कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ज्येष्ठ र अशक्तलाई घरमै उपचार

रूपा गहतराज

नेपालगन्ज — बाँकेको खजुरा गाउँपालिका–४ बि गाउँकी ७२ वर्षीया सुशीला थापालाई प्रेसर अनि सुगरको समस्या छ । उनलाई बेलाबेला उपचारका लागि अस्पताल जानुपर्ने हुन्छ । रिक्सा अनि गाडी चढेर उपचार गर्न नेपालगन्ज पुग्नुपर्छ । तर, उनको यो समस्या अहिले हटेको छ ।

उनको सुगर अनि प्रेसर जाँच्न घरमै स्वास्थ्यकर्मी आइपुग्छन् । ‘बिरामी मान्छे हिंड्न पनि समस्या, गाडी–घोडा चढ्न पनि सकस,’ उनले भनिन्, ‘घरमै डाक्टर पाएपछि दुई–चार पैसा पनि जोगियो, बुढाबुढीलाई ज्यादै आनन्द भएको छ ।’

उनलाई मात्र होइन, खजुरा गाउँपालिकाका ज्येष्ठ नागरिक ७७ वर्षीय खेमबहादुर खत्रीलाई पनि सुगर र प्रेसर जाँच गर्न अस्पताल जानुपर्ने समस्या टरेको छ । ‘गाह्रो–साह्रो परेका बेला घरमै उपचार हुन्छ । प्रेसर घटेको बढेको पनि समयमै थाहा हुन थालेको छ,’ उनले भने, ‘बुढाबुढी भएपछि त्यसै समस्या, कहिलेकाहीं अस्पताल लैजाने मान्छे पनि हुँदैनन् । नानीबाबुहरू घरघरै आएर उपचार गरेर गुन लगाएका छन् ।’

खजुरा–४ का जगदीश परियार केही समयअघि प्रेसर बढेर समयमा उपचार गर्न नपाउँदा अपाहिज भएका छन् । उनलाई अस्पताल जान पनि सकस छ । ४७ वर्षीय उनलाई हिंडडुल गर्न अरूको सहारा

चाहिन्छ । एकातिर पैसाको अभावमा उनी नियमित उपचार पनि गराउन सक्ने अवस्थामा छैनन् । ‘हामीजस्ता अशक्तलाई घरमै आएर उपचार गरिदिंदा बरदान मिलेजस्तो भएको छ,’ उनले भने,

‘बुढाबुढीलाई कमसेकम परिवारले त हेर्छन् । अशक्त र अपांगता भएका हामीजस्तालाई बाँच्न साह्रै गाह्रो छ ।’

पालिकाभरिका ज्येष्ठ तथा अशक्त नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य सुविधा उपलब्ध गराउन पालिकाले अभियानकै रूपमा यो कार्यक्रम पुस १५ गतेबाट सुरु गरेको हो । ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रममा पालिकाभरिका ६८ वर्षमाथिका ज्येष्ठ र अशक्त नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरु गरिएको हो । यस आर्थिक वर्षमा १८ लाख ८ हजार रुपैयाँ छुट्याइएको छ । पालिकाले चार जना स्वास्थ्यकर्मी भर्ना गरेर एउटा वडामा दुई जना स्वास्थ्यकर्मी खटाएर स्वास्थ्य जाँचको व्यवस्था मिलाएको छ ।

८ वडा रहेको पालिकामा प्रत्येक स्वास्थ्यकर्मीले दुईवटा वडामा मासिक रूपमा ज्येष्ठ तथा अशक्त नागरिकको घरमा पुगेर स्वास्थ्य जाँच गर्छन् । एक जना स्टाफ नर्स, अहेब, अनमि, हेल्थ असिस्टेन गाउँपालिकाले खटाएको छ । उनीहरूलाई स्वास्थ्य जाँचका लागि चाहिने मेडिकल सामग्री पनि गाउँपालिकाले उपलब्ध गराएको छ । ‘धेरैजसो ज्येष्ठ नागरिक स्वास्थ्य जाँचका लागि अस्पताल नै नजाने गरेको पनि पाइयो,’ अनमि मनीषा थापाले भनिन्, ‘चिकित्सकले निदान गरेर लेखिदिएको प्रेसर र सुगरको औषधि पनि सकेसम्म उपलब्ध गराउँछौं ।’

एक जना स्वास्थ्यकर्मीले कम्तीमा मासिक रूपमा ५ सय बिरामीलाई चेकजाँच गर्नुपर्छ । धेरैजसो ज्येष्ठ नागरिकमा प्रेसर र सुगरको समस्या नै बढी देखिएको छ । ‘अशक्त तथा अपांगता भएका नागरिकमा भने अरू पनि समस्या पाएका छौं,’ स्वास्थ्यकर्मी पार्वती विकले भनिन्, ‘कुनै जटिल समस्या भए चिकित्सकलाई रेफर गर्छौं । चिकित्सकको व्यवस्थापन पनि गर्छौं ।’

यस्तै गाउँपालिकामा रहेका दीर्घरोगीसँग पालिका अध्यक्ष उत्तरदायी कार्यक्रमअन्तर्गत २० हजार रुपैयाँसम्म उपचारका लागि सहयोग दिने कार्यविधि बनाइएको स्वास्थ्य शाखा प्रमुख दीपक ढकालले बताए । जसका लागि यस आर्थिक वर्षमा १० लाख बजेट छुट्याइएको छ । ‘विशेष गरी ज्येष्ठ नागरीकप्रति गाउँपालिकालाई उत्तरदायी बनाउन यो खालको कार्यक्रम ल्याएका हौं,’ स्वास्थ्य शाखा प्रमुख ढकालले भने, ‘अशक्त, आफन्त र सन्तान नभएका र आफैं अस्पताल जान नसक्ने ज्येष्ठ नागरिकलाई यसले सजिलो र सहज बनाएको छ ।’ पालिकाभरि २ हजार ४ सय ज्येष्ठ नागरिकले यो सेवा पाउनेछन् ।

‘आफ्ना परिवार र सन्तानका लागि बाँचेका अभिभावकलाई बुढेसकालमा नजिकको सरकारले हेर्नुपर्ने दायित्व हो,’ गाउँपालिका अध्यक्ष डम्बर विकले भने, ‘आउँदा दिनमा उहाँहरूको आवश्यकता हेरेर कोष बढाउने छौं ।’ यस्ता कार्यक्रमले ज्येष्ठ र अशक्त नागरिकको मनोबल बढेको स्थानीय नरेन्द्र ददेले सुनाए । ‘कोही नहुनेका लागि गाउँपालिका छ भन्ने आशा पलाएको छ,’ उनले भने ।

प्रकाशित : माघ १, २०७९ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?