लुम्बिनीमा मन्त्री छान्न सकस

काठमाडौँ — मुख्यमन्त्रीमा गिरीको नियुक्तिसँगै सत्ता साझेदार दलहरूबीच भागबन्डा मिलाउन र मन्त्रीको टुंगो लगाउन सकस परेको छ । बढी आन्तरिक प्रतिस्पर्धा माओवादीमा देखिएको छ । मुख्यमन्त्री एमालेले पाएपछि सभामुख माओवादीको भागमा परेको छ । माओवादीले पाल्पाका तुलाराम घर्तीलाई सभामुख बनाउने तयारी गरेको छ । उपसभामुख पाएको राप्रपाले महिलालाई बनाउने तयारी गरेको छ । गुल्मीकी मेनुका खाँण केसी र बाँकेकी मीनाकुमारी श्रेष्ठमध्ये एक जना उपसभामुख बन्ने छन् ।

लुम्बिनीमा मन्त्री छान्न सकस

अर्थ तथा सहकारीसहित तीन मन्त्रालय दाबी गरेको माओवादीमा मन्त्रीका लागि चर्को प्रतिस्पर्धा छ । संसदीय दलका नेता जोखबहादुर महरादेखि हालका स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजित थारु र बाँकेकी कृष्णा केसी मन्त्री बन्ने दौडमा छन् । एमालेले भने माओवादीलाई अहिले दुई मन्त्रालय लिन आग्रह गरिरहेको छ । सरकारलाई ७ दलको समर्थन रहेकाले कम्तीमा ४ मन्त्रालय साना दललाई दिने एमालेको तयारी छ । लोसपाले समर्थन गरे पनि तत्काल मन्त्री पाउने सम्भावना नरहेको छलफलमा सहभागी एक नेताले बताए ।

एमालेमा पहिलो चरणमा को मन्त्री बन्ने भन्ने प्रतिस्पर्धा छ । एमालेमा पूर्वमन्त्री एवं दलका उपनेता चेतनारायण आचार्य, भोजप्रसाद श्रेष्ठ, पूर्व प्रमुख सचतेक भूमिश्वर ढकाल र सार्वजनिक लेखा समितिका पूर्वसभापति विष्णु पन्थी मन्त्रीका प्रमुख दाबेदार हुन् । दोस्रो वरीयताको मन्त्रालय पाएको अवस्थामा उपनेता आचार्य आफैं जाने तयारीमा छन् । उनी निकट स्रोतका अनुसार उनले आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय वा भौतिक पूर्वाधारमा जोड गरेका छन् । भूमिश्वर ढकाल पनि भौतिक पूर्वाधार मन्त्रालय लिएर पहिलो चरणमै मन्त्री बन्ने प्रयासमा छन् । राप्रपाले मन्त्रीको विषयमा केन्द्रको निर्देशन कुरिरहेको छ । जसपा र जनमतले पनि भौतिक पूर्वाधार मन्त्रालय वा पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयमा दाबी गरिरहेका छन् । नागरिक उन्मुक्तिले चारै जनालाई पुग्ने गरी मन्त्री माग गरिरहेको छ ।

साना दलको समर्थन पनि बटुलेका मुख्यमन्त्री गिरीलाई मन्त्रालयको संख्या घटाउने दबाब पनि छ । अहिले लुम्बिनीमा १३ मन्त्रालय छन् । गिरी बढीमा ११ मन्त्रालय बनाउने तयारीमा छन् । तर, साना दललाई समेट्न मन्त्रालय यथावत् राख्नुपर्ने दबाब पनि बढेको छ । दलहरूबीच मन्त्रालयको भागबण्डा नमिलेको अवस्थामा र दलहरूमा मन्त्रीको टुंगो नलागे माओवादीबाट संसदीय दलका नेता महरा र एमालेबाट ढकालसहित तीन सदस्यीय मन्त्रिमण्डलसहित बिहीबार शपथ लिने तयारी गरेका छन् । सहमति नजुटेको अवस्थामा दुई मन्त्रीलाई बिना विभागीय मन्त्रीको शपथ खुवाउने सम्भावना छ ।

प्रकाशित : पुस २८, २०७९ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?