गाउँकै स्वास्थ्य चौकीमै डाक्टर देखेपछि अचम्म !- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँकै स्वास्थ्य चौकीमै डाक्टर देखेपछि अचम्म !

शमशेरविक्रम जीसी

प्यूठान — ऐरावती–६ बैरेनीका हरिप्रसाद पौडेल आठ महिनाकी छोरीलाई निमोनिया भएपछि उपचारका लागि पुरनठाँटी स्वास्थ्य चौकी पुगे । पहिलोपटक स्वास्थ्य चौकी आएका पौडेललाई गाउँकै चौकीमा डाक्टरले काम गरेको देख्दा अचम्म लाग्यो ।

पटक–पटक जिल्ला अस्पताल बिजुवार पुग्दा डाक्टर छैनन् भन्ने सुनेका उनले गाउँको स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर देख्दा झट्ट पत्याएनन् । तर, उनले देखेको र सुनेको सत्य थियो । ऐरावती गाउँपालिकाले पुरनठाँटी स्वास्थ्य चौकीमा गएको डेढ वर्षदेखि एमबीबीएस डाक्टरको व्यवस्था गरेको छ ।

‘स्वास्थ्य चौकीमा डाक्टर देख्दा पहिले त पत्यार लागेन,’ उनले भने, ‘छोरीको उपचार गरेपछि विश्वास लाग्यो ।’ स्वास्थ्य चौकीमा भिडियो र सादा एक्सरे सेवा पनि प्रदान गरिंदै आएको स्वास्थ्यकर्मी बताउँछन् । ईसीजी र ल्याव सेवा पनि सञ्चालन हुँदा यस क्षेत्रका नागरिकलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता हटेको स्वास्थ्यकर्मी सुनिता केसीले बताइन् ।

‘गाउँपालिकाले आफैं डाक्टरको व्यवस्था गरेको हो,’ उनले भनिन् । गाउँपालिकाले एक्सरे, भिडियो एक्सरेसहितको सेवा विस्तार गर्न सहजीकरणसहित सहयोग गरेको हो ।

सुपथ मूल्ययमै भिडियो एक्सरे सेवा स्वास्थ्य चौकीमै पाउँदा गर्भवती महिला बढी लाभान्वित भएको स्थानीय मुना रावतले बताइन् । ‘जिल्ला अस्पतालमा भिडियो एक्सरे सेवा बन्द भएको महिनौं भयो भन्ने सुनेका छौं,’ उनले भनिन्, ‘यता त स्वास्थ्य चौकीमै भिडियो एक्सरे हुन्छ ।’ सानातिना रोग लाग्दा पनि उपचार नपाएर मर्ने दिन अब गएजस्तो लागेको उनले सुनाइन् ।

प्रकाशित : पुस २९, २०७९ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्

कापी–कलमसँगै दाउरा

दिवा खाजा कार्यक्रम लागू भएका प्यूठानका विद्यालयले विद्यार्थीलाई कक्षा आउँदा एउटा/एउटा दाउरा ल्याउन भनेका छन्
शमशेरविक्रम जीसी

प्यूठान — विद्यालय जाँदा झोलाभरि कापी–किताब बोक्नु नौलो होइन । यहाँको एउटा विद्यालयका छात्रछात्रा दिनहुँजसो कापी–कलमसँगै दाउरा बोक्छन् । प्यूठान नगरपालिका–८ बाटुलेस्थित जनविकास आधारभूत विद्यालयमा पढ्ने बालबालिकालाई किताबजत्तिकै दाउरा अनिवार्य छ । प्राथमिक तहका विद्यार्थी दाउरा बोकेर कक्षामा पुग्छन् ।

‘म्याडमले स्कुल आउँदा एक/एक वटा दाउरा ल्याउन भन्नुभएको छ,’ कक्षा ६ मा पढ्ने विक्रम नेपालीले भने, ‘नलगे हाजिर काटिन्छ भन्नुहुन्छ ।’

विद्यालयमा दिवा खाजा सुरु भएदेखि कक्षा १ देखि ६ सम्मका विद्यार्थीलाई दाउरा अनिवार्य गरिएको हो । खाजा पकाउन दाउरा चाहिन्छ । स्कुलले आफैं दाउरा व्यवस्था गरेको छैन । शिक्षकले विद्यार्थीलाई ‘दाउरा घरबाट ल्याउनू, नत्र खाजा पाक्दैन’ भनेका छन् । कतिपय शिक्षकले दाउरा नल्याए हाजिरी काटिने भनेका छन् । हाजिरी काटिने र भोकै परिने चिन्ताले झोलामा दिनहुँ दाउरा बोक्ने गरेको विद्यार्थीहरू बताउँछन् ।

