दिनहुँ १४ घण्टा सडक बन्दले यात्रु हैरान- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिनहुँ १४ घण्टा सडक बन्दले यात्रु हैरान

माधव अर्याल

पाल्पा — सडक चौडा गर्न दिउँसोको समयमा दिनुहँ सडक बन्द हुँदा दैनिक सयौं यात्रुले समयमा गन्तव्य पुग्न सकेका छैनन् । पाल्पा–गुल्मी सडकखण्ड अन्तर्गत तानसे–रिडी सडक गत मंसिरको तेस्रो सातादेखि दैनिक १४ घण्टा बढी बन्द हुने गरेको छ ।

सडक चौडा गर्न सडक डिभिजन कार्यालयको समन्वयमा निर्माण व्यवसायीले सडक बन्द गरेर काम गरेको छ । तीव्र गतिमा काम नगर्दा दुई महिनादेखि सडकमा यात्रा गर्ने यात्रुले समयमा गन्तव्यमा पुग्न नसकेको गुनासो गरेका छन् । दैनिक कम्तीमा १४ घण्टा सडक बन्द हुँदा पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्मका सवारी साधन र यात्रुले सास्ती बेहोर्नु परेको हो ।

‘समयमा पुग्न नसक्दा धेरै समस्या हुन्छ,’ बाग्लुङ अधिकारीचौरबाट बुटवल जाने यात्रु देवका अधिकारीले भनिन्, ‘एक महिना आउँदा पनि चार घण्टा सडकमै बस्नु परेको थियो । अहिले पनि उही अवस्था रहेछ । कहिले हो यो सडक बन्ने ?’ उनका अनुसार समयमा बुटवल पुग्न नसक्दा गन्तव्यसम्म पुग्ने अर्को सवारी साधन पाउन सकिदैन । आफन्तकोमा पुग्दा राति अबेर हुन्छ । यस्ता समस्यालाई ख्याल गर्नुपर्ने उनले सुझाइन् ।

उनी मात्र होइन गुल्मीको आँपचौरका रमेश अर्याल पनि बुटवल पुगेर पश्चिम जानुपर्ने छ । तर बेलुकी भइसक्दा पनि बाटोमै बस्नु परेकाले समस्या आउने चिन्तामा थिए । ‘बेलुकी भइसक्यो गएर गन्तव्य पुग्न समस्या हुने भयो,’ उनले भने, ‘समस्या समाधान छिटो गर्नुपर्छ । दिउँसोमा सकेसम्म नरोके हुन्थ्यो भन्नेलाग्छ ।’ दिउँसोको समयमा लामो समय सडक बन्द हुँदा पहाडबाट तराई र तराईबाट पहाड उक्लेकाहरुका लागि समस्या हुने यात्रुको गुनासो छ ।

यस सडकखण्ड बन्द हुँदा सवारी साधन वैकल्पिक सडकको प्रयोग गर्न सडक डिभिजनले अनुरोध गरेको छ । तर जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाबाट आवतजावत गर्न समस्या छ । सडक अप्ठेरो भएकाले यहाँबाट सवारी साधन ओहोरदोहोर गर्न मान्दैनन् । जीप, बसलगायत साना सवारी साधन दुर्घटना भएपछि झन् उक्त सडक प्रयोग गर्न मान्दैनन् । ‘सडक राम्रो भए हुन्थ्यो,’ गुल्मी गौंडाकोटका मोटरसाइकल चालक जयन्त खत्रीले भने, ‘उकालो, धुलो, खाल्डाखुल्डी भएकाले साना सवारी साधन सञ्चालन गर्न समस्या छ ।’

सडक डिभिजनले दुई वर्षअघि र यसैवर्ष लागेको ठेक्काको काम गराउन मंसिरको तेस्रो सातादेखि दैनिक १४ घण्टा बन्द गरेर काम गराएको छ । सडक डिभिजन प्रमुख प्रदीपमणी निरौलाले पाल्पा–गुल्मी सडक खण्डको मालमुल–जोर्ते–रिडी सडकखण्ड चौडा गर्ने कामको बन्द गर्ने समय पुनरावलोकन हुने बताए । उनले फागुन ९ गतेसम्म दैनिक १२ घण्टा बन्द गर्ने सूचना पठाए पनि जिल्ला प्रशासन कार्यालयको समन्वयमा समयमा हेरफेर हुने बताए । ‘यात्रुको समस्यालाई बुझेका छौं, ’ उनले भने, ‘अब बिहान ५ बजेदेखि ९ र बेलुकी ७ देखि १० बजेसम्म बन्द गरेर काम गराउने भन्ने भएको छ ।’

एक महिनामा तोकिएको सडक चौडा तथा मर्मत कार्य सम्पन्न हुने सडक डिभिजन प्रमुख निरौलाले बताए । ‘तोकिएको समयमा ठेकेदारले काम सम्पन्न गर्नसक्छ भन्ने हो,’ उनले भने । निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगरेकाले सडक डिभिजनले दैनिक सडक बन्द हुने सूचना जारी थप्दै लगेको छ । हरेक १५ दिनको म्याद थप्दै लगेकाले यस भेगमा यात्रा गर्ने यात्रुले सास्ती खेप्दै आएका छन् ।

