कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

३६ वर्षदेखि चिया व्यापार

अलाउद्दिनले सुरूवाती वर्षमा ठेला भाडामा लिएर चिया पसल थालेका थिए, यो लामो यात्रामा उनका कैयौं ग्राहक फेरिए तर चियाको स्वाद फेरिएको छैन
सन्जु पौडेल

लुम्बिनी — साइकलका पाङ्ग्रा भए पनि उनको पुरानो ठेला गुड्दैन । किनकि यसका पाङ्ग्रा जमिनमा धसिएको छ अनि ठेला भित्तामा अडेस लागेझैं छड्के परेको छ । सिद्धार्थनगर–६ का ५३ वर्षीय अलाउद्दिन खान यही ठेलाअघि उभिन थालेको ३६ वर्ष भइसक्यो ।

३६ वर्षदेखि चिया व्यापार

ठेलामाथि राखिएका छन्, दुई वटा ग्यास स्टोभ । छेवैमा छ, चिया पकाउन दिउरी अनि गिलास, चियापत्ती, चिनी, कफी प्याकेट, मरीच, सुकमेल, सानो ओखल, कागती, समोसा, डुनट, पाउरोटी । साढे तीन दशकयता खुश्बु चिया पसल नामको यही ठेलामाथि पाकिरहेछ खुश्बुदार चिया ।

५३ वर्षीय अलाउद्दिन सुरुवाती वर्षमा ठेला भाडामा लिएर चिया पसल थालेका थिए । पछि उनले त्यही किनेर व्यवसायलाई निरन्तरता दिए । भैरहवाको व्यस्त बजारमा रहेको हुलाक कार्यालय हुँदै नगरपालिका जाने सडक छेउ अडिएको खानको ठेलामा हरदम उम्लिरहेका हुन्छ कडक चिया । यो लामो चिया व्यापारको यात्रामा उनका कैयौं ग्राहक फेरिए, दूधको रङ र बाक्लोपनमा परिवर्तन आयो । तर चियाको स्वादमा अहँ परिवर्तन आएको छैन ।

उनको चिया पसलको नाम खुश्बु रहनुका पछाडि पनि रमाइलो कारण छ । सुरुका केही वर्ष पसलको कुनै नाम थिएन । माइली छोरी जन्मेपछि उनले छोरीको नाम खुश्बु राखे अनि पसलको नाम पनि छोरीकै नामबाट जुराए । ठेलामा रहेको सानो ओखलमा उनी सुकमेल कुटिरहेका भेटिन्छन् । चनाखो आँखाले दिउरीमा उम्लिरहेको दूध र चिया पनि हेरिरहेका हुन्छन् । उनले पकाएको चियाको स्वाद स्थानीयले त लिएका छन् नै, बेलाबखत यता आइरहने दिल्ली, मुम्बईदेखि काठमाडौंसम्मका ग्राहकका बारम्बार चाखेका छन् ।

‘दैनिक ५० लिटर दूध सहजै कट्छ,’ उनले भने, ‘१ सय १० लिटरसम्म दूधको चिया एक दिनमा बिक्री गरेको सम्झना छ ।’ चिया व्यापार उनको पुस्तैनी व्यवसाय भने होइन । उनका बाबु सिलाइको काम गर्थे । १७ वर्षको उमेरमा गुडिया खानसँग प्रेम विवाह गरेपछि उनी आफ्नै खुट्टामा उभिने भन्दै बुबाआमासँग अलग भए । त्यसपछि सुरु भयो उनको चिया यात्रा । यो लामो यात्रामा उनको दैनिकी सधैं उस्तै छ । बिहान ४ बजे जुरुक्क उठ्छन्, पसलमा आइपुग्छन् अनि सुरु भइहाल्छ, सामान्य सरसफाइ र दूध उमाल्ने काम । घाम पनि नझुल्किँदै उनको ठेला छेउछाउमा चियाका पारखीहरू आइहाल्छन् । त्यसपछि त के फुर्सद हुनु ।

