२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

कहिले बाढी‚ कहिले खडेरीको मारमा महिला

भोकमरीको चिन्ता 
रुपा गहतराज

नेपालगन्ज — केही वर्षअघिसम्म मुरीका मुरी धान फल्थ्यो । स्याहार्न दर्जनौं खेताला लगाउनुपर्थ्यो । पछिल्ला केही वर्ष दुःख गरे पनि प्रतिफल प्राप्त भएन । धन त गयो गयो । गहुँ खेती गरे, त्यो पनि सोचेजस्तो फलेन । 

कहिले बाढी‚ कहिले खडेरीको मारमा महिला

‘पहिले तीन/चार क्विन्टल गहु उत्पादन हुन्थ्यो, पछिपछि त एक क्विन्टल पनि फलेन‚’ यो भनाइ हो बाकेको नरैनापुर वडा नं. ५ मटैयाकी ४५ वर्षीय महाराजा यादवको । उनले पूरै उमेर खेतीपातीमा बिताइन् । बिहानदेखि उनी गाईभैँसी सम्हाल्नेदेखि दैनिकी खेतमा बित्ने गर्छ । धान बेचेर जीविका चलाउने उनको परिवारले यो वर्ष खाने चामल पनि किन्नुपर्ने अवस्था छ ।

उनले साउनमा दस दिन लगाएर धान रोपिन् । ‘खेती केहि छैन । खेतभरि घाँसमात्र छ । सबै रोपाइँ सुक्यो । धानमा सबै किरा लाग्यो‚’ उनले भनिन् , हामी गरिब त्यसै ठगिएका छौँ‚ प्रकृतिले पनि ठग्यो‚’

१५ बिघा ऐलानी जग्गामा ५ बिघा बटैया लगाउने उनको परिवारमा अहिले छाक टार्न पनि समस्या छ । दुई छोरी एक छोराकी आमा महाराजाका पति शारीरिक रुपमा अशक्त भएकाले महाराजा आफैँ घरदेखि खेतीपाती सम्हाल्ने गर्छिन् ।

यो वर्ष खेती किन यस्तो भयो उनलाई थाहा छैन । मेरो मात्र होइन् सबैको धान भएन । पानी नपरेर होकि किरा लागेर हो कि । मल नपुगेर हो । सबैको धान खेतमा सुक्यो । मिहिनेतमात्र खेर गयो‚’ उनले भनिन्, ‘असारमा पानी नै परेन । साउनमा पानी परे पनि धानलाई पुग्थ्यो । बोरिङ लगाएर धान रोपाइँ गर्‍यौं । डिजलको पैसा तिरेर धान रोपाइँ गर्‍यौँ । गत वर्ष पानीले धान भिजाएर नोक्सान भयो । अहिले पानी नै परेन । जीवनमा पहिलो पटक यस्तो सुक्खा देखेको छु । पहिला धानमा कीरा त लाग्थ्यो । तर‚ यस्तो सुक्खा थिएन । पहिला खाएर पनि धान बेच्न पुग्थ्यो ।’

खोलाको छेउमा उनको खेत छ । सरकारबाट किसानले बिजुली बोरिङ लगाउने केहि सुविधा पाएका छैनन् ।

राप्ती नदीको बाढी पसेर हैरान बाँकेको नरैनापुरवासी यतिखेर खडेरीको मारमा परेका छन् । नदी कटान र बाढीले बाकेको पूर्वी–दक्षिणमा पर्ने नरैनापुर गाउँपालिकाका कतिपय बासिन्दा विस्थापित भइसकेका छन् । गत वर्ष काट्न तयार भएको धान बाढीले सखाप बनाएको थियो । अहिले खडेरीले यहाँका ८० प्रतिशत खेत बाँझै भए ।

सिँचाइ अभावमा रोपो सुक्यो । ‘दशकौंदेखि हामी बाढी र कटानबाट पीडित हुदै आएका थियौं । यस वर्ष सुक्खा लाग्यो,’ नरैनापुर गाउँपालिकाका किसान रमावती मुराउले भनीन् ।

