सुन्तला फलाउन प्रतिस्पर्धा- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन्तला फलाउन प्रतिस्पर्धा

वीरेन्द्र केसी

अर्घाखाँची — पाणिनि गाउँपालिका–१ सिम्लेका हरिप्रसाद पौडेल र सीता पौडेल छिमेकी हुन् । उनीहरूबीच सुन्तलाका दाना कसरी ठूला फलाउने भन्नेमा होडबाजी छ । सीताले हिउँदभर सिँचाइ, मल र स्याहारसुसार गरिन् । बोटमा लटरम्मै फल फले । हरिको बगैंचामा पनि सुन्तलाका दाना ठूलै छन् ।

गत वर्षभन्दा यसपालि झन्डै तेब्बरले उत्पादन बढ्दा आम्दानी राम्रो हुने अपेक्षामा रहेको सीताले बताइन् । झन्डै ३ सय बोटमा लटरम्मै फलेका दानाले ३ लाख रुपैयाँ जति गतवर्ष आम्दानी भएको थियो । यस वर्ष धेरै फलेको, दाना ठूला र बोटबाटै बिक्री नगरी कोल्ड स्टोर (शीतभण्डार) मा राखेर फागुन/चैततिर बिक्री गर्दा धेरै आम्दानी हुने आशामा उनी छन् । यहाँको पोखराथोकमा कोल्ड स्टोर छ । अहिले कोल्ड स्टोरमा राखेर फागुन/चैतमा बिक्री गर्दा किलोकै डेढ सय रुपैयाँसम्ममा बिक्री हुने उनले सुनाइन् । अहिले जिल्लामा सुन्तला सरदर प्रतिकिलो ५०/६० रुपैयाँमा बिक्री भइरहेको छ ।

‘बारी र खर्‍यानमा सुन्तलाका बोटैबोट छन्, आम्दानी धेरै हुने भएपछि खेती विस्तार गर्दै छौं,’ सीताले भनिन्, ‘कुनै बेला वर्ष दिन दुःख गर्दा पाखोबारीको उब्जनीले ६ महिना खान पुग्दैनथ्यो । अहिले सुन्तलाको आम्दानी त पेन्सनजस्तै भएको छ ।’ खाली जग्गामा नयाँ बिरुवा लगायो । तेस्रो वर्षपछि फल दिन सुरु हुन्छ । पुराना बोटमा गोबर, जैविक मल, हिउँदमा पानी राखेर स्याहार गरेपछि लटरम्मै फल फल्छ । ‘सुन्तलाका दाना नै हाम्रा पैसाका नोट हुन्,’ उनले भनिन्, ‘बर्सेनि फल्छ । त्यही बेचेर छोराछोरीलाई पढाउने, गाउँमै पक्की घर, पक्की शौचालय बनाएको छु, सहरमा घडेरी किनेकी छु ।’

हरिले सुन्तलाका बोटसँगै काउली, बन्दा, आलु, गोलभेंडा, तरुल, खुर्सानीलगायत तरकारीसमेत फलाएर दोहोरो फाइदा लिएका छन् । ‘बारीमा अन्य खेती गर्दा मल राखिन्छ, त्यो मल सुन्तलालाई पनि पुग्छ,’ उनले भने, ‘सुन्तला ठूला दानासहित लटरम्मै फल्ने, बारीमा तरकारी उत्पादन हुन्छ । अहिले दुवैतिरबाट आम्दानी भइरहेको छ ।’ वर्षमा ४/५ लाख रुपैयाँ बचत भइरहेको उनले सुनाए । उनका अनुसार यसपालि सुन्तालामा रोगकिरा लागेन, असिना पनि परेन, त्यसैले लटरम्मै फल्यो । दाना ठूला भएर बोटले धान्न नसक्दा कतिपय बोटलाई टेको लगाएर अड्याइएको छ । यसपालि गत वर्षजस्तै ग्राहक खोजेर बोटबाटै सुन्तला बिक्री गर्नुपरेको छैन । सबैले कोल्ड स्टोरमा राखिरहेका छन् । फागुन/चैततिर बिक्री गर्दा दोब्बर भाउ पाइने किसानहरूको आशा छ ।

पणेनाको सिम्ले जिल्लाकै सबैभन्दा धेरै सुन्तला उत्पादन हुने गाउँ पनि हो । यहाँ डेढ सयभन्दा बढी किसानले व्यावसायिक ढंगले सुन्तला खेती गरेका छन् । अगुवा किसान रेवतीप्रसाद पौडेलले गाउँमै सुन्तलाबाट मनग्गे आम्दानी हुन थालेपछि युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम घटेको र जताततै सुन्तला खेती फस्टाइरहेको बताए ।

