टाइगर प्यालेस रिसोर्टलाई सार्वजनिक जग्गा खाली गर्न अदालतको आदेश

अमृता अनमोल

बुटवल — रुपन्देही अदालतले तिलोत्तमामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्टलाई अतिक्रमण गरेको सार्वजनिक जग्गा खाली गर्न आदेश दिएको छ ।

टाइगर प्यालेस रिसोर्टलाई सार्वजनिक जग्गा खाली गर्न अदालतको आदेश

रिसोर्टले मिचेको जग्गा खाली गर्न माग गर्दै परेको रिटमा सुनुवाई गर्दै अदालतले खाली गर्न आदेश दिएको हो । जिल्ला अदालत रूपन्देहीका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले बिहीबार उक्त आदेश दिएको हो ।

जिल्ला अदालत रूपन्देहीका इजलास सहायक सन्तोष कुमार मिश्रका अनुसार उक्त रिसोर्टले तत्कालीन भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको करिब २३ कठ्ठा सार्वजनिक जग्गा, राजकुलो तथा सार्वजनिक कुलो मिचेर संरचना बनाएको थियोे ।

त्यसलाई खाली गरी उक्त जग्गा पुनः सार्वजनिक प्रयोगमा ल्याउन माग गर्दै लुम्बिनी नलकुप जल उपभोक्ता समितितर्फबाट अध्यक्ष थानेश्वर घिमिरेले जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेका थिए ।

हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिले तिलोत्तमा नगरपालिकाको कोटिहवामा ५ अर्ब रुपैयाँ बढी लगानी गरी २०७४ सालदेखि रिसोर्ट सञ्चालनमा ल्याएको थियो।

१५ बिगाह क्षेत्रफलमा फैलिएको रिसोर्टले सरकारी र सार्वजनिक जग्गा मिचेर विभिन्न संरचना बनाएको छ । जसमा क्यासिनो, सभाहल, स्वीमिङ पुल, रेष्टुरेण्ट समेत छन्।

प्रकाशित : माघ ६, २०७९ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?