लुम्बिनीका मुख्यमन्त्री गिरी र दुई मन्त्रीले लिए शपथ

घनश्याम गौतम

देउखुरी — लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

प्रदेश राजधानी दाङको देउखुरीमा आयोजित शपथ ग्रहण कार्यक्रममा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र माओवादीकी कृष्णा केसीले पनि मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । उनीहरूको विभाग भने तोक्न बाँकी नै रहेको छ ।

प्रकाशित : पुस २८, २०७९ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मतीको सभामुखमा तीन जनाको उम्मेदवारी

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशको सभामुखका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महासचिव भुवन पाठक, नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सिर्जना सैंजुले सभामुख पदका लागि प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । सभामुखका लागि मतदान भने शुक्रबार हुनेछ ।


उनीहरूले प्रदेशसभा सचिवालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए । शुक्रबार ११ बजे बस्ने प्रदेशसभा बैठकले सभामुखको निर्वाचन प्रक्रिया पूरा गर्नेछ । प्रदेशसभा सचिवालयले बिहान १०:३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन गर्ने समय तोकेको थियो ।

पाठकको प्रस्तावकमा एमाले संसदीय दलका नेता जगनाथ थपलिया र सर्मथकमा माओवादी सांसद युवराज दुलाल रहेका छन् । कांग्रेसको तर्फबाट सभामुखमा उम्मेदवारी दिएका अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन् ।

नेमकिपाको तर्फबाट सभामुखकी आकांक्षी सैंजुको प्रस्तावकमा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईं र समर्थकमा गीता काफ्ले छन् ।

कूल ११० सदस्यीय प्रदेशसभामा पाठकलाई सत्ता गठबन्धनका ७० सांसदको साथ रहेको छ । अधिकारीलाई नेपाली कांग्रेसको ३७ सांसदको साथ रहेको छ । नेमकिपाका ३ सांसद प्रदेशसभामा रहेका छन् ।

सत्तारुढ दलको केन्द्रीय भागबन्डाअनुसार मुख्यमन्त्री माओवादी केन्द्र, सभामुख राप्रपा र उपसभामुख एमालेले पाउनेछन् । उपसभामुख चयन प्रक्रियाको भने अझै टुंगो लागिसकेको छैन ।

प्रकाशित : पुस २८, २०७९ १४:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×