एउटै बोटले ३०/४० वर्षसम्म निरन्तर उत्पादन दिइरहन्छ । उनको बगैंचामा मात्रै ६ सय बोट छन् । वर्षमा ६ लाख रुपैयाँ आम्दानी भइरहेको उनले बताए । ‘सुन्तला यत्तिकै पनि फल्छ । मल–पानीको व्यवस्था नगर्दा साना दाना र पातलो फल्छ,’ उनले भने, ‘लटरम्मै र ठूला दाना फलाउन मिहिनेत गर्छौं । बेलाबेलामा सिँचाइ, मल र राम्रोसँग स्याहार गर्छौं ।’

जति मिहिनेत गरेर स्याहार गर्‍यो, त्यति धेरै फलेपछि गाउँका सबैले कसले ठूला दाना फलाउने भनेर प्रतिस्पर्धा नै चलिरहेको उनले बताए । अर्घाखाँचीका धेरै गाउँमा बसाइँसराइको ठूलो समस्या छ । तर, सिम्लेमा गाउँ छाडेर जाने नगन्य छन् । यहाँ बाँझो जग्गा छैन । खेतबारी बिक्री गर्ने पनि कोही छैनन् । यहाँका पाखोबारी र खर्‍यानमा पनि सुन्तला खेती विस्तार हुँदै छ । ‘गाउँलेले ५० हजारदेखि २० लाख रुपैयाँसम्म वार्षिक रूपमा आम्दानी गर्छन्,’ उनले भने, ‘उच्च शिक्षा पढेर जागिर खोज्दै वैदेशिक रोजगारीमा जाने खासै युवा छैनन्, सबैले यहीं सुन्तला खेती गरेका छन् ।’

युवा मिलेरै व्यावसायिक ढंगले खेती गरेको उनले बताए । ‘हाम्रो ध्यान सुन्तला धेरै फलाउने र दाना ठूला बनाउने मै छ,’ अर्का किसान दधिराम गौतमले भने, ‘कमाइ भएपछि सबै किसानमा धेरै आम्दानी गर्न तँछाडमछाड नै छ ।’ सुन्तलाले बर्सेनि निरन्तर आम्दानी दिइरहने हुँदा पेन्सनजस्तै भएको उनले बताए । यसले गर्दा कृषि उद्यमतिर युवाको आकर्षण बढ्दो छ । सुन्तलालाई कृषि उद्यमका रूपमा युवाले खेती गर्न थालेका छन् । सुन्तला खेतीले सिम्ले गाउँ हेर्न लायक भएको उनले बताए । ‘सुन्तलाका बोट र दाना हेर्न तराई, ठूला सहर र धेरै ठाउँबाट यहाँ आउँछन्,’ उनले भने, ‘नेता, कर्मचारी, कृषिविज्ञ र किसानको यहाँ ताँती नै लाग्छ । यसले सिम्ले पर्यटन क्षेत्र र सुन्तला उत्पादनको केन्द्रजस्तै भएको छ ।’

सिम्लेसहित यहाँका पोखराथोक, पाणिनिका विभिन्न गाउँ, छत्रदेव गाउँपालिकाको भगवती, मरेङ, अर्घातोष, मालारानी गाउँपालिकाको खनदह, खन, हंसपुरको साकिनधारालगायत गाउँमा व्यावसायिक सुन्तला खेती हुने गरेको छ ।

जिल्लामा यस वर्ष १० प्रतिशतले उत्पादन वृद्धि भएको छ । जिल्लाको ४ सय ९४ हेक्टरमा ५ हजार ३ सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष २७ करोड रुपैयाँ बराबरको सुन्तलाको कारोबार भएको केन्द्र प्रमुख राममिलन प्रसाद विश्वकर्माले बताए ।

प्रकाशित : पुस ३०, २०७९ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्

गर्भवती खोज्दै घरघर

स्वास्थ्य उपकरण र औषधिसहित स्वास्थ्यकर्मी र जनप्रतिनिधि बस्तीमा
‘घरमै आएर निःशुल्क परीक्षण गरेर आवश्यक सरसल्लाह, खाने तरिका सिकाउँदा धेरै खुसी लाग्यो । बल्ल सरकार भएको महसुस भयो । एकपटक मात्रै आएर हुँदैन, फेरि पनि आउनुपर्छ ।’
वीरेन्द्र केसी

अर्घाखाँची — शितगंगा नगरपालिका–१ सुवर्णखालकी सरस्वती पौडेल आठ महिनाकी गर्भवती छन् । स्वास्थ्य परीक्षण गर्न भिडियो एक्सरे बोकेर घरमै चिकित्सकसहित स्वास्थ्यकर्मी र जनप्रतिनिधि पुग्दा उनी दंग परिन् ।

यसअघि एकपटक बुटवल र चारपटक स्थानीय स्वास्थ्य चौकीमा पुगेर जाँच गराएकी थिइन् । छैटौं पटक घरमै स्वास्थ्यकर्मी आएर जाँच गरिदिए । ९ महिनामा आठपटक जाँच गर्नुपर्ने उनलाई हेक्का छ ।

