‘चर्को घरभाडा र बैंक ब्याजले व्यवसाय पलायन बढ्यो’- लुम्बिनी - कान्तिपुर समाचार

‘चर्को घरभाडा र बैंक ब्याजले व्यवसाय पलायन बढ्यो’

अमृता अनमोल

बुटवल — आर्थिक मन्दीसँगै चर्को घरभाडा र बैंक ब्याजका कारण व्यवसायी पलायन हुने क्रम बढेको रुपन्देहीका व्यवसायीहरूले गुनासो गरेका छन् । स्थानीय सरकारले राजस्व संकलन बढाउने भन्दै कर उठाउने कुरालाई मात्रै प्राथमिकतामा राख्दा आर्थिक संकट झेलेका व्यवसायीहरू पसल बन्द गरेर बस्ने र बजारबाट विस्थापित हुने क्रम बढेको व्यवसायीहरूले जनाए ।

रुपन्देही व्यापार संघले शुक्रबार बुटवलमा आयोजना गरेको घरबहालसम्बन्धी अन्तरक्रियामा बोल्ने व्यवसायीहरूले पछिल्लो समयमा आएको आर्थिक संकटका कारण व्यवसाय ७० प्रतिशतले घटेको तथ्यांक प्रस्तुत गरे । उनीहरूले पछिल्लो एक सातामा बुटवल बजार क्षेत्रमा दैनिक रुपमा करिब एक सयवटा सटरहरू खाली हुने गरेको बताउँदै बजार विस्थापन हुने खतरा बढेर गएको जनाए ।

रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले चर्को घरभाडा र बैंक ब्याजलाई कम गर्नेतर्फ दबाब सिर्जना नगरिए धेरै व्यवसायीहरुले आत्महत्याको बाटो रोज्ने खतरा बढेको बताए ।

व्यवसायी डिल्लीराज भण्डारीले आर्थिक संकटबाट व्यवसायलाई बचाउने उपायको खोजी गर्न स्थानीय सरकारले सर्वपक्षिय छलफल गरी निष्कर्ष निकाल्नुपर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रा अर्यालले राजस्व संकलनमा कडाइ गरिने तर आर्थिक संकटका बेलामा व्यवसायीहरूको हितविपरीत गएर काम नगर्ने प्रतिबद्धता जनाइन् ।

प्रकाशित : माघ १३, २०७९ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्

लामिछाने पदमुक्त भएपछि अब चितवन-२ मा उपनिर्वाचन हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन हुने जनाएको छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भई पदमुक्त भएपछि आयोगले कानुनबमोजिम सो क्षेत्रमा उपनिर्वाचन गर्ने भएको हो ।

आयोगका एक पदाधिकारीले सर्वोच्चको फैसला आइसकेपछि आयोगले सरकारसँग परामर्श गरेर कानुनबमोजिम उपनिर्वाचन गर्ने बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुने कुनै पनि सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै पनि कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पदका लागि उपनिर्वाचन हुने व्यवस्था छ । आयोगले ऐनको त्यही व्यवस्थाबमोजिम उपनिर्वाचन गर्ने जनाएको छ ।

‘अहिले अदालतको फैसला आएको छ, हामीलाई त्यसको औपचारिक जानकारी आइसकेको छैन, अदालतले गरेको निर्णय हामीले मान्ने हो,’ आयोगका ती अधिकारीले भने, ‘अदालतको निर्देशनबमोजिम हामी अघि बढ्छौँ ।’

चितवन–२ बाट निर्वाचित भएका लामिछाने उपप्रधान तथा गृहमन्त्रीसमेत बनेका थिए । सर्वोच्च अदालतले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिइसकेको, तर स्वदेश फिर्ता भएपछि नागरिकता कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै हाल उनी नेपाली नागरिक नरहेको ठहर गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेर छोटो समयमै निर्वाचन लडेका लामिछानेले चितवन–२ मा नेपाली कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री उमेश श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए ।

प्रकाशित : माघ १३, २०७९ १९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×