नरैनापुर गाउापालिकामा २० वर्षअघि पनि यसैगरी सुक्खा लागेको उनले सुनाइन् । ‘तर, बाढी र कटानको समस्या भने सधैंभरि रह्यो,’ उनले भनिन् । स्थानीयका सयौँ बिघा खेतीयोग्य जग्गा बगर बनेका छन् । सयौं किसान भूमिहीन भएर सामुदायिक वनको खाली जग्गामा बस्न बाध्य छन् ।

‘हामी प्राकृतिक रूपमा सधैं पीडित छौं । बाढी आउँदा डुबानमा पर्छौं । सुक्खाले त झन् समस्या गरिदिएको छ,’ स्थानीय किसान लिलावती यादवले भनिन्, ‘पश्चिम र दक्षिणबाट राप्ती नदीले घरेको छ  । राप्तीको पानी बगिरहादा पनि सुक्खाका बेला सिँचाइ सुविधा छैन ।’

नरैनापुर गााउपालिका–४ पंडितपुर्वाका किसान जंगली गडरिया पछिल्ला वर्षहरूमा धान उत्पादन घट्दै गइरहेको बताउँछन् । ७० वर्षका गडरियालाई यस वर्ष धान निक्कै कम उत्पादन भएकाले जहान कसरी पाल्ने भन्ने पीर थपिएको छ । नरैनापुरमा यस वर्ष सुक्खा भएकाले उत्पादन साचेजस्तो नभएको उनको भनाइ छ । उनले कच्चा ५ बिघा जग्गामा धान खेती गर्दै आएका छन् ।

नरैनापुरकै लिलावती यादवलाई पनि धान उत्पादन घटेकाले चिन्तामा छिन् । धान बेचेरै केटाकेटी पढाउनेलगायत घरखर्चसमेत चलाउने उनको परिवारले यसपटक भने कच्चा १५ बिघामा लगाइएको धानको परालमात्रै स्यहारे । खेतीपाति बाहेक अरु केही नगर्ने उनको परिवारलाई धान रोप्दा लागेको लागत पनि उठाउन नसक्दा चिन्ता परेको छ ।

८ जनाको परिवार कसरी पाल्ने भन्ने यहाँका किसान खलिल खानलाई चिन्ता परेको छ । १५ बिघामा २ क्विन्टल पनि धान उत्पादन नहुँदा उनी निराश छन् । ‘मैले धान रोप्दा खर्च गरेको पैसा मात्रै धान किनेको भए पनि पूरै परिवारलाई वर्षभरि खान पुग्थ्यो । तर, अहिले न धान छ न रुपैयाँ नै छ । कमाउने भनेको ममात्रै हो । मै पनि अब ६५ लागिसकेँ । मजदुरी गर्न सकिँदैन । कसरी परिवार पाल्ने ?’ गत वर्ष उनले १५ बिघामा ४० क्विन्टल धान उत्पादन गरेका थिए ।

नरैनापुर–५ मटेहियाका कृषक मकमली धोविले पनि ३५ कठ्ठामा लगाएको धानमध्ये ८ कठ्ठामा लगाएको धानमात्रै स्याहार्न लायक थियो ।

अहिले नरैनापुरको मटैहवा, नेवाजी गाउँ र भगवानपुर गाउा सुक्खाले भोकमरीको चपेटामा छ । नरैनापुर–५, मटहैयाका चेतराम धोबीको ८ जनाको परिवार छ । उनीहरूको ४ कठ्ठा जमिन छ । त्यतिले नपुगेर उनीहरू आधियाँमा खेती लगाउाछन् । तर, यसपटक सुक्खा परेपछि उत्पादन भएन । उनी अहिले चामल किनेर खाने अवस्थामा छन्। गत वर्ष भारी वर्षात्‌ले धानमा भएको क्षतिको मुआब्जा समेत पाएका छैनन् । ‘घरमा भएको रासन सकियो । धान भित्र्याउने बेला खेतभरि घाास मात्र उम्रियो,’ उनले भने, ‘राहत दिने नजिकको स्थानीय सरकार कांग्रेस, एमाले र फोरम भन्दै राहत बाँड्छन् । जनताको दुःखसुखमा साथ दैँदैनन् ।’ के खाने भन्ने चिन्ताले अहिलेदेखि नै सताउन थालेको उनले सुनाए ।

