धार्मिक पर्यटनको विकास आवश्यक छ : मुख्यमन्त्री गिरी- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धार्मिक पर्यटनको विकास आवश्यक छ : मुख्यमन्त्री गिरी

सन्जु पौडेल

तिलोत्तमा — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले धार्मिक पर्यटनको विकास गर्न आवश्यक रहेको बताएका छन् । उनले भौतिक पूर्वाधारको विकासले मात्रै मुलुकको विकास हुन नसक्ने भन्दै धार्मिक पर्यटनका लागि योजना अगाडि बढाउनु पर्ने बताए ।

'मुलुकको समग्र विकासका लागि आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक विकासलाई एकसाथ अगाडि बढाउनु पर्छ,' उनले भने, 'धार्मिक क्षेत्रको विकासका लागि प्रदेश सरकारले योजनाबद्ध रुपमा काम अगाडि बढाउनेछ ।'

रुपन्देहीको ओमसतीया गाउँपालिका–४, बसन्तपुर डण्डा नदीको तटमा जारी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको मंगलबार अवलोकनको क्रममा मुख्यमन्त्री गिरीले यस्तो बताएका हुन् ।

यस्ता धार्मिक कार्यक्रमले सनातन धर्मको रक्षाका लागि ठूलो सहयोग गर्ने र त्यसले आम मानिसलाई सत्कर्ममा अघि बढ्न प्रेरित गर्ने बताएका थिए ।

नेपालका प्रथम जगद् गुरु बालसन्त मोहन शरण देवाचार्यले दक्षिण धामका रुपमा भैरहवामा पीठ निर्माणको पहलकदमी थालेका छन् । 'पूर्वमा चतराधाम बराहक्षेत्रमा प्रथम जगद् गुरु पीठ, दोस्रो शारदा पीठ महाकाली, तेस्रो निलाद्री पीठ मुक्तिनाथ क्षेत्र जोमसोम स्थापना भइसकेको छ’, जगद् गुरु देवाचार्यले भने, 'अब भैरहवा दक्षिण पीठका रुपमा धाम बनाउने मेरो उद्देश्य हो । यसका लागि रुपन्देहीबासीको माया, सद्भाव र सहयोग आवश्यक छ ।’ महायज्ञमा मुख्यमन्त्री गिरीलाई अभिनन्दनसमेत गरिएको थियो ।

प्रकाशित : माघ १०, २०७९ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्

तानमा ढाका कपडा बुनेर घरमै आम्दानी

ढाकाका सामान किन्न सांसद, नेतालगायत विभिन्न संघसंस्थाका कर्मचारीसमेत आउँछन्
सन्जु पौडेल

लुम्बिनी — रूपन्देहीको सियारी–६ की २६ वर्षीया वसन्ती सूर्यवंशी बिहानदेखि साँझसम्म व्यस्त हुन्छिन् । बिहान १० बजे घरको सबै धन्दा सकेर काममा जाने उनी साँझ ५ बजेपछि फर्किन्छिन् । दिनभरि तानमा बसेर ढाकाका साडी बुन्ने उनले घरखर्च चलाउन आँगनकै रोजगारीले सघाएको बताइन् ।

२० वर्षमा विवाह गरेर आएकी उनले स्नातक दोस्रो वर्ष पढ्दा पढ्दै छाडिन् । पढ्न छाडे पनि केही सीप सिकेर अघि बढ्नुपर्छ भन्ने लागेर गाउँमै तालिम लिएर अहिले त्यसैबाट आम्दानी गरिरहेको उनको भनाइ छ । ‘मासिक ३ वटा साडी बुनेर सक्छु,’ उनले भनिन्, ‘हातले बनाएको ढाकाको प्रतिसाडी ३ हजार रुपैयाँका दरले बिक्री हुन्छ ।’

गाउँमा रहेको महिला समूहका अगुवाले ढाका बुन्ने तालिम आएको जानकारी गराएपछि अवसर सदुपयोग गरेको सूर्यवंशीले बताइन् । ‘तीनमहिने सिकाइले ढाका बुन्ने सीप सिकायो,’ उनले भनिन्, ‘तानमा बसेर साडी, चोलो, ब्लाउज, पछ्यौरालगायत विभिन्न ढाकाका कपडा बुनेर ग्राहकलाई बिक्री गरी पैसा कमाउँछु ।’ सूर्यवंशी आफ्नो समूहकी अगुवा हुन् । अरूलाई नआएको काम उनले सिकाइदिन्छिन् । उनी जस्तै सियारी–७ की पूजा अधिकारी तानमा बसेपछि एउटा पछ्यौरा नबुनी उठ्दिनन् । तानमा उनको हात अत्यन्तै छिटो चल्छ ।

‘आफूले गर्न सके जति कमाइने भएपछि रहर लाग्छ,’ उनले भनिन्, ‘जति धेरै मिहिनेत र उत्पादन, त्यति कमाइ ।’ विगत २ वर्षदेखि चलिरहेको उद्योगमा काम गरेर ढाका बुन्न सक्ने महिला भन्ने पहिचान बनाएकामा खुसी लाग्ने गरेको उनले बताइन् । काम गर्दा साथीभाइसँग हँसीमजाक गर्ने, दुःखसुख साट्ने गर्दा जति नै पीडा भए पनि मन हल्का हुने गरेकाले काम नछाडीकन गरिरहेको उनको भनाइ छ । ‘घरमा दुई–चार पैसा चाहिए पनि कि त श्रीमान्को मुख ताक्नुपर्ने कि अर्काकामा मजदुरी गर्न जानुपर्थ्यो,’ उनले भनिन्, ‘सीपसँगै आम्दानी पनि राम्रो हुँदै आएको छ, यसैलाई सकुन्जेल गर्नेछु ।’ ढाकाको कमाइबाटै छोराछोरीको पढाइ खर्च र घरको आर्थिक गर्जो टार्न सक्दा आफूलाई आत्मसन्तुष्टिसमेत मिलेको अधिकारीले बताइन् ।

