२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

नेपालगन्जमा एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन

रुपा गहतराज

नेपालगन्ज — केही समयअघि बाँकेको नेपालगन्जका अस्पतालबाट निस्कने फोहोर मुख्य चुनौती बनेको थियो । उचित व्यवस्थापन नहुँदा फोहोरले रोगको संक्रमण बढाउने चिन्ता थियो तर नेपालगन्ज  उपमहानगरपालिकाले जर्मन सहयोग कार्यक्रम जीआईजेटको समन्वयमा फोहोर व्यवस्थापनका लागि कदम बढाएको छ ।

नेपालगन्जमा एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन

नेपालगन्जमा ३० टन भण्डारण गर्ने क्षमता भएको डम्पिङ साइडमा अस्पतालजन्य फोहोर फ्याकिँदैन । त्यसलाई व्यस्थापन गर्न नेपालगन्जस्थित हिरमिनिया ल्यान्डफिल्ड साइडमा एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

फोहोरमैला व्यवस्थापनका लागि उपमहानगरपालिकाले ४६ लाख रुपैयाँमा आवश्यक संरचना तयार गरेको हो । संक्रमित फोहोर निर्मलीकरणका लागि जीआईजेटले दुईवटा अटोक्लेब मेसिन र एउटा बेलर मेसिन सहयोग गरेको छ ।

भेरी अस्पताल, नेपालगन्जमा दैनिक निस्किने फोहोरलाई निर्मलीकरण गरेर पुनः प्रयोगमा आउनेलाई बेच्दा मासिक ३५ हजार रुपैयाँ आम्दानी हुने गरेको छ ।

दैनिक दुई सय ५० किलो फोहोर संकलन हुने भेरीमा फोहोर निर्मलीकरण गर्नका अस्पतालले फोहोरलाई ढुवानी गर्ने, निर्मलीकरण गर्ने र पृथकीकरण गर्न चार जना कर्मचारी राखेको छ । अस्पतालका प्राविधिक सहयोगी गंगा खत्रीका अनुसार सुरुमा फोहोरलाई वर्गीकरण गरिन्छ । ‘पहिला त प्लास्टिक फोहोरलाई वर्गीकरण गरेर छुट्याएर राख्छौँ । त्यसपछि निर्मलीकरण गरिन्छ । त्यसलाई फेरि छुट्याइन्छ‚’ अस्पतालका प्राविधिक सहयोगी खत्रीले भने, ‘बिक्री हुनेलाई एकातिर राखिन्छ भने नबिक्नेलाई नष्ट गर्न पठाउँछौँ ।’

अस्पतालले एक वर्षदेखि नै यो विधि अपनाइरहेको छ । भेरी अस्पतालका मेसु डाक्टर बद्री चापागाईंले फोहोर बेचेको पैसाले दुई जना कर्मचारीलाई तिर्ने पैसा आम्दानी भइरहेको बताए ।

अन्य फोहोरको तुलनामा स्वास्थ्यजन्य फोहोर दूषित र संक्रामक हुने भएकाले सरसफाइकर्मी व्यक्तिगत सुरक्षाका लागि पीपीई सेटलगायतका सामग्री वितरण गरिएको छ । स्वास्थ्य बिमा र परीक्षणको समेत व्यवस्था मिलाइएको छ ।

एक दर्जन अस्पताल र तीन दर्जनभन्दा बढी स्वास्थ्य संस्था खुलेको नेपालगन्जमा दैनिक चार क्विन्टलभन्दा बढी अस्पतालजन्य फोहोर निस्कने गरेको छ ।

प्रकाशित : माघ १३, २०७९ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?