राप्तीमा निर्माण गरिएको सिक्टा सिंचाइ आयोजनाको नहरबाट पानी पुर्‍याउन सके नरैनापुरमा सुक्खा नहुने स्थानीय रामनिवास यादव बताउछन् । सँगै जोडिएको राप्ती सोनारी गाउँपालिकामा भने सिक्टा नहरबाट सिंचाइ हुँदै आएको छ ।

संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज स्वयंले स्थलगत निरीक्षण गरिसकेकाले सरकारबाट राहत कार्यक्रम घोषणा गर्ने आश्वासन बाँडेका थिए । तर, उनीहरूले नजिकको स्थानीय तहबाट कुनै राहत पाउन सकेका छैनन् । सुक्खाग्रस्त घोषणा भएको नरैनापुर गाउँपालिकामा भोकमरी हुन थालेको भन्दै स्थानीय राहत माग्न गाउँपालिकासम्म पुगेका थिए । खडेरीका कारण खेती गर्न नपाएको र घरमा राखिएको सबै खाद्यान्न सकिएपछि राहत माग्न स्थानीय गाउापालिका पुगेका हुन् । खडेरीका कारण खेती गर्न नपाउँदा अधिकांश किसानको खेतबारी बाँझै छ । आकाशे पानीको निर्भरता हटाउन दीर्घकालीन सिंचाइको पूर्वाधार निर्माणमा गाउँपालिका केन्द्रित छ । ६ वटा वडा रहेको नरैनापुरमा २ नम्बर वडाबाहेक अहिले सबैतिर भोकमरीको जोखिम छ ।

नरैनापुर गाउापालिका अध्यक्ष इस्तियाक अहमद शाहले खेती गर्न नपाएका अधिकांश किसानको घरमा भोकमरीको अवस्था सुरु भइसकेको बताए । ‘किसानको समस्याका सवालमा संघीय सरकारसँग हारगुहार गरिरहेका छौं ।’ उनले भने । नरैनापुरमा यस वर्ष कुल खेतीयोग्य जमिनको झन्डै १५ प्रतिशतमा मात्रै खेती भएको पालिकाले जनाएको छ ।

उनीहरूको सबैभन्दा ठूलो समस्या चाहिने बेला समयमा पानी नपर्ने र सिँचाइको अभाव हो ।

पहिला हरेक वर्ष तिहारअघि धान काटिन्थ्यौ ।अहिले मनसुन छोटो हुदै छ । रोपाइँ चाडो हुने भएकाले छिट्टै धान काटिन्छ । मनसुन ढिलो गरी सुरु हुने तर छोटो समय हुने भएकाले पनि धानको उत्पादन घटेको हो‚’ जलवायुविज्ञ अमृत देवकोटा भने, ‘जलवायु परिवर्तनलाई रोक्न त सकिँदैन । जलवायु परिवर्तनको असर कम गर्न अनुकूलनका कार्यक्रम ल्याएर किसानहरु सघाउन सक्छौँ ।’

विज्ञ देवकोटाका अनुसार किसानलाई जलवायु परिवर्तनको प्रभावले पारेको जोखिम कम गर्न माटो अनुकूलनका लागि जल र वायु अनुकूलनका कार्यक्रम स्थानीय तहले ल्याउनुपर्ने उनको बुझाइ छ ।

