सरकारलाई पनि हाम्रो माग मुद्दा सम्बोधन भएपछि मात्रै विश्वासको मत दिन्छौं भन्ने हाम्रो कुरा हो । त्यसो भएन भने हामी बैठक बसेर आवश्यक निर्णय गर्छौं । आफूहरूको माग सम्बोधन नभई हामी संघ र प्रदेश कुनै पनि ठाउँमा सरकारमा जाने पक्षमा छैनौं,’ उनले भनिन् ।

अध्यक्ष श्रेष्ठले टीकापुर घटनामा निर्दोष रहेका आफ्ना पार्टीका नेता, कार्यकर्ताहरूलाई जेलमुक्त गर्ने काममा ढिलाइ नगर्न पनि सरकारलाई आग्रह गरिन् ।

प्रकाशित : माघ १४, २०७९ १९:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×