अघिल्लो वर्ष लगाएको ठेक्काको काम समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई सडक बन्द गरेर भएपनि काम गराएको सडक डिभिजनले जनाएको छ । जोर्ते भीर आसपास क्षेत्रमा दुई वर्ष अघि लागेको ठेक्काको काम अझै सकिएको छैन । मालमूल क्षेत्रमा भने यसैवर्ष ठेक्का लागेको हो । मुख्य निर्माण व्यवसायीले काम नगर्ने र दोस्रो व्यक्तिलाई काम दिँदा पनि समस्या भएको हो । सडक डिभिजन प्रमुख निरौलाले मुख्य निर्माण व्यवसायीलाई बोलाएर छलफल गरिएको बताए ।

जोर्ते क्षेत्रमा प्रदीप साइज जेभी बुटवलले दुई वर्षअघि लिएको ठेक्काको काम समयमा सम्पन्न गरेको छैन । झण्डै २ करोडमा लिएको ठेक्का दोस्रो, तेस्रो व्यक्तिलाई काम गराउने, ढुंगा बिक्रीमा ध्यान दिने गर्दा नै काममा ढिलाई भएको हो । प्रदीप साइन जेभीले कटानको काम गर्ने भन्दा बढी ढुंगा बिक्री गर्ने आशयले काम गरेकाले काममा ढिलाई भएको स्थानीयले गुनासो गर्दै आएका छन् ।

रिब्दीकोट गाउँपालिका–३, मालमुल क्षेत्रमा कामको ठेक्का लिएको दर्शन–वीएण्डबी जेभीले एक किलोमिटर सडक चौडा गर्ने, दुई किलोमिटर कालोपत्रे गर्ने र नाली निर्माणको काम लिएको छ । ४ करोड ठेक्का भएपनि घटेर ३ करोड २९ लाखमा ठेक्का लिएको छ । यस्तै यही क्षेत्रमा अधिकारी–कार्की जेभीले ४ किलोमिटिर सडक कालोपत्रे, चौडा गर्ने लगायतका कामका लागि ४ करोड ५० लाखको काम भइरहेको छ ।

प्रकाशित : माघ ११, २०७९ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड अर्को साता आउँदै

जगदीश्वर पाण्डे

काठमाडौँ — अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड अर्को साता नेपाल भ्रमणमा आउँदै छिन् । परराष्ट्र स्रोतका अनुसार नुल्यान्डले माघ १५ र १६ मा नेपालको भ्रमण गर्ने तय भएको छ ।

पुस १३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नयाँ वामपन्थी सरकार बनेपछि विदेश मुलुकबाट नेपालमा हुन लागेको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो ।

उपमन्त्री नुल्यान्ड बदलिँदो भूराजनीतिक परिवेशमा नेपालको भ्रमण गर्दै यहाँको वस्तुस्थिती बुझ्न र नयाँ सरकारसँग सहकार्य गर्नका लागि आउन लागेको परराष्ट्रका एक अधिकारीले बताए । उनले प्रधानमन्त्री दाहालसहित एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन, परराष्ट्र मन्त्री विमला राई पौड्याललगायतलाई भेट्ने छिन् । स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने बारेमा भने टुंगो लागिसकेको छैन ।

नेपालमा सरकार गठनलगत्तै प्रधानमन्त्रीको दुई छिमेकी मुलुकहरू भारत र चीन भ्रमणको विषयमा बहस भइरहेको बेलामा अमेरिकाबाट भ्रमण हुन लागेको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भने भ्रमणको बारेमा गृहकार्य भइरहे पनि मितिको सम्बन्धमा अन्तिम टुंगो लागिनसकेको बताइन् ।

स्रोतका अनुसार अमेरिकी उपमन्त्री नुल्यान्डको भ्रमणको विषयमा आज वा भोलिसम्म वासिङ्टन डीसीबाटै विज्ञप्ति जारी गरी भ्रमणको जानकारी सार्वजनिक हुनेछ ।

परराष्ट्रका एक अधिकारीका अनुसार यो भ्रमणमा मुख्य गरी अमेरिकाको अनुदान सहयोगमा अघि बढेको मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) को सहयोगमा भइरहेको कामको बारेमा छलफल हुनेछ । साथै, उपमन्त्री नुल्यान्डले नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकासका लागि नियोग (यूएसएआईडी) मार्फत भइरहेका र भविष्यमा हुने प्रस्तावको बारेमा पनि छलफल गर्नेछिन् ।

साथै, भेटवार्ताहरूमा अमेरिकी मन्त्री नुल्यान्डले अमेरिकाको प्राथमिकतामा रहेका विषयहरु मानव अधिकार, प्रजातन्त्र, शरणार्थीलगायत विषयमा कुरा गर्ने अनुमान गरेको परराष्ट्रका ती अधिकारीले बताए ।

प्रकाशित : माघ ११, २०७९ १०:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×