लुम्बिनीमा सभामुख र उपसभामुख चयन माघ ३ मा- लुम्बिनी - कान्तिपुर समाचार

लुम्बिनीमा सभामुख र उपसभामुख चयन माघ ३ मा

दुर्गालाल केसी

दाङ — लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयन माघ ३ गते हुने भएको छ । प्रदेशसभा सचिवालयले माघ ३ गते बस्ने प्रदेशसभाको बैठकबाट सभामुख र उपसभामुख चयन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

नेपालको संविधानको धारा १८२ को उपधारा (१) र लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेशसभाको सभामुख र उपसभामुख चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । ज्येष्ठ सदस्य डिल्लीराज भुसालले माघ ३ गते दिउासो १ बजे बस्ने पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख चयन गर्ने गरी निर्वाचनको मिति र समय निर्धारण गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

माघ २ गते उम्मेद्वारको प्रस्ताव पेश गर्ने र ३ गते चयन गर्ने कार्यतालिका तय भएको पुन मगरले बताए । लुम्बिनीमा मुख्यमन्त्री, सभामुख र उपसभासमुखको दलगत भागबण्डा गरिएको छ । एमालेले मुख्यमन्त्री पाइसकेको छ । सभामुख नेकपा माओवादी केन्द्र र उपसभामुख राप्रपाले पाउने गरी छलफल भइरहेको छ ।

प्रकाशित : पुस २९, २०७९ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्

दाङमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दुर्गालाल केसी

दाङ — घोराहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । घोराही उपमहानगरपालिका-११ अवलडाँडामा बुधबार राति रा ४ प ६०५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा १ जनाको मृत्यु भएको र २ जना सख्त घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताए ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार घोराही-१० जलौराका १८ वर्षीय सरोज चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा बिहीबार मृत्यु भएको उनले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने १९ वर्षीय मंगल चौधरी र मोटरसाइकलमा सवार २३ वर्षीय ऋषिराज चौधरी सख्त घाइते भएका छन् । घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचारपश्चात् थप उपचारका लागि भैरहवा रिफर गरिएको गौतमले जानकारी दिए ।

प्रकाशित : पुस २८, २०७९ १८:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×