वसन्ती र पूजासहित ८ जना स्थानीय महिलाले प्रत्यक्ष रोजगारी पाइरहेको सियारी गाउँपालिका–७ मा रहेको सियारी ढाका उद्योग स्थानीय बजारमा नाम कमाएको उद्योगमा पर्छ । उक्त उद्योग विगत २ वर्षदेखि सञ्चालित छ । तत्कालीन गाविस छँदा गाउँका महिलाले केही रकम भए पनि बचत गर्नुपर्छ भन्ने उद्देश्यले बचत समूह बनाएका थिए । ५ रुपैयाँ बचतबाट सुरु भएको समूह हाल श्री नारी एकता महिला विकास बचत ऋण तथा सहकारी संस्था लिमिटेडका नामबाट परिचित छ । ०६३ सालमा स्थापित संस्थामा ७ सय ५० बढी महिला सदस्य रहेको अध्यक्ष हुमा भुर्तेलको भनाइ छ । नारी एकताकै पहलमा स्थानीय महिला दिदीबहिनीलाई तीनमहिने ढाका बुनाइ तालिम दिइएको थियो ।

तालिमबाट सिकेर अघि बढेका महिलालाई रोजगार प्रदान गर्न सियारी गाउँपालिकाको कार्यालयबाट पहिलो वर्ष ८ लाख र दोस्रो वर्ष ५ लाख रुपैयाँ सहयोग प्राप्त गरेपछि स्थानीय बजार लक्षित ढाका उद्योग सञ्चालनमा ल्याएको उनले जानकारी दिइन् । सहकारीकी पूर्वअध्यक्ष इन्दिरा अर्याल पाल्पाकी ढाका व्यवसायी थिइन् । उनी सियारीमा बसाइँ सरेर आएपछि महिला लक्षित कार्यक्रम गर्नुपर्छ भन्ने सोचअन्तर्गत ढाका बुन्ने तालिम चलाइएको भुर्तेलले बताइन् । एक/दुई वटाबाट सुरु गरेकामा अहिले ६ वटा तानमा ढाकाका साडी, सल, थान कपडा आदि बुनिने गरेको पूर्वअध्यक्ष अर्यालले जनाइन् ।

दिनभरि घरमा फाल्तु बस्नुभन्दा दिदीबहिनीले आफैं कमाएर परिवारको खर्च धान्न सक्ने र सिकाएपछि काममा आउने तालिम दिनुपर्छ भन्ने लागेर तालिम दिइएको उनले बताइन् । ‘हामीले उद्योग चलाएर स्थानीय महिलालाई अघि बढाउने पहल नै थालेका हौं,’ उनले भनिन्, ‘स्थानीय सरकार आएपछि हामीले पाएको सहयोगले उद्योग फराकिलो बनाउँदै अघि बढ्नेछौं ।’ हाल पालिकाबाट विनियोजित ३ लाख रुपैयाँबाट थप तान बनाई अन्य महिलालाई समेत स्वरोजगार बन्ने माध्यममा जोड्ने उनको भनाइ छ ।

उद्योगमा उत्पादित सामग्री सियारीको बजार, बुटवल बजार र स्थानीय अन्य पालिकाका बजारमा बिक्री हुने गरेको छ । ‘उत्पादित सबै ढाका खपत हुन्छ,’ अध्यक्ष भुर्तेलले भनिन्, ‘हातले बुनेको भनेर मन पराउने र किन्ने धेरै ग्राहक आउनुहुन्छ ।’ उद्योगका लागि सहकारीको भवन सानो भइसकेको महसुस भएकाले प्रदेश सरकारसँग भवन निर्माणका लागि बजेट सहयोग माग्ने तयारी रहेको भूर्तेलले बताइन् ।

उद्योगमा अवलोकनका साथै ढाकाका वस्तु खरिद गर्न लुम्बिनी प्रदेशका सांसद, नेतालगायत विभिन्न संघसंस्थाका कर्मचारीसमेत आउने गरेको भूर्तेलले जनाइन् । उद्योगमा विदेशी पर्यटकसमेतको आगमन गराई हातबाट बुनेका ढाकाका कपडाको बजारीकरण बढाउन सकिने उनको भनाइ छ । ‘हालसम्म बजारीकरणको समस्या छैन,’ उनले भनिन्, ‘उत्पादित सबै ढाका बिक्री भएको छ । तर यति उत्पादनले मात्रै उद्योग निरन्तर रहँदैन, यसलाई बढाएर अझ धेरैलाई रोजगारी दिने चाहना छ ।’ सहकारीले बचत संकलनबाट खर्च व्यवस्थापन गर्न सकिरहेकाले ढाकामा बढी मुनाफा नराखीकन श्रमबापतको फिर्ती रकममात्र लिएर बिक्री गरिरहेको उनको भनाइ छ ।

प्रकाशित : माघ १०, २०७९ ०७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×