खानले चिया बेच्न थाल्दा यसको मूल्य प्रतिकप २ रुपैयाँ थियो । जुन बढेर अहिले २० रुपैयाँ पुगेको छ । छिमेकी पसल धनी, पसल र सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारी, मर्निङ वाक गर्ने मानिस, नगरपालिकाका कर्मचारी सबैले उनको चियाको स्वाद लिएरै दिन सुरु गर्छन् । कतिसम्म भने केही स्थानीय त यस्ता छन्, जो घरमा पाक्ने चियाले धित नमरेर उनीकहाँ आइपुग्छन् ।

खानले सुनाए, ‘सुरुवाती दिनमा जस्तो थियो, अहिले पनि चियाको स्वाद उस्तै छ । स्वादकै कारण ग्राहक बदलिँदैनन् ।’ उनका दैनिक ४ सय नियमित ग्राहक छन् । चिया बेचेर कहिल्यै नथाकेका खान गत वर्षदेखि गल्न थालेको महसुस गरेका छन् । किनभने कोरोना संक्रमणबाट उनकी श्रीमती गुडियाको मृत्यु भयो । श्रीमती हुन्जेल त उनीहरू साथसाथै आउँथे । खान चियाको जोरजाममा लाग्थे, गुडिया चना, परौठा पकाउँथिन् । खानलाई सुखदुःख साट्ने साथी हुन्थ्यो । पत्नी वियोगले उनलाई एक्लोपना र थकानको महसुस गराउन थालेको छ । उनले निराश स्वरमा सुनाए, ‘हरेस खाए पनि चिया बेच्न छोडेको छैन ।’

चिया बेचेरै खानले ३ छोरा र ४ छोरीको खर्चपर्च जुटाएका छन्, कोठा भाडा तिरेका छन् । उनले कमाएको भनेको त, ग्राहकको विश्वास मात्रै हो । उनका २१ वर्षीय जेठा छोरा नेजाम अहिले विदेशिने सोचमा छन् । माइला १७ र कान्छा १२ वर्षका छन् । दुई भाइ र बहिनीहरूको जिम्मेवारी बुबापछि आफ्नो काँधमा रहेकाले पैसा कमाउन विदेश जानुको विकल्प नरहेको नेजामले बताए । ‘बुबाले गरेको व्यवसायले हाम्रो परिचय बनाएको छ,’ उनले भने, ‘यसकै कमाइले जीवन चल्ने संकेत भने छैन ।’ बुबा छउन्जेल चिया पसल पनि नछाड्ने, भाइलाई बुबाको साथमा सघाउन लगाएर आफू वैदेशिक रोजगारीमा जाने उनले बताए ।

पछिल्ला ५ वर्षयता खानको चिया पसलका नियमित पारखी हुन्, मायादेवी–३ का नाथु केवट । उनले यहाँको जस्तो स्वादिलो चिया अन्त नपाइने बताए । ‘कामविशेषले हिँड्दा कति ठाउँमा चिया पिइन्छ,’ उनले भने, ‘खान दाइको जस्तो मीठो चिया कहीं पाइँदैन ।’ खानले फोन सम्पर्कका आधारमा केही कार्यालयमा पनि चिया पुर्‍याउँछन् । कुनै कार्यालयका कर्मचारी भने आफैं चिया लिएर जान्छन् ।

अहिलेसम्म खर्च कटाएर दिनको १ हजार रुपैयाँसम्म बचाएका खानले आफूपछि पनि छोराले यही काम अघि बढाए राम्रै हुने बताउँछन् । ‘मेरो मनले एक छोराले यही नै गरिराखून् भन्ने सोचेको छु,’ उनले भने, ‘उनीहरूको आफ्नो सोच होला, जे गर्लान्, राम्रो काम गरुन्, त्यत्ति हो ।’ खान ठेलामा चिया बेचेर आफूले बनाएको परिचय पैसाको तुलनामा धेरै माथि भएकामा खुसी छन् । ठूल्ठूला नेतादेखि सामान्य स्थानीय मानिसले आफूले पकाएको चिया पिउँदा गर्ने प्रशंसा जीवनभरिको नमासिने कमाइ भएको उनले बताए । ‘नाम–दाम यसैले दिएको छ,’ उनले भने, ‘सकुन्जेल चिया पकाउन छोड्दिनँ ।’

प्रकाशित : माघ ७, २०७९ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?