सियारीमा युवा नवप्रवर्तनात्मक विचार प्रतियोगिता- लुम्बिनी - कान्तिपुर समाचार

सियारीमा युवा नवप्रवर्तनात्मक विचार प्रतियोगिता

अमृता अनमोल

बुटवल — युवा प्रतिभा प्रस्फुटन गर्न भन्दै रुपन्देहीको सियारीमा जिल्लास्तरीय युवा प्रतिभाहरुको खोजी तथा नवप्रवर्तनात्मक विचार प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहबाट छनोट भएका १६ देखि ४० वर्ष उमेर समूहका युवा सहभागी थिए । युवायुवतीले आफूले तयार गरेको नवप्रवर्तनात्मक विचार, प्रविधिको प्रदर्शनी तथा प्रस्तुति दिएका थिए ।

प्रतियोगितामा सुजन पौडेल उत्कृष्ट हुँदै प्रदेशस्तरीय कार्यक्रमका लागि छनोट भएका छन् । सियारी गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा निरङकर भुज द्वितीय र सञ्जय मुराउ तृतीय भएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए ।

प्रकाशित : माघ ८, २०७९ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्

१ र २ रुपैयाँका सिक्का छाप्ने मेसिन नेपालमै तयार, नमुना परीक्षण सफल 

कान्तिपुर संवाददाता

काठमाडौँ — चलनचल्तीमा रहेका नेपाली सिक्का छाप्नको लागि टक्सार विभागले मेसिन तयार पारेको छ । राष्ट्र बैंक अन्तर्गतको टक्सार विभागले पुराना मेसिनलाई मर्मत सम्भार गरी सिक्का छाप्न सक्ने अवस्थामा पुर्‍याएको हो । विभागले परीक्षणका रुपमा चलनचल्तीको नमुना सिक्का छाप्न (बनाउन) थालिसकेको छ ।

करिब दुई दशकपछि टक्सारले नेपालमै परीक्षणका रुपमा सिक्का छाप्न थालेको राष्ट्र बैंक टक्सार विभागका निर्देशक विनोदराज आचार्यले जानकारी दिए । नेपालमा दुई दशक अघिसम्म राष्ट्र बैंकले सुन्धारास्थित टक्सार विभागबाट सबै प्रकारका सिक्का (चलनचल्तीका र सुन तथा चाँदीका स्मारिका) बनाउँदै आएको थियो । पछि राष्ट्र बैंकले चलनचल्तीका सिक्का बनाउन छोड्यो । त्यसपछि चाँदीका स्मारिका सिक्का र सुनका असर्फी मात्र बनाउन थाल्यो ।

अहिले पुराना मेसिनलाई मर्मत सम्भार गरेर चलनचल्तीका सिक्का छाप्न मिल्ने गरी बनाएर तयारी अवस्थामा पुर्‍याइएको र परीक्षणका रुपमा केही थान सिक्का छपाइ गरिएको निर्देशक अचार्यले बताए । ‘अहिले छपाइ गरिएको सिक्का परीक्षणका लागि मात्र धातुलाई सिक्काको आकार दिइएको हो । परीक्षणका लागि भएकाले ती सिक्कामा कुनै एक वा दुई वा पाँच, दश रुपैयाँ भनेर कुनै नम्बर उल्लेख गरिएको छैन,’ उनले भने, ‘पुराना मेसिनलाई मर्मत सम्भार गरेर हेर्दा काम गर्दो रहेछ कि रैनछ भनेर मात्र हेरिएको हो ।’ परीक्षण सफल भएको र राष्ट्र बैंकको उच्च व्यवस्थापनले चलनचल्तीका सिक्का नेपालमै छपाइ गर्ने भन्ने निर्णय गरेको अवस्थामा टक्सार विभाग सबै पक्षबाट तयार भएको उनले दाबी गरे ।

‘२० वर्षदेखि रोकिएको काम करिब १ महिनाको अथक प्रयासबाट टक्सार विभाग नमुना सिक्काको परीक्षण उत्पादन गर्न सफल भएको छ,’ उनले भने, ‘अब औपचारिक रुपमै सिक्काको छपाइ नेपालमै थालेमा पैसा छाप्नकै लागि हरेक वर्ष बाहिरिने केही रकम नेपालभित्रै रोकिने छ ।’ उक्त सिक्का छपाइका लागि हाल ४ वटा मेसिन रहेको र प्रति मेसिनले एक सेकेन्डमा २ वटा सिक्का तयार गर्न सक्ने बताइएको छ । यसरी हेर्दा १ मिनेटमा ४ सय ८० वटा र एक घण्टामा २८ हजार ८ सय ८० वटा सिक्का उत्पादन गर्न सक्ने टक्सार विभागले जनाएको छ ।

केही वर्षयता नेपालले एक र दुई रुपैयाँका कागजी नोट छाप्न छोडेको छ । ती दरका रुपैयाँको सिक्का मात्र छाप्दै आएको छ । ती सिक्का विदेशमै छापिँदै आएको छ । राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिएको सिक्का अरु कागजी नोट जस्तो सम्पूर्ण रुपमा वित्तीय प्रणालीमा फर्किँदैन । यसकारण पनि हरेक वर्ष नयाँ सिक्का छाप्न करोडाैं रुपैयाँ खर्च हुने तर त्यो पैसा वित्तीय प्रणालीमा नफर्किने भएकाले बढी खर्चिलो भएको जानकार बताउँछन् ।

प्रकाशित : माघ ८, २०७९ १४:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×