जलवायु परिवर्तनले अतिवृष्टि वा अनावृष्टि हुने, वर्षाको सुरूआत तथा अन्त्यको समय फरक हुने र एकैचोटि धेरै वर्षा हुने कारणले धान उत्पादनमा निकै प्रभाव पार्छ । धानका लागि औसतमा १०० दिनमा दिनको १० मिलिमिटरको दरले १००० मिलिमिटर पानी पर्न जरूरी छ । जलवायु परिवर्तनका जानकार श्याम भण्डारीले भने ,‘धानलाई धेरै पानी चाहिने कारणले सुक्खा पर्दा उत्पादनमा ह्रास आउने र धेरै पर्दा पनि बाढी र डुबानले धान नष्ट हुने हुन्छ।’

समयमा वर्षात् नभएपछि नरैनापुर गाउँपालिकाको ८५ प्रतिशत जमिनमा धान रोपाइँ भएको छैन । रोपाइँ नभएपछि गाउँपालिकाले सुक्खा क्षेत्र घोषणा गरेको छ । यस गाउँपालिकामा आठ गुणा कम धान उत्पादन भएको कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिए ।

यस वर्ष नरैनापुरमा झन्डै ८ गुणा कम धान उत्पादन भएको छ । खडेरीका कारण धान रोपाइँ नभएपछि यस वर्ष नरैनापुरमा दुई हजार ३८० मेट्रिक टन उत्पादन भएको कृषि शाखा प्रमुख सुदन भण्डारीले बताए । उनले गत वर्षभन्दा यस वर्ष ७.४९ मेट्रिक टन कम धान उत्पादन भएको बताए । गत वर्ष त्यहाँ १७ हजार ८४७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

खडेरीका कारण तीन हजार ९६६ हेक्टर खेतीयोग्य जमिनमध्ये पाँच सय ९५ हेक्कटर जमिनमा मात्र धान रोपाइँ भएको भण्डारीले बताए । ‘गत वर्ष औसत उत्पादन पनि बढि थियो । वर्षात् नहुँदा यस वर्ष गतवर्षको भन्दा उत्पादन पनि कम छ । रोपाइँ कम क्षेत्रफलमा भएकाले उत्पादन घट्ने नै भयो,’ उनले भने ।

नरैनापुरमा गत वर्ष प्रतिहेक्टर ४.५ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष प्रतिहेक्टर ४ मेट्रिक टन उत्पादन भएको उनले बताए ।

बेमौसमी बर्सात्‌ले धानबालीमा क्षति भएका किसानलाई छिट्टै राहत रकम वितरण गरिने गाउँपालिकाका कृषि शाखा प्रमुख भण्डारीले जनाएका छन् । उनले राहत वितरणका लागि सरकारले रकम पठाइसकेकाले प्रक्रिया पुर्‍याएर छिट्टै वितरण गरिने बताए । ‘जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाको खातामा रकम पठाइसकेको छ । गाउँपालिकाले पीडित किसानको बैंक खातामा रकम पठाउने व्यवस्था गरेका छौँ,’ उनले भने ।

कागजी प्रक्रिया पुर्‍याउन केहि समय लागेकाले वितरणमा केहि ढिलाइ भएको उनको भनाइ छ । ‘किसानका लागि आएको रकम किसानले नै पाउने हो । रकम गाउापालिकाको खातामा आइसकेको छ । वितरण प्रक्रिया सुरु भइसकेको छ‚’ भण्डारीले भने ।

करिब पाँच हजार परिवार किसानलाई राहत वितरणका लागि झन्डै दुई करोड रुपैयाँ पालिकाको खातामा जम्मा भइसकेको भण्डारीले सुनाए ।

उनले सुक्खा पीडित किसानको पनि लगत संकलन गरिरहेको बताए । सुक्खा पीडित किसानको लगत संकलन सकिएपछि राहतका लागि प्रक्रिया अगाडि बढाउछौँ । उनले भने, ‘राहतका लागि कति रकम आवश्यक छ भन्ने निर्क्यौल गरेपछि मात्र सरकारसँग माग गर्छौं ।’

प्रकाशित : पुस २८, २०७९ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?