‘घरमै आएर निःशुल्क परीक्षण गरेर आवश्यक सरसल्लाह, खाने तरिका सिकाउँदा धेरै खुसी लाग्यो,’ उनले भनिन्, ‘बल्ल सरकार भएको महसुस भयो । एकपटक मात्रै आएर हुँदैन, फेरि पनि आउनुपर्छ ।’ प्राथमिक स्वास्थ्य केन्द्र ठाडाका डा. शुभेच्छा शर्मा, नर्स सिर्जना घिमिरे र स्वास्थ्यकर्मी दामोदर ढकाल, लक्ष्मण पाण्डेलगायतको टोली भिडियो एक्सरे मेसिन, औषधि बोकेर गाउँ पुगेका हुन् ।

नगरको वडा १ को सुवर्णखालमा १४, वडा २ को सीतापुरमा २३, वडा ४ को ठाडा अमराईमा ११, वडा ५ मा १३, वडा ६ मा २७ र वडा ७ मा १७ जना गर्भवतीको स्वास्थ्य जाँच गाउँमै गरिएको नर्स घिमिरेले बताइन् । वडा ८ को जुकेनामा मंगलबार अबेरसम्म स्वास्थ्य जाँच गरिएको थियो ।

‘हामीले गर्भवतीको स्वास्थ्य जाँचसँगै उनीहरूको अवस्थाका बारेमा पनि भन्छौं, तीन/तीन महिनामा भिडियो एक्सरे, फलोअप गर्नेबारे सल्लाह दिन्छौं,’ घिमिरेले भनिन्, ‘अहिलेसम्म तुरुन्तै बुटवल जानुपर्ने अवस्थाका गर्भवती गाउँमा छैनन् । केही सामान्य र केहीले नियमित भिडियो एक्सरे गर्नुपर्ने छन् ।’ उनीहरूलाई चाउचाउसहित जंगफुड खानु हुँदैन भनेको उनले बताइन् । टोलीले पोषणतत्त्व माछामासु, अण्डा, दूध, दही, फलफूल, भटमासलगायतका खानेकुरा खान सल्लाह दिने गरेको छ । ‘गाउँमै उत्पादन भएका खाद्यवस्तु र तरकारी खान विशेष सल्लाह दिएका छौं,’ उनले भनिन् ।

चिकित्सकसहित शितगंगा नगर प्रमुख छविलाल पौडेल, उपप्रमुख गीता भाट, प्रमुख प्रशासकीय अधिकृत भविन्द्र खनालसहित सम्बन्धित वडाका वडाध्यक्षसहित जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली यतिबेला गाउँमा गर्भवती खोज्दै हिँडेको हो । ‘गरिबीका कारण नियमित स्वास्थ्य जाँच गराउन नपाएर गर्भवतीको अकालमै ज्यान जाने खतरा नहोस्, बच्चाको स्वास्थ्य नबिग्रियोस् र राम्रो होस् भनेर गर्भवती खोज्दै गाउँ पुगेका हौं,’ नगर उपप्रमुख भाटले भनिन्, ‘नगरका १४ वडाकै गाउँमा पुगेर सबै गर्भवतीको परीक्षण गर्छौं । नगरले बजेट छुट्याएर गर्भवतीको स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरेका हौं ।’

गाउँमा पैसा नभएर धेरै गर्भवती स्वास्थ्य परीक्षण गर्न पनि जान सकेका छैनन् र गर्भवतीको स्वास्थ्यजस्तो संवेदनशील कुरामा जनप्रतिनिधि चिकित्सक लिएर घरघरै आउनु राम्रो काम भएको स्थानीयले बताए । ‘डाक्टरसहित स्वास्थ्यकर्मी गाउँमै आएर तपाईं गर्भवतीको स्वास्थ्य जाँच गर्न आएका हौं भन्दा अचम्मै लाग्यो,’ स्थानीय जानका पौडेलले भनिन्, ‘गर्भवती महिला हर्षित हौं । जाँचसँगै पेटमा रहेको बच्चा र आमालाई स्वास्थ्यसम्बन्धी शिक्षा दिँदा जोखिमबाट जोगिने कुरा पनि थाहा पाइयो ।’

गर्भवतीले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ भनेर स्वास्थ्य कार्यालयले सूचना जारी गरेको छ । तर, आर्थिक अवस्था कमजोर भएकै कारण धेरै महिला स्वास्थ्य जाँच गर्नबाट वञ्चित छन् । यहाँका गर्भवतीहरू स्वास्थ्य जाँचका लागि सन्धिखर्क, ठाडा, बुटवल र कपिलवस्तुसम्म पुग्नुपर्ने बाध्यता थियो ।

प्रकाशित : पुस २८, २०७९ ०९:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×