२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

खरखडाइको साटो काठ, दाउरा चोरी बढ्दो

कमल पन्थी

बर्दिया — यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा खरखडाइ गर्न २५ हजार बढीले प्रवेशका लागि पुर्जी लिएका छन् । माघ ९ गते देखि १० गतेका लागि निकुञ्ज प्रवेशका लागि किसानले खरखडाइ गर्न दिएपनि काठ, दाउरा चोर्ने सक्रिय भएका छन् ।

खरखडाइको साटो काठ, दाउरा चोरी बढ्दो

९ सय ६८ वर्ग किमी क्षेत्रफल ओगटेको निकुञ्जमा काठ, दाउरा चोर्नेलाई निकुञ्जले नियन्त्रण गर्न सकिरहेको छैन । सोमबार सुकेका, काँचो काठ पक्राउ गर्न हम्मेहम्मे परेको थियो । मंगलबार अन्तिम दिन भएका कारण ठूलो संख्यामा प्रवेश गरेकाबाट काठ चोरेर फर्कने क्रममा निकुञ्जको सिमानामा पक्राउ गरिएको छ । काठ चोर्नेलाई पक्राउ नगरी काठ बरामद गरिएको निकुञ्जले जनाएको छ । बर्दिया निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत मुकुन्द सञ्जेलले काठ, दाउरा चोर्नेलाई पक्राउ गरेर साध्य नभएको बताउँछन् । खरखडाइका नाममा काठ, दाउरा चोरी गर्ने सक्रिय भएका छन्,’ उनले भने‘निकुञ्जको ठाकुरबाबा नपा र गेरुवा गाउपालिका क्षेत्रमा व्यापक रुपमा ओसारेका काठ, दाउरा बरामद गरिएको छ ।,

कच्ची फुसका घर छाउन र भित्ता बनाउन प्रयोग हुने खरखडाइको साटो काठ, दाउरा चोरी भइरहेको छ । निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीले समेत काठ, दाउरा चोरी गर्नेलाई नियन्त्रणमा लिन हम्मे हम्मे परेको स्थानीयले बताए । बर्दिया राष्ट्रिय निकुञ्जमा हरेक वर्ष हिउँदमा खरखडाइका लागि २५ देखि ३० हजार सर्वसाधरणका लागि खुला गरिन्छ । वर्ष भरीका लागि आवश्यक वनकश(बाबियो)प्राप्त गरुन् भन्ने उद्देश्य भएपनि काठ चोर्ने, माछा मार्ने लगायत गतिविधि गर्ने मानिस सक्रिय हुन्छन् ।

हरेक वर्ष पुस, माघ महिनामा खरखडाइ खुल्ने गर्छ । गत वर्ष पनि २५ हजार बढीले खरखडाइ गरेका थिए । यस वर्ष पनि निकुञ्जमा दुई दिन सम्मको लागि खरखडाइ खुला गरिएको छ । उनीहरु जंगलबाट खर, बाबियो, खरिया आदि काटेर लैजान्छन् ।

निकुञ्जसँग जोडिएका बाँके, कैलाली र सुर्खेत जिल्लाका बासिन्दाले वर्षभरिका लागि आवश्यक वनकश(बाबियो)प्राप्त गर्ने एकमात्र स्रोत बर्दिया निकुञ्ज हो । गाउँ घर नजिक जताततै सामुदायिक वन भएकोले पनि खडखडाइको समस्या कम हुँदै जानु, पक्की घर धेरै बनी सकेको कारण पनि विगतको जस्तो समस्या नभएका कारण खरखडाइ गर्ने पुरानो परम्परा घट्दै गएको छ ।

बर्दिया निकुञ्जमा खरखडाइ पर्वका अवसरमा हजारौं मानिस एकै पटक प्रवेश गर्दा वन्यजन्तुलाई निकै बाधा पुग्ने गरेको निकुन्जका कर्मचारी बताउँछन् । खरखडाइ पर्वका दिन स्थानीय थारु जातीले विशेष किसिमको जाँड तयार पार्छन् । खरखडाइ पछि राति उनीहरु नाच्ने, रमाइलो गर्ने गरेका हुन्छन् । हरेक दिन सूर्योदय हुनासाथ निकुञ्ज प्रवेश गरी दिनभर खरखडाइ काट्ने किसान सूर्यास्त हुनासाथ निकुञ्जको घेरा बाहिर निस्कन्छन् ।

घर नजिक हुने घर फर्किन्छन् भने टाढाटाढाबाट आएकाले निकुञ्ज बाहिर साना—साना छाप्रा हालेर बसेका हुन्छन् । वर्षको एकपल्ट यसरी दुःख गर्दा कुनै सास्ती हुँदैन बरु रमाइलो नै लाग्छ ठाकुरबाबा नगरपालिका—४ का लहानु चौधरी बताउँछन् । दुई दशकयता खडखडाइका समय वन्यजन्तुको आक्रमणबाट १६ जनाको ज्यान गएको थियो । यस वर्ष खरखडाइको पहिलो दिन गैंडाको आक्रमणमा दुई जना घाइते भएका छन् ।

प्रकाशित : माघ १०, २०७९ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याए सम्बन्धित पक्षबाट क्षतिपूर्ति भराउने गृहमन्त्रीको निर्णय कस्तो लाग्यो ?