भैरहवामा थारु समुदायको मौलिक माघी महोत्सव- लुम्बिनी - कान्तिपुर समाचार

भैरहवामा थारु समुदायको मौलिक माघी महोत्सव

माधव ढुंगाना

भैरहवा — थारु जातिको परम्परा, संस्कृति तथा जातीय पहिचान जोगाउने उद्देश्यले भैरहवामा ‘२६४७ औं थारु लवा वर्ष एवं माघी महोत्सव’ आयोजना गरिएको छ ।

थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति रुपन्देही तथा ओमसतिया गाउँपालिकाको सह आयोजनामा ओमसतिया गाउँपालिका २ पडसरीमा माघ ७ गते थारु कलाकारको सांस्कृतिक कार्यक्रमसहितको उक्त महोत्सव आयोजना गरिएको हो ।

थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष सतिश कुमार चौधरीले थारु भाषा, कला संस्कृति, खानाको पहिचान गराउने र पम्पराको संरक्षणका लागि महोत्सव आयोजना गरिएको जानकारी दिए ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको थियो । चौधरीका अनुसार माघ १ गते माघी मनाइने भए पनि थारुहरुको लागि माघ महिनाभर नै उत्सव हुने गर्छ । माघ महिनामै थारु समुदायमा बडघर फेर्ने, ज्याला बढाउने, सरसल्लाहले परिवारमा भागवण्डा गर्ने लगायत काम गर्ने चलन छ ।

आदिवासी थारुहरुलाई तराइको धर्तीपूत्र मानिए पनि जनसंख्याको आधारमा अहिले पनि राज्यका निकायहरूमा उनीहरूको प्रतिनिधित्व भएको छैन । महोत्सवबाट थारु समुदायको पहिचान र संस्कृति फैलाउने अपेक्षा गर्न सकिने चौधरीले बताए ।

महोत्सवमा थारु परिकारका रुपमा परिचित घोङी, ढिकरी, रिकवच, माछा लगायत परिकार खाने गरिन्छ । महोत्सवकै दिन थारु कल्याणकारिणी सभाको सचिवालय भवन तथा थारु संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम छ ।

महोत्सवमा गायक दिपेन चौधरी, मिलन चौधरी र गायिका उमा चौधरी लगायतले सांगीतिक प्रस्तुती दिने बताइएको छ ।

प्रकाशित : माघ ४, २०७९ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्

अघोषित लोडसेडिङले समस्यामा लुम्बिनीका उद्योग

१ हजार केभीएभन्दा धेरै विद्युत् खपत गर्ने उद्योगलाई बिहान ७ देखि ११ र साँझ ५ देखि १० बजेसम्म बत्तीबाहेक उद्योगका प्लान्ट नचलाउन प्राधिकरणको मौखिक निर्देशन
माधव ढुंगाना

भैरहवा — लुम्बिनी करिडोरमा रहेको जगदम्बा स्पिनिङ चौबीसै घण्टा सञ्चालन हुँदै आएको उद्योग हो । कपडा उत्पादनका लागि कच्चा पदार्थ धागो उत्पादन गर्दै आएको यस उद्योगले ९० प्रतिशत उत्पादन भारत र टर्की निर्यात गर्दै आएको छ । नेपाल विद्युत् प्राधिकरणले केही दिनदेखि अघोषित लोडसेडिङ गरेपछि भने उद्योग मारमा परेको छ ।

‘लोडसेडिङ भएपछि महँगो डिजेल प्रयोग गरेर उद्योग सञ्चालन गर्न सक्ने अवस्था नभएपछि उद्योग नै बन्द गर्ने गरिएको छ,’ उद्योगका निर्देशक चिरञ्जीवी रायमाझीले भने, ‘उद्योग नै बन्द गर्नुपर्दा झन्डै १० प्रतिशत उत्पादनमा कमी आएको छ ।’

प्राधिकरणले हालै मात्र १ हजार केभीएभन्दा धेरै विद्युत् खपत गर्ने उद्योगलाई बिहान ७ देखि ११ र साँझ ५ देखि १० बजेसम्म बत्तीबाहेक उद्योगका प्लान्ट नचलाउन मौखिक निर्देशन दिएको छ । प्राधिकरणको निर्देशनबाट जगदम्बा मात्र नभएर यस क्षेत्रका सबै ठूला उद्योग प्रभावित भएका छन् । अघोषित लोडसेडिङबाट यस क्षेत्रका स्टिल, सिमेन्ट, आल्मुनियम, खाद्यान्न, औषधि उद्योग बढी प्रभावित छन् । लोडसेडिङका कारण उत्पादन लागत महँगो पर्न थालेको व्यवसायीको गुनासो छ ।

