बाँकेमा ३६ बालबालिकामा दादुरा पुष्टि

जे पाण्डे

बाँके — नेपालगन्जमा अस्पताल र चिकित्सकको कुनै कमी छैन । विशेषज्ञसहितको उपचार सेवा दिन सक्ने क्षमताका सरकारी र निजी अस्पताल यहाँ प्रशस्तै छन् । तर, दादुराको संक्रमणले शिशुहरूको ज्यानै जान थाल्दासमेत अभिभावकले संक्रमित बालबालिकालाई अस्पताल पुर्‍याएका छैनन् ।

बाँकेमा ३६ बालबालिकामा दादुरा पुष्टि

नेपालगन्ज उपमहानगरपालिका–५ मा दादुराले सिकिस्त भएका ३१ महिने शिशुको पुस १३ मा मृत्यु भयो । मृत्यु हुने शिशुको घर–छिमेकमा अरू पनि संक्रमित छन् । तर, कसैलाई पनि अहिलेसम्म अस्पताल पुर्‍याइएको छैन । स्वास्थ्य कार्यालय बाँके र उपमहानगरको स्वास्थ्य महाशाखाले शनिबारसम्म उपमहानगरमा दादुराका ३६ जना संक्रमित फेला पारेको जनाएको छ । तीमध्ये कसैलाई पनि उपचार गर्न अस्पताल नलगिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए । ‘अस्पताल ल्याएर उपचार गराउन धेरै आग्रह गरियो । अभिभावकलाई धेरैपटक सम्झाइबुझाइ गरियो,’ उनले भने, ‘बजारमा ठूला अस्पताल छन् । तर, बिरामी घरघरै छन् । अस्पताल ल्याऊ भन्दा मान्दैनन् ।’ स्वयंसेविका परिचालन गरी घरघरै पुगेर स्वास्थ्यप्रति हेलचेक्र्याइँ नगर्न अनुरोध गरिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।

दादुरा रोगको प्रकोप देखिएपछि नेपालगन्जमा निरीक्षणमा खटिएका स्वास्थ्यकर्मी । तस्बिर : जे पाण्डे/कान्तिपुर

स्वास्थ्य निकायहरूले टोलटोलमा माइकिङ गर्दै बिरामीलाई अस्पताल पुर्‍याउन र चिकित्सको सम्पर्कमा रही दादुराको खोप लगाउन अपिल गर्न थालेका छन् । ‘यसको औषधि हुँदैन । आफैं सन्चो हुन्छ भन्दै स्थानीयले बिरामीलाई घरमै राखेका छन्,’ सामाजिक अभियन्ता मैमुना सिद्धिकीले भनिन्, ‘यस्तो सोचका कारण दादुरा हुँदा कपूर लगाउने र फुकाउने चलन छ । यस्तो सोचाइमा परिवर्तन ल्याउन आवश्यक छ ।’ स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई तीन दिनदेखि दादुराको खोप लगाउन थालेका छन् । शुक्रबारसम्म ८ सय ७५ जनाले खोप लगाएका छन् । तीमध्ये ४ सय ४१ बालिका र ४ सय ३४ बालकले खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयको १० हजार ९ सय ९६ जनालाई खोप लगाउने लक्ष्य छ । शनिबार नेपालगन्जदेखि ८ किलोमिटर पश्चिम खजुरा गाउँपालिकाका एक बालकमा दादुराको संक्रमण देखिएको स्वास्थ्यकर्मी बताएका छन् ।

दादुराको प्रकोप सहरबाट गाउँबस्तीसम्म पुगेको छ । अवस्था जटिल देखिएपछि मुस्लिम समुदायका सामाजिक अभियन्ता प्रवेज अलीले जनचेतनाका लागि इस्लामिक धर्मगुरुको भेला बोलाउने र मस्जिदहरूमा स्वास्थ्य चेतनाबारे जानकारी दिंदै रोगविरुद्धको खोप लगाउन तकरिर (मन्तव्य) दिन लगाउने तयारीमा रहेको बताए ।

प्रकाशित : पुस २५, २०७९ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?