‘चर्को घरभाडा र बैंक ब्याजले व्यवसाय पलायन बढ्यो’- लुम्बिनी - कान्तिपुर समाचार

‘चर्को घरभाडा र बैंक ब्याजले व्यवसाय पलायन बढ्यो’

अमृता अनमोल

बुटवल — आर्थिक मन्दीसँगै चर्को घरभाडा र बैंक ब्याजका कारण व्यवसायी पलायन हुने क्रम बढेको रुपन्देहीका व्यवसायीहरूले गुनासो गरेका छन् । स्थानीय सरकारले राजस्व संकलन बढाउने भन्दै कर उठाउने कुरालाई मात्रै प्राथमिकतामा राख्दा आर्थिक संकट झेलेका व्यवसायीहरू पसल बन्द गरेर बस्ने र बजारबाट विस्थापित हुने क्रम बढेको व्यवसायीहरूले जनाए ।

रुपन्देही व्यापार संघले शुक्रबार बुटवलमा आयोजना गरेको घरबहालसम्बन्धी अन्तरक्रियामा बोल्ने व्यवसायीहरूले पछिल्लो समयमा आएको आर्थिक संकटका कारण व्यवसाय ७० प्रतिशतले घटेको तथ्यांक प्रस्तुत गरे । उनीहरूले पछिल्लो एक सातामा बुटवल बजार क्षेत्रमा दैनिक रुपमा करिब एक सयवटा सटरहरू खाली हुने गरेको बताउँदै बजार विस्थापन हुने खतरा बढेर गएको जनाए ।

रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले चर्को घरभाडा र बैंक ब्याजलाई कम गर्नेतर्फ दबाब सिर्जना नगरिए धेरै व्यवसायीहरुले आत्महत्याको बाटो रोज्ने खतरा बढेको बताए ।

व्यवसायी डिल्लीराज भण्डारीले आर्थिक संकटबाट व्यवसायलाई बचाउने उपायको खोजी गर्न स्थानीय सरकारले सर्वपक्षिय छलफल गरी निष्कर्ष निकाल्नुपर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रा अर्यालले राजस्व संकलनमा कडाइ गरिने तर आर्थिक संकटका बेलामा व्यवसायीहरूको हितविपरीत गएर काम नगर्ने प्रतिबद्धता जनाइन् ।

प्रकाशित : माघ १३, २०७९ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्

बुटवलद्वारा जलस्रोत नीति र रात्रिकालीन बजार सञ्चालन गर्ने प्रस्ताव पारित

अमृता अनमोल

काठमाडौँ — बुटवल उपमहानगरपालिकाको १२औं अधिवेशनले जलस्रोत नीति पारित गरेको छ । पुस २१ गते सुरु भएको नगरसभाले कर्मचारी दरबन्दीसम्बन्धी संगठन तथा व्यवस्थापन संरचना, स्वास्थ्य ऐनसमेत संशोधनसहित पारित गरेको छ । त्यस्तै अधिवेशनले बुटवलभित्र रात्रिकालीन बजार सञ्चालन गर्ने निर्णय गरेको छ ।

नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरीनिकासीमा नियन्त्रण, नागरिक बडापत्रलाई तीन भाषामा प्रकाशन गर्ने प्रस्ताव पारित गरेको नगरसभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

यस्तै, नगरसभाले यसअघि गठन भएका समिति, उपसमिति, परिषद् र आयोगहरूको नयाँ गठन प्रक्रिया अगाडि बढाउने, बुटवलभित्रका पार्कहरूलाई नगर मातहत ल्याउन कानुन बनाउने, टोलविकास संस्थाहरूलाई व्यवस्थित गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

नगरसभामा सम्बोधन गर्दै नगरसभाका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई अगुवा सहरका रुपमा स्थापित गर्नका लागि सबै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी एकजुट भएर अगाडि बढ्ने बताए । उनले बुटवललाई ‘समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहर’ का रुपमा स्थापित गर्दै आर्थिक केन्द्र र मानव संशाधनका दृष्टिले उच्च क्षमताको जनशक्ति उत्पादन र खपत गर्ने सहरका रुपमा स्थापित गर्ने समेत जनाए ।

प्रकाशित : माघ ११, २०७९ १८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×