कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

भैरहवामा थारु समुदायको मौलिक माघी महोत्सव

माधव ढुंगाना

भैरहवा — थारु जातिको परम्परा, संस्कृति तथा जातीय पहिचान जोगाउने उद्देश्यले भैरहवामा ‘२६४७ औं थारु लवा वर्ष एवं माघी महोत्सव’ आयोजना गरिएको छ ।

भैरहवामा थारु समुदायको मौलिक माघी महोत्सव

थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति रुपन्देही तथा ओमसतिया गाउँपालिकाको सह आयोजनामा ओमसतिया गाउँपालिका २ पडसरीमा माघ ७ गते थारु कलाकारको सांस्कृतिक कार्यक्रमसहितको उक्त महोत्सव आयोजना गरिएको हो ।

थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष सतिश कुमार चौधरीले थारु भाषा, कला संस्कृति, खानाको पहिचान गराउने र पम्पराको संरक्षणका लागि महोत्सव आयोजना गरिएको जानकारी दिए ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको थियो । चौधरीका अनुसार माघ १ गते माघी मनाइने भए पनि थारुहरुको लागि माघ महिनाभर नै उत्सव हुने गर्छ । माघ महिनामै थारु समुदायमा बडघर फेर्ने, ज्याला बढाउने, सरसल्लाहले परिवारमा भागवण्डा गर्ने लगायत काम गर्ने चलन छ ।

आदिवासी थारुहरुलाई तराइको धर्तीपूत्र मानिए पनि जनसंख्याको आधारमा अहिले पनि राज्यका निकायहरूमा उनीहरूको प्रतिनिधित्व भएको छैन । महोत्सवबाट थारु समुदायको पहिचान र संस्कृति फैलाउने अपेक्षा गर्न सकिने चौधरीले बताए ।

महोत्सवमा थारु परिकारका रुपमा परिचित घोङी, ढिकरी, रिकवच, माछा लगायत परिकार खाने गरिन्छ । महोत्सवकै दिन थारु कल्याणकारिणी सभाको सचिवालय भवन तथा थारु संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम छ ।

महोत्सवमा गायक दिपेन चौधरी, मिलन चौधरी र गायिका उमा चौधरी लगायतले सांगीतिक प्रस्तुती दिने बताइएको छ ।

प्रकाशित : माघ ४, २०७९ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?