रित्तो हात विद्यालय जाँदै गरेका विद्यार्थी दिपान्सु सापकोटालाई ‘खै त दाउरा ?’ भन्दा उनले हिजो नै स्कुलनजिकै लुकाएर राखेको प्रतिक्रिया दिए । ‘दिनहुँ बोक्न झन्झट हुन्छ, त्यसैले उतै लुकाएर राखेको छु,’ उनले भने । बाटोमा दाउरा भेटिएपछि त्यसलाई लुकाएर अर्को दिनका लागि राख्ने गरेको विद्यार्थीहरू सुनाउँछन् । अभिभावक दामोदर भण्डारीले बालबालिकालाई दाउरा ल्याउन लगाउनुको साटो विद्यालयले अभिभावकलाई जिम्मा दिनु उचित हुने बताए । विद्यालयले गएको कात्तिकदेखि विद्यार्थीलाई घरबाट दाउरा ल्याउन भनेको प्रधानाध्यापक तुलसा आचार्यले बताइन् ।


‘स्कुलमै खाजा पकाएर खुवाउँछौं । खाजा पकाउन दाउरा चाहियो,’ उनले भनिन्, ‘सबैलाई अनिवार्य त हो तर तल्लो कक्षाकाले ल्याउँदैनन् ।’ उनका अनुसार दैनिक करिब ८० जना विद्यार्थीका लागि खाजा पकाउने त्यही दाउरा काम लाग्छ । विद्यार्थीले दाउरा ल्याए/नल्याएको तथ्यांक कक्षा शिक्षकले राख्छन् । ‘उपल्लो कक्षामा दाजु–दिदी हुनेलाई सजिलै छ । उनैले ल्याइदिन्छन्, बाँकी विद्यार्थी आफैंले दाउरा ल्याउने गरेका छन्,’ प्रधानाध्यापक आचार्यले भनिन्, ‘आइतबार विद्यालय आउँदा दाउरा ल्याउनु भन्छौं । हप्तैभरि खुरुखुरु ल्याउँछन् ।’

दिवा खाजा कार्यक्रम लागू भएका प्यूठानका केही विद्यालयका विद्यार्थीले यसैगरी घरबाट दाउरा बोकेर विद्यालय जाने गरेका छन् । विद्यालयमा दाउराको अभाव हुने र खाजा पकाउन दाउरा चाहिने भएपछि विद्यार्थीलाई घरबाट ल्याउन भन्ने गरिएको प्यूठान–९ मरेङको दुर्गा प्राविकी प्रधानाध्यापक शारदा भण्डारीले बताइन् । ‘पहिले–पहिले विद्यार्थीले मात्रै ल्याउँथे,’ उनले भनिन्, ‘अहिले त विद्यालयमा भएको एउटा रूख काटेर काम चलाएका छौं ।’ झिमरुक गाउँपालिका–१ सौतामारेस्थित जनचाहना प्राविले भने स्थानीय जंगलबाट दाउरा कटाएर ल्याउने गरेको प्रधानाध्यापक ताराप्रसाद घिमिरेले बताए । ‘स–साना विद्यार्थीलाई दाउरा बोकाउनु उपयुक्त लागेन,’ उनले भने, ‘त्यसैले विद्यालयकै स्रोतबाट जंगलमा मान्छे पठाएर दाउरा कटाउने र ल्याउने गरिएको छ ।’

प्यूठान नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद पोखरेल भने विद्यालय तहका बालबालिकालाई त्यस्ता कुनै पनि काममा लगाउन नपाइने बताउँछन् । विद्यालयमा गठित दिवा खाजा समितिले आवश्यक सबै व्यवस्था गर्नुपर्ने निर्णय रहेको उनले बताए । ‘खाजा समितिले काम गर्ने नीतिगत व्यवस्था छ,’ उनले भने, ‘विद्यार्थीलाई विद्यालय आउँदा दाउरा बोकाउनु गैरकानुनी हो । त्यसलाई तत्काल रोक्नुपर्छ ।’

प्रकाशित : पुस २३, २०७९ ०७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×