‘बन्दप्रायः अवस्थामा रहेका सिमेन्ट उद्योग प्राधिकरणको लोडसेडिङबाट फेरि मारमा परेका छन्,’ लुम्बिनी करिडोरस्थित बृज सिमेन्ट उद्योगका महाप्रबन्धक रविरञ्जन गुप्ताले भने, ‘धराशायी अवस्थामा पुगेका सिमेन्ट उद्योग अहिले सहुलियत दरमा बिजुली उपलब्ध हुने समयमै लोडसेडिङ गरिएपछि थप मारमा परेका हुन् ।’ बजारमा माग नभएपछि यतिबेला दैनिक आठ–दस घण्टा मात्र सिमेन्ट उद्योग चल्ने गरेको र कहिलेकाहीँ माग बढी भए अतिरिक्त केही समय थप उद्योग चल्ने गरेको उनको भनाइ छ ।

उत्पादित वस्तुको मागमा कमी, सरकारको आर्थिक नीति, कच्चा पदार्थको अभाव, आर्थिक मन्दी र बैंकको उच्च ब्याजदरका कारण यस क्षेत्रका केही उद्योग बन्द अवस्थामा छन् । सबै उद्योगले उत्पादनमा कटौती गर्दै आएका छन् । केही उद्योगीले भने उत्पादन घटाएर दिनमा तीन–चार घण्टा मात्र उद्योग चलाउने गरेकाले प्राधिकरणले लोडसेडिङ गर्नु र नगर्नुले आफूहरूलाई कुनै अर्थ नराख्ने बताए । ‘सरकारको अर्थनीतिका कारण उद्योग नै नचल्ने अवस्थामा लोडसेडिङ होस् वा नहोस् खासै अर्थ राखेको छैन,’ भैरहवास्थित घरना फुड्सका निर्देशक विशाल गोयन्काले भने, ‘गहुँको आयात हुन नसक्दा सबै मैदा उद्योग बन्द हुने अवस्थामा पुगिसकेका छन् ।’

मुलुकमा सञ्चालित ४० वटा मैदा उद्योगमध्ये २२ वटा बन्द भइसकेका र सञ्चालन भइरहेकालाई पनि गहुँ अभावले प्रतिदिन चार–पाँच घण्टा मात्र उद्योग चल्ने गरेको उनले जनाए । भारत सरकारले नेपालमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धलाई सहजीकरण गराउनेतर्फ सरकारीस्तरबाट कुनै पहल नभएको उद्योगीहरूको गुनासो छ । स्पन्ज आइरन आयातमा भन्सार दर न्यून र अन्तःशुल्क छुट र फलामे बिलेट्स तथा वायर्सको कच्चा पदार्थ एमएस वायरको आयातमा साबिकमा भन्दा वृद्धि गरिएपछि धेरै फलामे बिलेट्समा आधारित स्टिल र वायर उद्योग बन्द भइसकेका छन् ।

एक हजार केभीएभन्दा धेरै विद्युत् खपत गर्ने भैरहवा क्षेत्रका दुई दर्जनभन्दा धेरै ठूला उद्योगलाई तोकिएको समयमा उद्योग सञ्चालन नगर्न मौखिक आग्रह गरिएको नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले जनाएको छ । ‘हाम्रो उत्पादनमा कमी र आवश्यकताअनुरूपको विद्युत् भारतबाट नआउँदा विद्युत् अभाव भएको हो,’ प्राधिकरणको भैरहवा वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले भने, ‘यति बेला विद्युत्को अभाव सबैतिर भएकाले ठूला उद्योगलाई केही घण्टा विद्युत् खपत नगर्न माथिबाटै मौखिक निर्देशन आएकाले सोहीअनुरूप व्यवस्थापन गरिएको हो ।’ कुनै पनि उद्योगको विद्युत् लाइन भने नकाटिएको उनले बताए ।

प्रकाशित : पुस २९, २०७९ ०७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×