बेचबिखनको जोखिममा परेका बालबालिकालाई मनोविमर्श केन्द्र स्थापना- लुम्बिनी - कान्तिपुर समाचार

बेचबिखनको जोखिममा परेका बालबालिकालाई मनोविमर्श केन्द्र स्थापना

रुपा गहतराज

नेपालगन्ज — जोखिमपूर्ण यात्रामा रहेका तथा बेचबिखनको जोखिममा परेका बालबालिकालाई परामर्श दिन बाँकेमा दुई ठाउँमा बालमैत्री मनोविमर्श केन्द्र स्थापना गरिएको छ । मानव बेचबिखनको उच्च जोखिममा रहेको बाँकेमा पहिलोपल्ट यस्तो परामर्श केन्द्र स्थापना गरीएको हो  । 

मानव बेचबिखनविरुद्ध काम गर्ने शक्ति समूहले नेपालगन्जको जमुनाहा नाका बालमैत्री मनोविमर्श केन्द्र र जिल्ला प्रहरी कार्यालय, बाँकेको परिसरमा बालमैत्री निगरानी कक्ष स्थापना गरेको हो ।

‘बेचबिखनको जोखिममा परेका बालबालिकालाई काउन्सलिङ गर्ने‚ उनीहरूको भावना बुझ्ने र उनीहरूलाई प्रहरीको समन्वयमा अभिभावकको जिम्मा लगाउने काम गर्छौं‚’ शक्ति समूह नेपालगन्जकी प्रमुख निर्मला पौडेलले भनिन् ।

१६ लाख रुपैयाँ खर्च गरेर इलाका प्रहरी कार्यालय, जमुनाहा र जिल्ला प्रहरी कार्यालय, नेपालगन्जको परिसरमा बालमैत्री मनोविमर्श केन्द्र निर्माण गरिएको हो ।

बालमैत्री परामर्श केन्द्र तथा बाल निगरानी कक्षको शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले संयुक्त रुपमा उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले मानव बेचबिखन रोकथामका लागि केन्द्रको स्थापनाले मानव बेचबिखनको जोखिमलाई नियन्त्रण गर्न सघाउ पुर्‍याउने बताए ।

प्रकाशित : माघ १३, २०७९ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पाका प्रहरीलाई बाल संरक्षण कानुनमा अभिमुखीकरण

कान्तिपुर संवाददाता

पाल्पा — ग्रामीण भेगका १४ चौकी र जिल्ला प्रहरीका ६ जनालाई बाल संरक्षणसम्बन्धी कानुनी व्यवस्थाबारे अभिमुखीकरण कार्यक्रम गरिएको छ । शुक्रबार गरिएको शुक्रबार कार्यक्रममा मुद्दा र महिला तथा बालबालिका सेल साथै ग्रामीण भेगका चौकीमा कार्यरत सकल दर्जाका प्रहरीको सहभागिता थियो । 


प्रहरीलाई संविधानमा उल्लेखित मौलिक हकमध्ये बालअधिकारका विषयमा कानुनी जानकारी दिइएको आयोजकले जनाए । संविधानको धारा ३९ मा बालअधिकारको मौलिक हकलाई समेटेको छ । बालअधिकारको सम्मान, संरक्षण, प्रवर्द्धन र परिपूर्ति गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्नु परिवार, समाज र राज्यको दायित्वका विषयमा प्रशिक्षण दिइएको आयोजक संस्था महिला कानुन र विकास मञ्च काठमाडौंका कानुन अधिकृत विनोदचन्द्र देवकोटाले बताए ।

बालबालिकाविरुद्ध हुने भेदभाव, सबै प्रकारका दुर्व्यवहार, उपेक्षा, शोषण र हिंसाबाट जोगाउनेलगायत विषयमा जानकारी गराइएको संस्थाका कार्यकारी निर्देशक सविन श्रेष्ठले जानकारी दिए । अन्तर्राष्ट्रिय तथा नेपालका कानुनहरूले बालबालिकालाई जोखिमपूर्ण श्रम, बालविवाह, घरेलु हिंसा, यौन शोषण तथा बेचबिखन ओसारपसारजस्ता हिंसा र दुर्व्यवहारबाट संरक्षणको अधिकारको व्यवस्थाका विषयमा समेत जानकारी गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए ।

बालबालिकाविरुद्ध हुने हिंसासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाका विषयमा अधिवक्ता दीपेश श्रेष्ठ, बालबालिकाविरुद्ध हुने हिंसामा अनुसन्धान र यस क्रममा प्रहरीले ध्यान दिनुपर्ने पक्षहरूका विषयमा पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापा, बालबालिकाविरुद्ध हुने हिंसामा अनुसन्धानको क्रममा पीडितको अधिकारका विषयका संस्थाका कार्यकारी निर्देशक सविन श्रेष्ठले सहजीकरण गरे । आयोजक संस्थाका अनुसार कैलाली, कञ्चनपुर, रुपन्देहीमा पनि प्रहरीलाई अभिमुखीकरण गरिएको छ ।

प्रकाशित : माघ १३, २०७९ १९:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×