लुम्बिनीमा आज तीन सदस्यीय मन्त्रिमण्डलको शपथ ग्रहण

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीसहित तीन जना मन्त्रीले शपथ ग्रहण गर्ने भएका छन् । प्रदेश प्रमुखको कार्यालयले दाङको देउखुरीमा दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रम आयोजना गरेको छ ।

लुम्बिनीमा आज तीन सदस्यीय मन्त्रिमण्डलको शपथ ग्रहण

स्रोतका अनुसार मुख्यमन्त्री गिरीले सत्ता गठबन्धनमध्ये एमालेबाट १ र माओवादीबाट १ जना मन्त्री बनाउने तयारी गरेका हुन् । एमालेबाट संसदीय दलका नेता चेतनारायण आचार्य पहिलो चरणमै मन्त्री बन्दै छन् । माओवादीबाट संसदीय दलकै नेता जोखबहादुर महरा पहिलो चरणमै मन्त्री बन्ने तयारीमा थिए । तर मन्त्रालयको टुंगो नलागेपछि उनी दोस्रो चरणमा मन्त्री बन्ने भएका हुन् । आज बन्ने दुवै मन्त्री बिनाविभागीय हुनेछन् ।

अहिले लुम्बिनी प्रदेशमा १३ मन्त्रालय छन् । मुख्यमन्त्री गिरी मन्त्रालयको संख्या घटाएर बढीमा ११ बनाउने तयारी गरिरहेकाले अन्य मन्त्रीको टुंगो लाग्न समय लाग्ने भएको छ । मुख्यमन्त्री गिरीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्ले पूर्णता पाउने एमाले नेता भूमिश्वर ढकालले बताए । यसअघिको प्रदेशसभामा प्रमुख सचेतक भएर भूमिका निर्वाह गरेका ढकाल पहिलो चरणमै मन्त्री बन्ने प्रयासमा थिए । तर माओवादीसँग मन्त्रालय बाँडफाँटमै कुरा नमिलेपछि पछि ढकाल र माओवादी नेता महराको मन्त्री बन्ने निर्णय पछि धकेलिएको हो ।


चेतनारायण आचार्य

अहिलेसम्मको छलफलमा माओवादीले अर्थसहित तीन मन्त्रालयमा दाबी गरिरहेको छ । एमालेले २ मन्त्रालयमै मनाउने प्रयास गरिरहेको छ । सरकारलाई ७ दल र २ स्वतन्त्रको समर्थन छन् । मन्त्रालय घटाउने र साना दल धेरै हुँदा भागबण्डामा समस्या परेको छ ।

इन्द्रजित थारु

माओवादीले पनि बुधबारको मन्त्रिपरिषद्‌मा दाङका इन्द्रजित थारु र बाँकेकी कृष्णा केसीमध्ये एक जनालाई पठाउने तयारीमा छ । कसलाई पहिला पठाउने भन्ने टुंगो अझै नलागेको माओवादी अध्यक्ष सुदर्शन बरालले बताए । थारु वर्तमान सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हुन् । केसी भने दोस्रो पटक बाँकेबाट प्रत्यक्षमा निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

कृष्णा केसी

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्यको हस्ताक्षर आवश्यक पर्छ । सरकारलाई समर्थन गर्ने दलमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४, जसपा, जनमत र लोसपाका ३/३ र स्वतन्त्र २ सदस्य छन् । माओवादी केन्द्रले सभामुख पनि पाएको छ । माओवादीबाट पाल्पा २(२)बाट निर्वाचित तुलाराम घर्ती सभामुख बन्ने सम्भावना छ । उपसभामुख पाएको राप्रपाले पनि अझै व्यक्तिको टुंगो लगाएको छैन । एमाले र माओवादीले साना दललाई १/१ मन्त्रालय दिएर मनाउने प्रयासमा छन् । नागरिक उन्मुक्तिले २ मन्त्री माग गरेको छ । प्रदेशसभामा कांग्रेसका २७, नेकपा एकीकृत र जनमोर्चाका १/१ सदस्य छन् ।

प्रकाशित : पुस २८, २०७९ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?