विश्वासको मतपछि मन्त्रिपरिषद् विस्तार- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वासको मतपछि मन्त्रिपरिषद् विस्तार

घनश्याम गौतम

दाङ — मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री लीला गिरीले बिहीबार विश्वासको मत लिने भएका छन् । त्यसपछि सरकार विस्तार र भागबन्डाको विषयमा छलफल हुने भएको हो । गिरी प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्रसहित ५८ जनाको समर्थनमा पुस २८ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सरकारले विश्वासको मत लिने जानकारी प्रदेशसभा सचिवालयलाई गराएको मुख्यमन्त्री गिरीले बताए । विश्वासको मत लिएपछि सरकारलाई समर्थन गरेका सबै दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने उनले बताए । मुख्यमन्त्री गिरीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेर शपथ लिएका थिए । अन्य दुई मन्त्रीले पनि जिम्मेवारी पाएका छैनन् ।

‘बिहीबार सरकारले विश्वासको मत लिन्छ, त्यसपछि सरकारको पूर्णताको विषयमा छलफल अघि बढ्छ,’ उनले भने, ‘मन्त्रिपरिषद्लाई चुस्त र कामकाजी बनाउने प्रयास गरिरहेका छौं ।’ यसअघि लुम्बिनी प्रदेश सरकार ४ राज्यमन्त्रीसहित १७ सदस्यीय थियो । मन्त्री गिरीले पदवहाली गरेकै दिन एक मन्त्रालय घटाउने निर्णय गरेका छन् । सत्ता साझेदार माओवादी र साना दलसँग छलफल गरेर उनी अझै मन्त्रालयको संख्या घटाउने प्रयासमा छन् । तर, सरकारका साना दलको संख्या धेरै भएकाले मुख्यमन्त्री अप्ठ्यारोमा छन् । गिरीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्तिका ४, जसपा, जनमत र लोसपाका ३/३ एवं स्वतन्त्रका २ गरी ५८ सदस्यको समर्थन छ ।

बिनाविभागीय मन्त्री एवं सरकारका प्रवक्ता चेतनारायण आचार्यले अर्को सातासम्ममा लुम्बिनीको मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । उनले साना दलहरूसँगको छलफल र सबैलाई मिलाउनु पर्ने बाध्यात्मक अवस्था रहेकाले मन्त्रिपरिषद् विस्तारमा पनि केही ढिलाइ हुन सक्ने बताए । ‘हामी सकेसम्म छिटो गर्ने प्रयासमा छौं,’ उनले भने, ‘सरकारलाई समर्थन गर्ने दलको संख्या बढेकाले केही जटिलता पनि छन् ।’

देउखुरीमा मन्त्रालय र मन्त्रीका लागि आवास व्यवस्थापनको काम भइरहेको छ । धेरै मन्त्रालयमा मन्त्री र कर्मचारीका लागि कोठाहरूको व्यवस्थापनका काम जारी रहेकाले पनि सरकारको पूर्णतामा केही विलम्ब हुन सक्ने एमालेकै एक प्रदेशसभा सदस्यले बताए । एमालेभित्र पनि मन्त्रीका आकांक्षी धेरै छन् । ११ सदस्यीय मन्त्रिपरिषद् बनेको अवस्थामा एमालेले बढीमा ५ मन्त्रालय पाउने सम्भावना छ । त्यसमध्ये मुख्यमन्त्री गिरी र आचार्यले मन्त्रीको शपथ लिइसकेका छन् । यसअघिको प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकाल र कपिलवस्तुका विष्णु पन्थी मन्त्री बन्ने प्रयासमा छन् । ५ मन्त्रालय पाएको अवस्थामा अर्को एक जनाले अवसर पाउने सम्भावना छ ।

माओवादीले ४ मन्त्रीमा दाबी गर्दै आएको छ । तर, एमालेले दुई मन्त्रालय मात्र प्रस्ताव गरेको छ । साना दलमध्ये कुनै एक दललाई मन्त्री नदिई विषयगत समितिको सभापति दिएर मनाउन सकेको अवस्थामा मात्र माओवादीले ३ मन्त्रालय पाउन सक्ने सम्भावना रहेको अनौपचारिक छलफलमा संलग्न ती एमाले नेताले बताए । सत्ता गठबन्धनका ठूला दल एमाले र माओवादी एवं साना दलसमेत मन्त्री छान्ने विषयमा भने केन्द्रमै भर परिरहेका छन् । स्रोतका अनुसार एमालेमा दोस्रो चरणमा मन्त्री बनाउने गरी केही नेतालाई मनाउने प्रयास पनि भइरहेको छ ।

प्रकाशित : माघ ४, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनीको सभामुखमा माओवादीका घर्ती निर्विरोध

उपसभामुखमा कांग्रेस, राप्रपा र नागरिक उन्मुक्ति भिड्दै
घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । सोमबार प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गर्ने समयसम्ममा सभामुखमा उनको मात्र उम्मेदवारी दर्ता भएको छ । उपसभामुखमा भने तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।

लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनका अनुसार सभामुखमा माओवादीबाट तुलाराम घर्तीको र उपसभामुखमा राप्रपाबाट मेनुका खाँण केसी, कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीको उम्मेदवारी दर्ता भएको छ । ‘सभामुखमा एक जनाको र उपसभामुखमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ,’ उनले भने, ‘अबको प्रक्रिया भोलिको बैठकबाटै अघि बढ्छ ।’

उपसभामुखका उम्मेदवार नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित विश्वप्रेम पाठकको प्रतावकमा कांग्रेसका प्रदेशसभा सदस्य वसीउद्दिन खाँ र समर्थकमा राजु खनाल छन् । यस्तै राप्रपाकी उम्मेदवार खाँणको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गाप्ता छन् । त्यस्तै नागरिक उन्मुक्तिकी चौधरीको प्रस्तावकमा सोही पार्टीकै प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्मबहादुर चौधरी रहेका छन् ।

सत्तापक्षीय गठबन्धनमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख राप्रपाले लिने गरी सहमती भएको थियो । त्यही सहमती अनुसार एमालेका लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । सभामुखका उम्मेदवार घर्तीको प्रस्तावमा एमाले नेता एवं प्रदेशसभा सदस्य भूमिश्वर ढकाल र समर्थकमा राप्रपाका संसदीय दलका नेता आशिषकुमार चौधरी रहेका छन् ।

सत्तापक्षीय गठबन्धनमा रहेर मुख्यमन्त्रीमा गिरीलाई समर्थन गरेको उन्मुक्ति पार्टीले छुट्टै उम्मेदवारी दिएको छ । उक्त पार्टीले सरकारमा कम्तीमा दुई मन्त्रालयमा दावी गर्दै आएको छ ।

गठबन्धनले एक मन्त्रालय मात्र दिने तयारी गरेपछि उन्मुक्तिले उपसभामुखमा उम्मेदवारी दिएको हो । सत्तापक्षीय गठबन्धनमा एमालेका २९, माओवादीका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३/३ प्रदेश सभा सदस्य छ । त्यस्तै स्वतन्त्र दुई सदस्य छन् । ८७ सदस्यीय प्रदेश सभामा नागरिक उन्मुक्तिबाहेक पनि सत्तापक्षीय गठबन्धनमा ५१ सदस्य छन् ।

प्रकाशित : माघ २, २०७९ १८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×